कोरोनाबारे सहजीकरणका लागि पार्वती राना पुगिन् भदौरे
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९, भदौरेमा एकजनालाई कोरोना संक्रमित देखिएपछि उनका परिवार तथा भदौरे टोलबासीलाई छिमेकी टोलबाट अपमान भएको गुनासो आएपछि गाउँपालिका उपाध्यक्ष पार्वती राना नेतृत्वको टोलीले आज वास्तविकताबारे जानकारी लिदैं आवश्यक परामर्श प्रदान गरेको छ ।
उपाध्यक्ष रानाको संयोजनमा पुगेको टोलीले कोरोना संक्रमित भएकालाई समुदायमा सम्मानपूवर्क व्यवहार गरिनुपर्ने बताउँदै संक्रमितलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने उपायबारे सामाजिक दुरी कायम गर्दै सहजीकरण गरिएको हो ।
जगदम्बा स्टिलमा कार्यरत परिवारका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी उपचारका लागि आइसोलेशन वार्डमा रहेको र उनका परिवारका अन्य सदस्य संक्रमण हुनसक्ने जोखिमबाट बच्नका लागि होम आइसोलेशनमा बसेको बेला स्थानीय समुदायले कोरोना फैलने डरले अपमान गरेको गुनासो आएपछि आफूहरुले आवश्यक सहजीकरणका लागि सो ठाउँमा गएको उपाध्यक्ष रानाले बताइन् ।
कार्यक्रममा छिमेकी कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ, भीमफेदी ९ वडा अध्यक्ष प्रकाश पुडासैनी, कर्मचारी सुदिप पराजुली, स्वास्थ्यकर्मी लगायत रहेका थिए ।