ओस्कार कलेजद्वारा हेटौंडामा सिनेमा साक्षरता अभियान
मकवानपुर । ओस्कार अन्तराष्ट्रिय कलेजले आइतबार हेटौंडामा सिनेमा साक्षरता कार्यक्रम गरेको छ । नेपाल भरिका ठूला दश शहरमा सिनेमा साक्षरता अभियान अन्तर्गतको कार्यक्रम हेटौंडास्थित हेटौंडा क्याम्पसमा सञ्चालन भएको आयोजकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओस्कार कलेजको यस खालको कार्यक्रम गत चैत्र १४, १५ र १६ गते क्रमशः झापाको विर्तामोड, कोशी प्रदेशको राजधानी विराटनगर र इटहरीमा सम्पन्न भएका थिए । यो कलेज सिनेमा शिक्षा क्षेत्रमा स्नातक तह अध्ययन गराउने नेपालकै पहिलो कलेज हो ।
साक्षरता कार्यक्रममा सहभागी बनेका विद्यार्थीले यस्तो खालको शैक्षिक अभियानले दक्ष कलाकारहरू मात्र उत्पादन गर्ने नभई राम्रो दर्शक पाउनका लागि पनि प्रभावकारी हुने बताएका छन् । चलचित्र क्षेत्रप्रति हेर्ने नकरात्मक दृष्टिकोण सकारात्मक परिर्वतनका लागि सिनेमा साक्षरता अहिले आवश्यक भएको पनि कार्यक्रममा जोड दिइएको थियो ।
आयोजकका अनुसार यस खालको कार्यक्रम चलचित्र निर्माण क्षेत्रका लागि साक्षरता अभियान हो र यस बारेमा पनि अध्ययनको खाँचो छ भनेर अभियान शुरु गरिएको हो ।
अध्ययनका लागि इन्जिनियरिङ, व्यवस्थापन लगायतका अनेक विषयहरू रहेझैं आर्ट फिल्डमा हुने सिनेमा शिक्षाभित्र पनि विविध विषयहरू रहेको भन्दै सिनेमा पनि एक अध्ययनको विषय हो भनेर बुझाउन यो अभियान सञ्चालनमा ल्याइएकोे सिनेमा साक्षर अभियानका प्रबन्धक तथा कलेजका प्रशासकीय प्रमुख नवीन न्यौपानेले जानकारी दिए ।
यो अभियानद्वारा हरेक शहरमा सिनेमा शिक्षाका विविध पक्ष समेटिने र यो कार्यशालामा सिनेमा सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिइने कलेजका प्रधानाध्यापक राजा राम दाहालले बताए ।
कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइने छन् । कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा परिणत गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने दाहालले बताए । कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ।
विर्तामोडको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयबाट शुरु भई जनकपुरको मोनास्टीक स्कूल-कलेज, भानु चौक हुँदै हेटौंडामा साक्षरता अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । अब यसपछि नारायणगढ, बुटवल, घोराही, धनगडीमा अभियान अन्तर्गत कार्यक्रम गरी चैत्र २५ गते पोखरामा समापन गरिने आयोजकले जनाएको छ ।