राष्ट्रियसभा उप निर्वाचन :

माधव नेपाल पक्षको भोट आउला बादललाई ?

लोकखबर
६ जेष्ठ २०७८, बिहीबार ०९:१०

मकवानपुर । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको निर्वाचनको नतिजा आज साँझ साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माविको चौरमा हुने निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

अपरान्ह ३ बजेसम्म मतदान हुने र पाँच बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशबाट राष्ट्रियसभा माओवादी केन्द्रबाट विजयी बनेका रामबहादुर थापा बादल साविक नेकपाको विवादसंगै एमाले प्रवेश गरेपछि कारवाही स्वरुप पदमुक्त भएपछि रिक्त पदमा उप चुनाव गरिएको हो ।

उप चुनावमा एमालेले गृहमन्त्री समेत रहेका बादललाई नै उम्मेद्वार बनाएको हो । यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

चुनावमा बागमती प्रदेशसभा सदस्य,गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखले भोट हाल्नेछन् ।

बादल र भट्टराईमध्ये कसले चुनाव जित्ला भन्नेमा धेरैको चासो छ । बादललाई आधिकारिक रुपमा एमालेले उम्मेदवार बनाएपछि विवादमा रहेको एमालेका तर्फबाट प्राप्त गर्नुपर्ने सबै मत आउला त भन्ने आम चासो छ । डा.देवकोटालाई विपक्षीसंग समेत सहकार्य गर्दै एमालेका माधवकुमार नेपालले उम्मेद्वार बनाएकाले एमाले माधव पक्षको पनि आफूले पाउँने देवकोटाको विश्वास छ । तर मतदातालाई स्वविवेक प्रयोग गर्न माधवकुमार नेपालले भनिसकेकाले चुनाव रोचक बनेको छ ।

माधव पक्षका केही मतदातासंग तपाईंको भोट बादललाई कि देवकोटालाई भन्दा प्र्रस्ट खुलेर बताएका छैनन् । पार्टीले आधिकारिक रुपमा बादललाई उठाएपनि आफूले स्वविवेक प्रयोग गर्ने उनीहरुको प्र्रतिकृया छ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १०९ र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाताले भाग लिनेछन् ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु