समय अगावै नेपाल भित्रियो मनसुन
मकवानपुर । नेपालमा यस वर्ष सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । पानी धेरै पर्ने अनुमानसँगै गृह मन्त्रालयले विपद्बाट हुने क्षति घटाउनेसहित उद्धार र राहतका लागि कमान्ड पोस्ट नै स्थापना गरेर काम शुरु गरेको छ ।