व्यवसायीहरुको हितमा काम गर्न महासचिव पदमा मेरो उम्मेदवारीः प्रतिमा श्रेष्ठ

लोकखबर
२४ पुष २०८१, बुधबार १०:३९

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही पुस २४ देखि २७ गतेसम्म हुँदैछ । निर्वाचनले संघको नयाँ नेतृत्व चयन गर्ने भएकाले बागमती प्रदेश राजधानी हेटौंडामा चुनावी सरगर्मी छ । व्यवसायीहरुको साझा संस्थाका रुपमा परिचित उद्योग वाणीज्य संघमा नेतृत्वका लागि उम्मेदवारहरु दौडधुपमा छन् । चुनावमा दुई वटा प्यानल बनाएर यतिबेला उम्मेदवारहरु जीत आफ्नौ पक्षमा पार्नका लागि व्यवसायीहरुमाझ पुगिरहेका छन् । महासचिव पदमा हेटौँडाकी प्रतिमा श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । उनी प्रमोदसिंह रानाभाटको प्यानलमा छिन् । उनको उम्मेदवारीका सन्दर्भमा गरिएको कुराकानी ।

मकवानपुर उद्योग वाणिज्य संघको महासचिव पदको उम्मेदवार बन्नुभएको छ, व्यवसायीको विश्वास जित्नेमा विश्वस्त हुनुहुन्छ ?
मेरो पारिवारिक पृष्ठभूमी पोल्ट्री व्यवसाय हो । श्री श्रेष्ठ सप्लायर्स, संसारी पोल्ट्री हाउसमा आबद्ध भएको २० वर्ष भएको छ । यो अवधिमा मैले व्यवसायिक सफलता मात्र होइन थुप्रै अनुभव बटुलेको छु । सामाजिक संघसस्थामा नेतृत्व लिएर काम गरेको छु । यसबिचमा आफ्नै व्यवसाय संचालन गरिहेको छु । शिवशक्ती होम गोल्ड कम्पनी सञ्चालन गरेर बाटेको धुप, कोन धुप बनाई बिक्री गरिरहेको छु । मेरो निजी लगानीमा स्थापना भएको कम्पनीमा अहिले २० जना महिलाले रोजगारी पाउनुभएको छ । यो संख्या अझै बढ्नेछ ।
मैले कुखुरा व्यवसायी संघ मकवानपुरको सचिव, महासचिब, बरिष्ठ उपाध्यक्ष र कार्यबाहक अध्यक्षको भूमिका कुशलता पुर्वक निर्वाह गरेकी छु । यी भूमिकामा मैले प्राप्त गरेको सफलता अहिले मलाई व्यवसायीहरुले विश्वास गर्ने प्रमुख आधार हुन् । मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा एक कार्यकाल काम गरिसकेको छु । अघिल्लो कार्यकालमा मेरा अग्रज दाजु प्रमोद सिंह रानाभाटसँग उद्योग तर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गरे थोरै मतले उपविजेता बने । संयोगले अहिले म प्रमोद दाइकै टिमबाट महासचिवको उम्मेद्वार बनेकी छु । मेरो व्यवसायिक सफलता र सामाजिक संघसंस्थामा यसअघि निभाएको भूमिका नै व्यवसायीहरुको मन र विश्वास जित्ने आधार हुन् । म ढुक्क छु यसपटक मलाई सबै व्यवसायीहरुको माया र साथ छ । अहिलेपनि धेरै व्यवसायीहरुले मलाई हौसला र प्रेरणा दिईरहनुभएको छ । संस्थाका पुर्व अध्यक्षहरुको आशिर्वाद पाएको छु ।

