विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार
मकवानपुर । विराटनगरका एक नेपाली युवालाई भारतको जोगवनीमा गोली प्रहार भएको छ ।
विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय ‘बासु’ भनिने दीपक मण्डलमाथि जोगवनीमा गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ ।
भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा आइतबार दिउँसो ३ बजेतिर पुगेका मण्डललाई गोली प्रहार भएको हो ।
प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५र३० वर्षीय मुकेश यादवले गोली प्रहार गरेको खुलेको छ ।
घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारमबोर्ड खेलेर बसिरहेको र पुग्नासाथ विवाद गरेर आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् ।
मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ । मण्डलको औंलामा प्वाल परेको छ ।
गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको पनि खुलेको छ । उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको प्रहरीको भनाइ छ ।
स्थानीय भागाभाग गर्न थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल आउन सफल भएको मण्डलले प्रहरीलाई बताएका छन् । साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए ।
गोली प्रहार गर्ने भारतीय युवालाई त्यहाँको प्रहरीले खोजी गरिरहेको छ ।खबरहब डटकमबाट