हेटौँडामा वडाअध्यक्षले मुख छाडेपछि पत्रकार संगठनहरु जागे
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दिपक खड्काले पत्रकारमाथि दुव्र्यवहार गर्दै मुख छाडेपछि मकवानपुरका पत्रकार संगठनहरु त्यस विरुद्ध एकजुट भएका छन् ।
जिल्लाका सबै पत्रकार संगठनहरुका साथै नेपाल पत्रकार महासंघ मकवानपुर र नेपाल पत्रकार महासंघ बागमति प्रदेशले समेत विज्ञप्ति निकालेर त्यसको विरोध गरेको छ । जिल्ला र प्रदेश पत्रकार महासंघसँगै प्रेस युनियन मकवानपुर, प्रेस सेन्टर नेपाल मकवानपुर र समाजवादी प्रेस संगठन मकवानपुरले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुव्र्यवहारको विरोध गरेको हो ।
पत्रकार संगठनहरुले वडाअध्यक्ष खड्काको भाष्यशैलीमात्रै होईन त्यस्तो व्यवहारगरेपछि क्षमा याचना समेत नगरेको भन्दै त्यसको विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरले वडाअध्यक्ष खड्कालाई छलफलका लागि समेत बोलाएको तर त्यसमा वडाअध्यक्षले कुनै समन्वय नगरेको बताइएको छ ।
समाचार संकलनका लागि मंगलबार वडा कार्यालय पुुगेका सौर्य दैनिकका छवि अनित्य र हिमालयन टाईम्स तथा प्रदेश संचार डटकमका मन्जिता मैनालीमाथि वडाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
खड्काले ‘सबै पत्रकार चोर हुन्’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको पत्रकार अनित्यले बताए । खड्काले गालीगलौजको भाषा प्रयोग गर्न थालेपछि अडियो रेकर्ड गर्न लाग्दा सञ्चारकर्मीको मोबाइल समेत थुतेर राखेका थिए । चेपाङ समुदायको एउटै घरका ६ जना बालबालिकाको जन्मदर्ता बनाउन कठिनाई भएको विषयमा जानकारी लिन पत्रकार अनित्य र मैनाली त्यहाँ पुगेको बताइएको छ। हेर्नुहोस् विज्ञप्तिहरु–