कतारमा रहेका आप्रवासी कामदारको पक्षमा नर्वेका खेलाडी

लोकखबर
१२ चैत्र २०७७, बिहीबार १२:३०

मकवानपुर । कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट खेलमा जिब्राल्टरसँग खेल्नुअघि नर्वेका खेलाडीले अंग्रेजीमा ‘मानव अधिकार मैदानमा र मैदानबाहिर’ लेखिएको टिसर्ट लगाएका छन्। विश्वकपका लागि रंगशाला निर्माण लगायत काममा कतारमा रहेका आप्रवासी कामदारको पक्षमा उनीहरुले आवाज उठाएका हुन्।
नर्वेका कप्तान मार्टिन ओडेगार्डले खेलअघि मानव अधिकार हनन्मा परिरहेका कामदारको पक्षमा आफूहरुको भावना प्रतिबिम्बित हुने गरी केही गर्ने योजना बनाएको र त्यसैअनुसार समर्थनमा नारा लेखिएको टिसर्ट लगाएको बताए। त्यसैगरी, खेलाडीले खेलअघिको अभ्यासको समयमा ‘मैदानमा र मैदानबाहिर सबैको सम्मान’ लेखिएको टिसर्ट पनि लगाएका थिए।
आउने वर्ष नोभेम्बर २१ मा कतारमा विश्वकप फुटबलको आयोजना हुने तय छ। विश्वकपका लागि रंगशाला निर्माण लगायत काममा खटिएका श्रमिकको सुरक्षामा कतारले ध्यान नदिएको विषय बारम्बार उठिरहेको छ। गएको महिना मात्रै बेलायती गार्जियन मिडियाले विश्वकप आयोजना तय भएको २०१० यता कतारमा ६ हजार ५ सय आप्रवासी कामदारले ज्यान गुमाएको उल्लेख गरेको थियो।
कतारसँगै २०२२ को विश्वकप फुटबल आयोजना गर्ने प्रतिस्पर्धामा अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, जापानलगायत थिए। जहाँ आयोजनाको जिम्मा कतारले पाएसँगै त्यसैको तयारीका लागि आप्रवासी कामदारको संख्या कतारमा बढेको हो। कतारले विश्वकपका लागि सात वटा नयाँ रंगशाला निर्माण गरिरहेको छ।
जिब्राल्टरसँगको खेलमा नर्वे ३–० ले विजयी भयो। जहाँ ४३औं मिनेटमा सर्लोथ, ४५औं मिनेटमा थर्सभेड्थ र ५७औं मिनेटमा सेभेनसनले गोल गरे।नेपाललाइभ डटकमबाट

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु