सम्पादकीय :

कोरोना कहरबीचका पर्व

लोकखबर
२ कार्तिक २०७७, आईतवार ०८:३९

कोरोना कहरकाबीच यो वर्षको महान पर्व दशैं सुरु भएको छ । प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूणर्िमासम्म पनि मानिने विशेष पर्वका रुपमा हामी दशैंलाई लिन्छौं । विश्वलाई अत्तालिदिएको कोरोना भाइरसबाट सुरक्षित रहँदै यो पटकको दशैं, तिहार जस्ता महत्वपूणर् चाडपर्व मनाउँनुपर्ने बाध्यता हामीहरुका बीचमा रहेको छ । सरकारले पनि जो जाहा छौं, त्यहीं सुरक्षाको मापदन्ड पालना गर्दै दशैं मनाउँन आग्रह गरेको छ । सरकारको यो आग्रह शिरोपर गर्दै दशैं मनाउँने हो भने कोरोना भाइरस संक्रमणको जोखिमबाट केही हदमा सुरक्षित रहन सकिन्छ । यो माहामारीका बीचमा पनि हाम्रा महत्वपूणर् सांस्कृतिक धरोहर पर्वलाई मनाउँनु संस्कृति, आस्थालाई निरन्तर जोगाई राख्नु हो भन्ने बुझ्न सकिन्छ । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले पनि हामी भन्छौं । आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । आफूभन्दा ठूलाबडाको हातबाट टिका थाप्ने यो दिनमा हामी घरमै बसेर आशिवार्द थाप्नुपर्ने भएको छ । किनभने एकातिर ठूलाबडाको आशिर्वाद थापिरहँदा अर्कोतिर कोरोना भाइरसबाट संक्रमित भइएला भन्ने उत्तिक्कै डर पनि हामीसंग छ ।
हाम्रा चाडपर्वहरुबाट हामी आनन्दित हुने गर्दछौं । हर्ष, उल्लासका साथ हाम्रा घर आँगनमा चाडपर्व आउँने हुनाले हामीले विशेष रौनकताका साथ यस्ता चाडपर्व मनाउँने गरेका छौं । तर पटक महान पर्वको रौनकतामा कोरोनाले प्रभाव पारेको छ । मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो गरिने बेलामा अहिले कोरोनाको सङ्क्रमित यति सङ्ख्याका दरले बढेका छन्, यति जनाको मृत्यु भए भन्ने जस्ता खबर सुन्न परेको छ । यो जति पीडादायी कुरा अरु के हुनसक्छ र ? महान पर्वमा पनि कोरोनाले आतङ्कित बनाएपछि नागरिकहरु दशैं खल्लो हुने भयो भनिरहेका छन् । किनभने बडादशैं तथा तिहारजस्ता पर्वमा देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने मौका मिल्ने गरेको थियो । दशैमा दक्षिणा, टिका, जमरा र पिङको विशेष महत्व रही आएको छ । कोरोनाको कारण यी महत्वपूणर् कुराहरु खल्लो लाग्ने अवस्था बनेको छ ।

दशैं तिहारजस्ता पर्वहरुमा विगतमा सर्वसाधारण ठगीनुपरेको गुनासो आउने गरेको थियो । खासगरी हेटौंडादेखि काठमाडौंसम्म सञ्चालन हुने सवारी साधनबाट यात्रु ठगीने गरेका थिए । अहिले एकातिर कोरोनाको तनाव छ भने अर्कोतिर आफू ठगीमा पर्नसक्ने चिन्तामा नागरिक रहेका छन् । उपभोग्य बस्तुमा कालोबजारी, कृतिम अभाव पूरानै रोग हो । केहीकेहीलाई कमाउने बेला नै यही हो भन्ने लाग्दो हो । तर, यस्तो पीडाको समयमा मानिस सङक्रमणको जोखिममा रहेका बेलामा डराई डराई सवारी साधनमा चढ्दा बढी भाडा तिर्नुपर्ने समस्यामा छन् । उपभोक्ताहरु दैनिक उपभोग्य बस्तु खरिद गर्न खोज्दा विभिन्न बस्तुहरुमा ठगीइरहनु परेको अवस्था हुँदाहुँदै पनि कारवाहीको दायरामा ल्याउनुपर्ने निकाय मौन बसेको गुनासो नागरिकतर्फबाट आइरहेको छ । उपभोक्तावादीहरु पनि कोरोनाको त्रासमा उपभोक्ता अधिकारका बारेमा बोल्न डराई रहेका छन् । किनभने उनीहरु आफैं पनि संक्रमणमा परिएला भन्ने चिन्तामा छन् । कुनै देशका कुनै साना, कुनै ठूला भनेर यसले छाडेको छैन । फेरि नेपालीहरुको महान पर्व दशैं रहेछ यो पर्व मनाउँनलाई दिन्छु, यो बेलामा कसैलाई आक्रमण गर्दिन भनेर भाइरसले भन्दैन । अर्थात् जस्तो अवस्थामा पनि भाइरस सङ्क्रमित हुने सम्भावना उत्तिक्कै छ । केवल आफैं सचेत हुनुपर्ने छ । मानिसलाई निकै घातक अवस्थामा पुर्‍याउँने भाइरस भएकाले अन्य भन्दा अझ बढी गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छ । अहिलेसम्म भाइरसको उपचार पत्ता नलागेकाले पर्व मनाउँदा होस् वा अन्य काम गर्दा होस् आफ्ना लागि आफैं सचेत बन्नुपर्छ । सबैमा विजया दशमीको शुभकामना ।

मध्यस्थता साप्ताहिकबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*