परेवाभिर किन बनाउने ?

 ओम बहादुर ग्लान
१७ श्रावण २०७७, शनिबार १३:०९

परेवाभिरको बारेमा सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न तरिकाले चर्चा परिचर्चामा छदैछ । हुन त कसैको राजनीतिक तथा दलगत स्वार्थ अभिव्यक्त भए यो बीचमा परेवाभिरलाई लिएर । जुनक्रममा कतिपयले व्यक्तिगत वाईयात तुजुक प्रदर्शन गर्न पनि भ्याए । जे भएपनि हामी पारेवाभिरमा बाटो बनाउँछौं भनेर सल्लाह अनुसार अभियन्ताको रूपमा निरन्तर सहयात्री बन्नु भएका खासगरि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तान साथै पत्रकार शिव कुमार काशी र बनस्तम थिङ लगायत प्रति उल्का आभारी छु । पछिल्लो समय प्रतिनिधि सभा माननीय विरोध खतिवडा ज्यू, बागमती प्रदेश सभा माननीय सन्त बहादुर चेपाङ, माननीय इन्द्र बहादुर बानियाँ लगायत राजनीतिक अगुवा र पत्रकार मित्र साथै परेवाभिरको बारेमा चासो र चिन्ता गर्नु भई हामी प्रति सहनभूती राख्नु हुने सबै प्रति धेरै धेरै धन्यवाद छ ।

‌परेवाभिर किन बनाउने भन्ने केही केही कुरा हामीलाई जानकारी हुनै पर्दछ नत्र परेवाभिरको पक्ष र विपक्षमा बहस गर्ने सवाल मात्र बन्छ । कसैको भोटको राजनीति , कसैको निम्ति राजनीतिक छवि जोगाउने विषय मात्र बन्न सक्छ । अब हुँदाहुँदा परेवाभिरकाे बारेमा उल्का अचम्म लाग्ने कुरा कसरी गर्न सकिन्छ र मिडियामा कसरी छाउन सकिन्छ भनेर झुटा आश्वासन सहितका शब्द राजनीतिको नकरात्मक संकेत पनि देखा पर्न थालेको छ । रङ्गीन शब्दजालको राजनीति परेवाभिरले खोजेको होइन । परेवाभिरमा हामीले बाटो खोजेको हो । हाम्रो पीडामा कसैको राजनीति आवश्यक छैन । यस्तो हर्कत वास्तविक भुक्तभोगी जनताको पीडा र समस्यासंगको खेलवाड हो । हामी यो किमार्थ स्वीकार्न तयार छैनौं । हामी कुनै सौदाबाजी पनि गर्ने छैनौं । हामी सक्दा पनि सक्दैनौं किनकि पुस्तौं देखिको समस्या र पिडा हाम्रो पुस्ताको पालामा पन्छाउन खोजिरहेका छौं । हामीलाई बार्गेनिङ गर्ने समय छैन । हामी त काम गर्ने अवसरमा जुटेका छौं निस्वार्थ । तसर्थ हामी बाटो बनाउन बारबार अपिल गर्नेछौँ सम्बन्धित सबैलाई । हामी बारबार प्रतिबध्दता गर्छौं कि परेवाभिरमा जसरी पनि बाटो बनाउँछौं ।

परेवाभिरमा बाटो बनाउनु पर्ने कारणहरू :

१. साविक खैराङ, डाँडाखर्क, भार्ता र राक्सिराङको १,२,३,४,५,६ र ७ नम्बर वडाका सबै र कालीकाटारको समेत लगभग ७० हजार समुदायले बाध्यात्मक रूपमा जोखिम मोलेर हिँड्नु परिरहेकोले ।

२. मनहरीबाट मलेखु हुँदै धादिङ पश्चिम वा आदमघाट गल्छी हुँदै नुवाकोट, रसुवा चीन सम्म जोड्ने एकमात्र रणनीतिक सडक बनाउने लक्ष्य राखिएकोले ।

३. हिउँदको ९ महिना बाहेक बाँकी ३ महिना माथि उल्लेख गरिएका क्षेत्रका समुदाय दैनिक तथा अन्य उपभोग्य वा उत्पादित वस्तु ओसारपसार तथा आकस्मिक हुने जुनकुनै मानव संकट वा प्राकृतिक प्रकोप वा मान्छे घाइते बिरामी वारपार गर्न साथै मान्छे ओहोरदोहोर गर्न नसक्ने भएकोले ।

४. परेवाभिर क्षेत्र लगभग ४०० मिटर व्यवस्थित पार गर्न सक्दा जुनकुनै विकल्पको बाटो भन्दा कम्तिमा ५ किलो मिटर बाटो छोटो हुने भएकोले र लागत खर्च कम्तिमा पनि १० करोड कम लाग्ने भएकोले ।

