तामाङ र नेपाल भाषा सरकारी कामकाज भाषा बनेपछि बागमतीमा बिदा
मकवानपुर । बागमती प्रदेश सरकारले आज बागमती प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू भएको दिनको अवसरमा आज सोमबार बिदा दिईएको हो ।
बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिएको हो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा उल्लेख छ ।
बैठकले यस विशेष अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।