बागमती प्रदेश खानेपानी मन्त्रालयको विज्ञ सल्लाहकारमा रिजाल
मकवानपुर । बागमती प्रदेशका खानेपानी मन्त्री एकालाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् । हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गराएका हुन् ।
मन्त्रालयले उनलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयले उनको बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै प्रदेशको खानेपानी, उर्जा र सिँचाई नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको मन्त्री श्रेष्ठले भने ।
पदस्थापनपछि सल्लाहकार रिजालले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । विज्ञ सल्लाहकारले जनता र मन्त्रालयको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताएका छन्। उनले इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका रिजालले यसअघि भूमि सम्बन्धि समस्या समाधान आयोगको विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् । यसैगरी तत्कालिन कृषि विकास मन्त्रालयको सामाजिक समावेशी विज्ञको रुपमा मेची अञ्चलको प्रमुख भई काम गरिसकेका छन्। वरीष्ठ समाजशास्त्रीको रुपमा लामो समयदेखि क्रियाशील रहेका रिजाल शान्ति तथा पुनस्थापन विज्ञको रुपमा पनि काम गरेको अनुभव रहेको छ ।