हेटौंडा ७ नम्बर वडा शनिबार बालमैत्री घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ लाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
बालमैत्री घोषणा कार्यक्रम शनिबार बिहान १० बजे वडा कार्यालयबाट प्रभातफेरी गरी नवज्योति माविको प्राङ्गणमा हुने जनाइएको छ ।
हेटौंडा-७ का वडाध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिका संयोजक दामोदर खनालले वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचक सतप्रतिशत पूरा गरेको बताए ।
वडाभित्र १ हजार ८ सय ९८ जना बालबालिका रहेका छन् । बालमैत्री घोषणा भइसकेपछि यसलाई दिगोपनाका लागि वडाले नीति समेत बनाउने बताईको छ ।
हेटौँडा उपमहानगरपालिकाले २०७९ फागुन २ गते गोकर्ण लामालाई वडा बाल सहजकर्ता नियुक्त गरेर बालमैत्री तयारीका लागि अभियान थालेको थियो ।