वामदेव निवासमा ४० मिनेट बिताएर फर्किए प्रचण्ड
मकवानपुर ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । गौतम निवास भैंसेपाटीमा दुई नेताबीच करिब ४० मिनेट संवाद भएको स्रोतले जानकारी दियो । दुई नेताबीच मङ्गलबार बिहान ११ बजेबाट संवाद सुरु भएर ११ः४० बजे सकिएको एक नेताले जानकारी दिए ।
भैंसेपाटी गठबन्धनमार्फत प्रचण्डको कित्तामा उभिँदै आएका गौतम पार्टी एकताका लागि भन्दै पछिल्लो समय बीचमा उभिँदै आएका छन् । कित्ताकाट गर्दा पार्टी विभाजनको दिशातिर जाने भन्दै एकताको ६ बुँदे प्रस्ताव अघि सारेका गौतमसँग संवादका लागि प्रचण्ड भैंसेपाटी पुगेका बताइएको छ । उनीहरूबीच पार्टीभित्र गहिरिँदै गएको सङ्कट व्यवस्थापनका सन्दर्भमा नयाँ रोडम्याप र एकता र सहमतिको रोडम्याप के हुन्छ भन्ने विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । बाह्रखरी डटकमबाट