हेटौंडा १० लाई भदौ ८ मा बालमैत्री वडा घोषणा गरिँदै

लोकखबर
४ भाद्र २०८१, मंगलवार १०:००

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० लाई यही भदौ ८ गते शनिबार बालमैत्री वडा घोषणाका लागि तयारी गरिएको छ ।

‘बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ वडालाई निकृष्ट बालश्रम मुक्त, बालविबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडाध्यक्ष पुर्वा दोर्जे तामाङले जानकारी दिए । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडा मध्ये १० नम्बर वडाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरी विभिन्न चरण पार गर्दै घोषणाको अवस्थामा आइपुगेको हो ।

पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत, १ वटा सूचक ८१ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुुगिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

यस वडामा घरधूरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मूनिका बालबालिकाको जनसंख्या १८९५ रहेको छ जस्मा ९९६ बालक र ८९९ बालिका रहेका छन् । कूल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५२.६ प्रतिशत बालक र ४७.४ प्रतिशत बालिक रहेका छन । यस वडामा सामुदायिक र संस्थागत गरी जम्मा ४ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । यसैगरी १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेको छ जसमा २५० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरु समेत गरी जम्मा २६२ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ।

वडामा शासन वडा समिति, वडा बालमैत्री स्थानीय बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरुको क्रियाशीलताबाट घोषणाको चरणमा कार्यालय पुगेको हो । अधिकांश भागहरु शहरी क्षेत्रमा रहेको वडाको क्षेत्रफल २.४ वर्ग कि.मी. रहेको छ भने वडाको पूर्वि सिमानामा त्रिभुवन राजपथ, पश्चिम सिमानामा राप्ती खोला, उत्तरमा महेन्द्र राजमार्ग, र दक्षिण भागमा कर्रा खोला रहेको छ ।

सरकाले २०८७ सालसम्म देशका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभिन्न स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्घतामा हस्ताक्षर गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो । यो अभियान सार्थक पार्न उपमहानगरका वडाहरुले विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । वडा नं १० ले पनि नेपाल सरकारले निर्धारण गरेको बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाउ, बाल संरक्षण, वाल विकास, र बाल सहभागिताका साथै यसको लागि संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेको हो ।

बालमैत्री घोषणाका लागि सूचक पूरा भएको सन्दर्भमा सरोकारवाला निकायसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितीपत्र, वडाको पञ्चवर्षिय रणनीतिक योजना तयार भएको हो । जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन गरी बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिबाट अनुमति प्राप्त भएको हो ।

वडाध्यक्ष तामाङले वडावासी, वडामा रहेका विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको साथ–सहयोगले बालमैत्री घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको बताए ।

बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, अवसर, वृद्धि विकास र सहभागिताको अवसर दिन सकेमा भविष्यमा देशले असल, सभ्य र सक्ष्मम नागरिक पाउनसक्ने भएकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त बनाउन थालिएको उनको भनाई छ ।

वडा घोषणा टीसीएन चौरबाट विहान १० बजे बृहत प्रभातफेरी सहित शुरु भई वडा परिक्रमा पश्चात सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीको सभाहलमा विशेष कार्यक्रम बीच हुनेछ । घोषणालाई वडाको गौरव र शानको विषयको रुपमा लिई अभियानलाई सभ्य र भव्य रुपमा सफल बनाउन आ-आफ्नो स्थानवबट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्वता जनाउन बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक समेत रहेका वडाध्यक्ष तामाङले वडाबासीमा हार्दिक अपिल समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*