हेटौंडा गोल्डकप फुटबलमा हेटौंडा र भरतपुरबीच पर्सि फाइनल भिडन्त हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आयोजक विजय युथ क्लव, हेटौंडा र सेन्ट्रल कलेज भरतपुरका बीच हुने भएको छ ।
यहि माघ १६ गतेबाट हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी प्रतियोगितामा आज ( बुधबार) को सेमीफाइनल खेलमा बागमती युवा क्लव सर्लाहीलाई ५-१ ले हराउँदै आयोजक विजय युथले फाइनलका लागि स्थान सुरक्षित गरेको हो । यसअघि मंगलबारको सेमिफाइनल खेलबाट हर्दी युवा समाज राप्तीलाई हराउँदै भरतपुरले फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल पर्सि (शुक्रबार) २३ गते खेल दिउँसो ३ बजे वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख रुपैयाँ नगद हात पार्नेछ भने उप–विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजक वियथ युथ क्लवका अध्यक्ष सुदिप राजबाहकका अनुसार प्रतियोगितामा मकवानपुरका दुई सहित देशका विभिन्न चितवन, काठमाडौं, वीरगन्ज, सिन्धुली, सर्लाहीका गरी दश वटा टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।