नेसपा मकवानपुरको स्थापना दिवसः हेटौँडामा विविध कार्यक्रमको आयोजना

लोकखबर
३० जेष्ठ २०८१, बुधबार २२:१२

मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो आठौं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीले बुधबार हेटौँडामा रक्तदान कार्यक्रमका साथ पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज) को अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।

यस्तै पार्टीले बुधबार नै हेटौंडामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले नयाँ शक्ति पार्टीको रुपमा आठ वर्षअघि स्थापना भएर आजसम्म आइपुग्दाको अवस्थाको समिक्षा प्रस्तुत गरेका थिए । उनले विभिन्न पार्टीबीच एकता र फुटसँगै पार्टी आजको अवस्थासम्म आएको स्मरण गरे ।

पार्टीको भावी रणनीति र आगामी योजनाबारे पनि उनले पत्रकारहरुलाई जानकारी गराए का छन्। पाँच ‘स’ लाई मुख्य आधार बनाई मुलुकमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु आफूहरुको मुख्य मुद्दा भएको उनको भनाइ थियो । पार्टीले संगठन विस्तारलगायत जिल्ला अधिवेशन हुँदै आगामी माघसम्ममा केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए ।

पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज)को अध्यक्षतामा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पार्टी मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीका नेताहरु हरिहर खतिवडा, सुदिप कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु