प्रयोगशालाबाट कृषि आधारित उन्नत वस्तुहरु उत्पादन गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषिमा आधारित उन्नत खालका वस्तुहरु प्रयोगशालाबाट उत्पादन हुनु आवश्यक रहेको बताएा छन् । मंगलबार ललितपुरको गोदावरीमा फार्म दिवस तथा तन्तु प्रजनन् सहितको तालिम भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस कुरामा जोड दिएका हुन् ।
देशको पुँजी बाहिर जानबाट रोक्न र बाहिरबाट पुँजी भित्र्याउन सक्ने खालको भूमिका तन्तु प्रजनन् केन्द्रले निर्वाह गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । कार्यक्रम नेपालको कृषि क्षेत्रका लागि ऐतिहासिक कार्य भएको भन्दै मन्त्री श्रेष्ठले न्यून लागतमा धेरै बिरुवाहरु उत्पादन गर्न सकिने भएकाले निकै प्रभावकारी हुने विश्वास पनि व्यक्त गरे ।
मन्त्री श्रेष्ठले कृषिसम्बन्धी जुनसुकै क्षेत्रमा पनि अब्बल खालको कार्य गर्नु र स्थानीयहरुलाई नाफामुखी बनाउनका लागि भूमिका खेल्नुपर्ने समेत बताए । फूलका कारण सुगन्धका साथै सौन्दर्य समेत प्राप्त हुने भएकोले यसको विकासका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।