महिला भएकै कारण उम्मेदवार बन्न कत्तिको चुनौती भयो ?
नेपाल उद्योग वाणिज्य महासंघकै अध्यक्षमा आदरणीय दिदी भवानी राणाले नेतृत्व गरिसक्नुभएको छ । महिला सभामुख, प्रधानन्यायधिश, मुख्यसचिव र राष्ट्रपति भईसकेको देश हाम्रो हो । यो खालको सामाजिक पृष्ठभूमीले पनि मलाई सहज बनाएको छ । म सामाजिक संघसंस्थाको नेतृत्वको रुपमा सफल भई स्थापित भईसकेको छु । सर्वोत्तम सञ्चीती बचत तथा ऋण सहकारी संस्थाको सचिव, ग्रामिण बहुउद्देश्यीसहकारी संस्था लि. को सहसचिव, सचिव र अध्यक्षको कार्यकाल सफलता पूर्वक सम्पन्न गरिसकेको छु ।
यस्तै, हेटौँडा लेडी जेसिजमा महासचिव, कार्यकारी उपाध्यक्ष, वर्ष २०२१ अध्यक्ष हुँदा उत्कृष्ट अध्यक्षको अवार्ड जित्न सफल भए । १६१ वटा शाखा मध्येबाट छनौट हुँदा म उत्कृष्ट भएको हुँ । जेसिजमा विभिन्न क्षेत्रगत अवार्डबाट सम्मानित भएको छु । अहिले म मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको सचिवको भूमिकामा कृयाशील छु । नेवारी समुदायको संस्था नेवादेय दबु हेटौँडा उपमहानगरको संयोजकको भूमिकामा छु । मेरो सामाजिक सक्रियता मकवानपुरका लागि नौलो होईन । अघिल्लो पटकको निर्वाचनमा आदरणीय प्रमोद दाइसँगको प्रतिस्पर्धामा मैले पाएको मतले पनि मैले टिममा सहजै विश्वास जितेको हुँ ।

व्यवसायीहरु माझ तपाईको प्रतिबद्दता के के छन् ?
हामीले हाम्रो टिमको साझा छलफलबाट हाम्रो प्रतिबद्धता बनाएका हौँ । प्रमोद सिंह रानाभाटको नेतृत्वको प्यानलको प्रतिबद्धता बनाउँदा मेरो समेत सक्रिय भूमिका रहेको छ । यसका आधारमा भन्नुपर्दा व्यवसायीका पेशागत सुरक्षा र पेशागर्दा ब्यवसायीले सामाना गर्ने समस्या समाधान नै हाम्रो साझा लक्ष्य हुनेछ । म आफैँ पनि महिला व्यवसायी भएको हुँदा हामीले उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्ने गरी काम गर्ने योजना बनाएका छौँ ।
हाम्रो टिम सबै दृष्टिकोणले उत्कृष्ट बनेको छ । टिम छनौट गर्दा छुटेका बस्तुगत संघबाट प्रतिनिधीत्व ल्याउने योजना बनाएका छौँ । मकवानपुरको समग्र विकासमा स्थानीय, प्रदेश र संघीय सरकारसंग यस संघले समन्वयकारी भूमिका निर्वाह गर्नेछ । ब्यवसायीका साझा समस्या समाधान गर्न सरकारी कार्यालयहरुसंग हाम्रो संस्थागत सम्बन्धका आधारमा हामी समस्या समाधान गर्नेछौँ । व्यवसायीको अहित हुने कुनै गतिबिधी हुन दिनेछैन । मकवानपुर उद्योग वाणिज्य संघमा आबद्द ब्यवसायीहरुले यस संस्थाको सदस्यको परिचय दिँदा उहाँहरुको शीर उँचो हुनेगरी हामी यस संघको गरिमा बढाउने छौँ ।

महासचिवमा तपाईको पतिस्पर्धी पुरुष हुँदा कस्तो महसुस गर्नुभएको छ ?
मैले यसअघिको निर्वाचनमा अग्रज दाइसँग प्रतिस्पर्धा गरेको हुँ । महिलाको प्रतिस्पर्धा महिलासंग मात्रै हुनुपर्छ भन्ने होईन । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मान्यता अहिलेको समाजमा छैन । त्यसअर्थ पनि यो प्रतिस्पर्धालाई मैले सामान्य रुपमा हेरेको छु । छोरी भएर जन्मनु मेरो कमजोरी होइन । समाजमा कुनै पुरुषले गर्ने सामाजिक भूमिका भन्दा मेरो भूमिका कमजोर हुँदैन ।
म त अनुभवले खारिएको छु । पहिलो पटक सामाजिक संघसंस्थाको नेतृत्वमा आउन खोजेको होइन नि । दर्जनौँ संघसंस्थामा आबद्ध भएर परिपक्वता हासिल गरेर यहाँ आइपुगेको हुँ । मेरो ज्ञान, शीप क्षमता यस संस्थाको उन्नयनमा लगाउने छु । मलाई व्यवसायी, महिला उद्यमीका समस्या र समाधानका उपायहरुका बारेमा राम्रो ज्ञान छ । हाम्रो टिम पनि सशक्त छ । यसकारण सबै व्यवसायीलाई हाम्रो टिमका पक्षमा मतदान गर्न म विनम्रता पुर्वक आग्रह गर्दछु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*