५. छोटो दूरी , थोरै समय अनि कम लागतमा बन्ने बाटो अहिलेको प्रविधिमा सम्भव रहेकोले र त्यहाँका चेपाङ, तामाङ, दलित लगायत निम्न आय भएका समुदायको आर्थिक वृद्दि गरी जीवन स्तरमा कायापलट ल्याउन सकिने भएकोले ।

६. बागमती प्रदेशको राजधानी हेटौंडा भई सकेको र पश्चिम क्षेत्रमा महेन्द्र राजमार्ग बाहेक रणनीतिक सडक नभएको अवस्थामा अब बन्ने यो रणनीतिक सडक मार्फत् सुखी नेपाली समृद्ध नेपालको अभियानमा कोशेढुंगा सावित हुने भएकोले (मनहरी मलेखु- लगभग ५२ किलोमीटर) र (मनहरी आदम घाट – लगभग ५३ किलोमीटर)

७. पश्चिम क्षेत्रको व्यापारिक केन्द्र मनहरी जोड्न र सिम्पानीमा बन्दै गरेको आधुनिक बसपार्क संग पहाडी भेगमा चल्ने ठुलो यात्रु बाहक तथा मालबाहक सवारी साधन र ऋद्धि सिद्धि , होङ्शी र अन्य खानी तथा कम्पनीका भारी सवारी साधनलाई सहज आवागनको लागि जोड्नु पर्ने भएकोले ।

अतः हामी पटक पटक भन्छौं जसरी पनि परेवाभिर बनाउँछौं । चाहे जस्तोसुकै कदम उठाउन परोस् । अब हामी रोक्दैनौ । किनकि पहिला गाउँपालिकाले परेवाभिर छल्ने भनेर dpr गरि टेन्डर गरेर सडक निर्माण कार्य गर्दै गर्दा प्रेम बहादुर मुक्तान परेवाभिर बाट झरेर मृत्यु भएको थियो । त्यो घटना पछि यसको विकल्पमा हजार बाटो बनाए पनि परेवाभिरमा बाटो जसरी पनि बनाउनै पर्छ भन्ने हामीले सल्लाह गरे बमोजिम गाउँपालिकाले dpr गरि सकेको छ । यही श्रावण महिनामा नै टेन्डर आह्वान गर्ने निर्णय भइसकेको छ । अब सवाल बाटो बन्छ कि बन्दैन भन्ने होइन, सहभागिता जनाउने कि नजनाउने भन्ने हो । फरक पार्टी वा गुटको मान्छे हो कि होइन भन्ने अब पूर्वाग्रह नराखी सहकार्य र हातेमालो गर्न जरुरी छ । हामीले कुरा परेवाभिरको गरे पनि केवल भेगीय कुरा गरेर अल्मलिएको जस्तो लाग्न सक्छ कुरा त्यसो होइन बरु भण्डार दामन सडक, सिम्पानी डाँडाबास सडक , चुनीया खैराङ मलेखु सडक, पदमपोखरी लामिटार रजैया सडक , देउकोट नकौली हुँदै थानाभर्याङ सडक , हेटौँडा उपमहानगरबाट कैलाश गाउँपालिका जोड्ने सडक र चेपाङ मार्ग लगायत रणनीतिक सडक हामीले जसरी पनि बनाउनै पर्छ सवाल सुखी नेपाली समृद्ध नेपालको हो । हामी अभियान्ता हौं । हामी बनाएरै छाड्छौं ।

अन्तमा हामी व्यक्तिगत र दलगत हैसियत भन्दा धेरै माथि उठिसकेका छौँ यस्तो बेला सस्तो लोकप्रियताको रङ्गीन विज्ञापन हाम्रो लागि आवश्यक छैन । हामी तीन तहको सरकारले नै त्यो बाटो बनाउने हो । यसमा भ्रमको खेती गर्न जरुरी छैन । हिजो प्रसङ्ग बस बागमती प्रदेश सरकारका मुख्य मन्त्री ज्यू ले जुन कुरा अभिव्यक्त गर्नु भएको छ परेवाभिरको बारेमा , त्यो आफैले प्रत्यक्ष नजर अध्ययन गरिसके पछि महसुस गर्नु हुनेछ । हाम्रो अभियानमा साथ रहनु हुनेछ । हामी अरु कसैको पक्षमा वा विरुद्धमा लागेको हो कि परेवाभिरमा बाटो बनाउनु पर्छ भन्ने पक्षमा हो भन्ने कुरा प्रष्ट हुनेछ । हो, हामीलाई विश्वास छ हामी बनाउन सक्छौं । हामीलाई आशा छ सबै तहको सरकारले आफ्नो गहकिलो जनाउने छन् ।

२०७७/०४/१७ राक्सिराङ, मकवानपुर

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*