‘इतिहासमै खराब’ बहस : ‘चर्काचर्की’मै टुंगियो ट्रम्प र बाइडेनबीच पहिलो बहस
मकवानपुर ।संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनअघि दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ ।
अर्बपति ट्रम्पले कर छलेको भन्नेलगायतका मुद्दा सार्वजनिक भइरहेका बेला उक्त बहस सुरु भएको हो । बाइडनले भने बहस सुरु हुनुभन्दा केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका हुन् ।
उनको कर विवरणअनुसार बाइडेनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ । दी न्युयोर्क टाइम्सले सार्वजनिक गरेको विवरणअनुसार ट्रम्पले सन् २०१६ मा संघीय आयकरबापत ७५० डलर मात्र कर तिरेको देखिन्छ । ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको करसम्बन्धी अभिलेखहरू सार्वजनिक गरेको न्युयोर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको पाइएको छ ।
यहीबीच सुरु भएको राष्ट्रपति उमेदवारबीचको बहस ‘झगडा’ जस्तो भएर टुंगिएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको टेलिभिजन बहसमा विषयवस्तुमाभन्दा पनि एक-अर्को सवाल-जवाफमै बहस सकिएको छ ।
फक्स न्युजका क्रिस वालसले मोडरेट गरेको बहस ‘इतिहास’ मै खराब रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले लगातार बाइडेनको जवाफको क्रममा अवरोध गरेपछि मोडरेटर वालसले बारम्बार ट्रम्पलाई सचेत गराएका थिए । उनले चर्को स्वरमै ट्रम्पलाई रोक्नुपरेको थियो ।
टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतासहितका विषयमा बहस भएको बीबीसीले जनाएको छ । तर हरेक बहसमा अधिकांश समय ट्रम्पको अवरोधका कारण ‘झगडा’ जस्तो बन्यो ।
मतदातालाई कस्तो सन्देश ?
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर लेख्छन् -यदि यस बहसबाट ट्रम्पले अमेरिकीहरूलाई केही सन्देश दिन चाहन्थे भने त्यो ‘देशले झेलेका समस्याहरू समाधान गर्न बाइडेनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झन्डै आधा शताब्दी समय थियो’ भन्ने हो।
ती समस्याहरू अमेरिकामा अझै छन् भन्ने उक्त भनाइ रहेको भिडिओको अंश बहस जारी रहेकै बेला राष्ट्रपतिको ट्विटरबाट प्रेषित गरिएको थियो । ट्रम्पले बाइडनलाई भने, ‘मैले ४७ महिनामा तपाईंले ४७ वर्षमा गरेकोभन्दा धेरै काम मैले गरेको छु ।’
त्यसको जवाफमा बाइडेनले भने, ‘यी राष्ट्रपतिअन्तर्गत रहेर हामी कमजोर, रोगी, गरिब र थप विभाजित भएका छौं ।’
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन् ।
ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौं मानिसले हेर्ने अपेक्षा गरिएको थियो । कोरोना भाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी भएका थिए । बहसमा १५-१५ मिनेटका ६ वटा भाग थिए ।
कोरोना भाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाईकन बहस सुरु भएको थियो ।
९० मिनेटमा ७३ अवरोध
बहस अवधिको ९० मिनेटमा ७३ पटक ट्रम्पले बाइडेनलाई अवरोध गरेका छन् । बहसको अधिकांश समय कोरोना महामारीमा केन्द्रित भएको छ । करिब २० मिनेट कोरोना भाइरस, कोरोनाविरुद्धको खोप, मास्क र ट्रम्प प्रशासनले कोरोना नियन्त्रणमा गरेका कामहरुमा खर्च भएको थियो ।
त्यसैगरी पछिल्लो समय बढेको हिंसा र प्रदर्शनका विषयमा १७ मिनेट खर्च भएको थियो । त्यसैगरी निर्वाचनको विश्वसनीयतामा ११ मिनेट र १० मिनेट मौसम परिवर्तनका विषयमा खर्च भएको थियो ।
बहसमा करिब ३८ मिनेट ट्रम्प बोलेका थिए भने करिब ४३ मिनेट बाइडेन बोलेका थिए । ट्रम्पले बाइडेनलाई ७३ पटक अवरोध गरेका थिए । सन् २०१६ मा हिलारी क्लिन्टनबीचको बहसमा ३७ पटक अवरोध गरेका थिए । बाह्रखरी डटकमबाट