ओलीलाई सचिवालय बैठक बोलाउन साँझसम्मको अल्टिमेटम, नदिए प्रचण्डले बोलाउने तयारी

लोकखबर
२५ कार्तिक २०७७, मंगलवार १५:०१

मकवानपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी थालेका छन् ।

अध्यक्ष दाहालले पार्टीको मुख्यालय धुमबाराहीमाऔपचारिक बैठक राख्ने तयारी गरेका हुन् ।

यता नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् ।

बहुमत सदस्यले ओलीलाई मंगलबार बेलुकी ४ बजेसम्म बैठक बोलाउन अल्टिमेटम दिएका छन् । सो समय सीमासम्म ओलीले सहमति नदिए अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार आज नै बैठक बस्ने सम्भावना छ ।

यसअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिनका लागि लिखित माग नै गरेका थिए । त्यसपछि ओलीले नेताहरूसँग भेटघाट बाक्लो बनाएर सहमति खोज्ने प्रयास गरेका थिए ।

प्रचण्डसहित पाँच जना नेताले शनिबार बालुवाटार पुगेर ४८ घण्टाभित्र बैठक बस्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

यसअघि पनि सचिवालयका बहुमत सदस्यहरु धुम्बाराहीमा अनौपचारिक बैठक बसेका थिए। अध्यक्ष दाहालले बोलाएको उक्त अनौपचारिक बैठकमा ओली खेमाका ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।

सचिवालयका बहुमत सदस्यले बैठकका लागि सहमति माग गर्दा समेत नदिएपछि अध्यक्ष दाहालले आफ्नो अधिकार प्रयोग गरेर बहुमत सदस्यसहित औपचारिक बैठक राख्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भने सहमति बिना प्रचण्डले बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही हुने बताएका छन् ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*