मकवानपुरको कैलाश गाउँपालिका प्रशासकिय भवन उद्घाटन
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन बुधबार (आज) उद्घाटन भएको छ । कैलश–३ कालिकाटार स्थित २६ कोठे नवनिर्मित प्रशासकिय भवनको जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमकाबीच उद्घाटन गरेको हो।
भवन उदघाटन गर्ने क्रममा प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने बताए । उनले जिल्ला समन्वय समितिले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो उपलब्धीका रुपमा लिएको भन्दै कैलाश गाउँपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद समेत व्यवक्त गरेका थिए ।
उनले स्थानिय तहहरुलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्न जिल्ला समन्वय समतिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसको निरन्तरता रहने प्रतिबद्धता समेतत व्यक्त गरेका छन् । उनले समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जग्गादाता लगायत निर्माण प्रकृयामा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद व्यक्त गरेको थियो ।भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराईएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असाढ ७ गते गाउँपालिकाले निर्माण कम्पनी रवि-अविसा जेभीसंग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरि सम्झैता गरेको थियो ।
निर्माण कम्पनीले समयावधी भित्रै भवन निर्माण सम्पन्न गरेर आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले बिकट ठाउँमा स्थानीय सरकार संचालनमा समस्या भईरहेको बेला कैलाश गाउँपालिकाकोले भवन निर्माण गरेर राम्रो उपलब्धी हासिल गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आफुले जनतालाई सधै उत्साहित बनाउने काम गरेको बताए । उनले स्थानीय जनताले स्थानीय तहबाट उत्कृष्ट सेवा सुविधा पाउनु पर्छ भन्ने विश्वासका साथ काम गरेको उल्लेख गरेका छन्।
भवनमा सामान्य केहि काम गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जनाइएको छ । उनले जिल्ला समन्वय समितिको सहयोगले मात्र भवन निर्माण गर्न सकेके जिकिर गर्दै जिल्ला समन्वय समितिलाई बिषेश धन्यवाद दिए ।
कार्यक्रममा गाउँपालिका भवन र १० शैयाको अस्पताल निर्माणका लागि करीब १६ रोपनी जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्य बहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानले जग्गा प्रदान गरेको हो ।
गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।