अनाथ बालबालिकालाई तिहार मनाउँन आर्थिक सहयोग

लोकखबर
१७ कार्तिक २०८१, शनिबार २०:०८

मकवानपुर । मकवानपुरको हेटौंडा १४ स्थित अनाथ अपाङ्ग बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि तिहार मनाउँन आर्थिक सहयोग प्राप्त भएको छ ।

मामाघर नेपालका संस्थापक सचिव समेत रहेका बकैया गाउँपालिका वडा नम्बर ५ का कार्यालय सचिव देवराज लामिछानेको पहल तथा गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्य समितिका उप-संयोजक कृष्णहरि पाठकको नेतृत्वमा त्यहाँस्थित सहयोगी दाताहरुमार्फत संकलित नेपाली ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

शनिबार लामिछाने पुनस्थापना केन्द्रमा पुगी अध्यक्ष रामहरि कोइरालालाई तिहार मनाउन तथा कार्यालय सञ्चालन सहजीकरणका लागि भनी प्राप्त आर्थिक सहयोग हस्तान्तरण गरे । विगतमा बालसंरक्षणका क्षेत्रमा लामो समय काम गरेको र अहिले सरकारी सेवामा जोडिन पाउँदा आफ्नो सानो पहलमार्फत बालबालिकाले तिहार मनाउँन आवश्यक आर्थिक जोहो गराउँन सकेकोमा खुशी व्यक्त गरे ।‘अभावै अभावका बीच यहाँका बालबालिकाले दशैँ मनाएको सुने, तिहार त्यस्तो नहोस् भन्ने मनमा लागेरै जापानका मनकारी दातासमक्ष सहयोगको अपील गरेको थिए।’ लामिछानेले भने,‘मेरो आग्रहलाई स्वीकार गरी गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्य समितिमा आबद्द सहयोगी मनका धनीहरुले आर्थिक सहयोग पठाइदिनुभयो। अनाथ बालबालिकाले तिहार मनाउँन् भन्ने पवित्र भावनाले आर्थिक सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दछु ।’

पुनःस्थापना केन्द्रका अध्यक्ष कोइरालाले भौतिक संरचनामा क्रमिक रुपमा विकास हुँदै गरे पनि संस्था सञ्चालनका लागि कठिनाई झेलिरहनु परेको अवस्थामा प्राप्त आर्थिक सहयोगले राहत पुगेको बताए । ‘दशैं जसो-तसो मनाइयो, तिहारमा यी बालबालिकाको मुहारमा कसरी खुशी भर्ने भन्ने चिन्ता लागिरहेको थियो ।’ कोइरालाले भने,‘मेरो चिन्तालाई जापानमा बस्ने मकवानपुरे युवा पाठक सहयोगी भावनाका धनीले खुशीमा परिणत गरिदिए ।’ केन्द्रमा संरक्षित बालबालिकालाई रमाइलो वातावरणमा तिहार मनाउँने माहौल बनाइदिने सबैप्रति कोइरालाले आभार व्यक्त गरेका छन् ।

केन्द्रमा जाजरकोटका १०, काठमाडौंका १ र मकवानपुरका ३ गरी १४ जना बालबालिका आश्रित रहेका छन् । वि.सं.२०६३ सालमा स्थापना भएको केन्द्र मुठ्ठीदान, जन्म दिन, तिथीमा प्राप्त हुने सहयोगबाट सञ्चालन भइरहेको अध्यक्ष कोइरालाले जानकारी दिए । सहयोगी दाताहरुले सहयोग गरेको खण्डमा अनाथ बालबालिकालाई संरक्षण प्रदान गर्न सकिने अन्यथा संस्था सञ्चालनका लागि विभिन्न कठिनाई देखा परेको कोइरालाले दुःखेसो गरे । ‘संस्थाको भौतिक सम्पति छ तर खाद्यान्न अभाव छ ।’ कोइरालाले भने,‘दुई महिनाका लागि खाद्यान्न पुग्ला, त्यसपछि बालबालिकालाई कहाँबाट के ल्याएर खुवाउने भन्ने चिन्ता छ ।’

उनले अनाथ,अपाङ्गता भएका बालबालिकालाई संरक्षण प्रदान गर्दै उनीहरुको शिक्षा, स्वास्थ्यमा सहयोग गर्दै आइरहेको आफू नेतृत्वको संस्थालाई आवश्यक सहयोग प्रदान गर्न सहयोगीहरु समक्ष अपील समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*