घोषणाको नाटक नगरौं
शिव चौलागाईं
मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि धेरैले भनेका थिए-‘घोषणा त भयो तर कार्यान्वयन होला त ?’ ‘किन नहुनु नि कार्यान्वयन, को बाधा बन्छ र खुल्ला दिशामुक्त अभियानको ?’ खुल्ला दिशामुक्त मकवानपुर बनाउने अभियानमा होमिएकाहरु यस्तै भन्थे। अहिले जतिपनि त्यो अभियानमा होमिएका भेटिन्छन्, उनीहरुलाई खुल्ला दिशामुक्त अभियानका विषयमा यसो प्रश्न सोध्यो भने उनीहरुको जवाफ हुन्छ, ‘हाम्रो काम घोषणा गर्ने हो, हाम्रो काम सकियो, अब खुल्ला स्थानमा दिशा नगर्ने काम अरुको ।’ क्या डाइनामिक जवाफ ।
सरकारी तथा गैर सरकारी निकायको संलग्नतामा त्यतिको तामझाम, त्यतिको मेहनत अनि त्यतिको लगानीले खुल्ला दिशामुक्त जिल्ला बनाइयो । मकवानपुरको परिचयमाथि अर्को परिचय थपियो । उसै त सफा शहर, सुन्दर मकवानपुर, हेटौंडा भन्ने परिचय पाएका मकवानपुरबासीका लागि खुल्ला दिशामुक्त घोषणा त ठूलै उपहार नै थियो नि । तर के गर्नु अहिले दुर्गम, दूरदराज गाउँ पुग्नै पर्दैन । हेटौंडा उपमहानगर क्षेत्र भित्रका विभिन्न ठाउँमा खुल्ला स्थानमै दिशा भेटिन्छ । खुल्ला स्थानमा दिशा गर्नु हुन्न भन्ने थाहा नहुने को होला ? खुल्ला स्थानमा दिशा गर्दाका असर, वातावरणीय प्रभाव, मानिसको स्वास्थ्यमा त्यसले पुर्याउने हानी आदिका विषयमा जानकार को नहोला र ? तर टाढा जान पर्दैन हेटौंडा बजार वरपर जाँदा सजिलै देखिन्छ फोहोर दिशा । खुल्ला दिशामुक्त बनाइयो, नयाँ परिचय पनि पाइयो तर किन यति कमजोर भयो हाम्रो खुल्ला दिशामुक्त घोषणा ?
कडाइका साथ कुनै पनि घोषणा पालना हुदैनन् भने घोषणाको भारीले बेकार किन थिच्ने ? गाउँतिर झाडीमा अहिले पनि दिशा गर्ने चर्पी बनाएका छन् कतिपयले । तिनलाई चर्पी बनाउँनुपर्छ, दिशा गर्ने चर्पीमा मात्रै हो भनेर भन्न पुग्न किन सरोकारवाला भनिने पुग्न नसकेका । घोषणा भनेको केवल यसो बोली दिए पुग्ने जस्तो कार्य होइन नि, यसलाई कार्यान्वयन पनि उही रुपमा गर्न सकिदैन भने बेकारमा घोषणाको नाटक किन गरिन्छ ? ‘काम कुरा एकातिर,कुम्लो बोकी ठिमीतिर भने झैं’ विकट ग्रामीण क्षेत्रका कतिपय नागरिकलाई विहान बेलुकाको छाक टार्न चिन्ता छ, पाँच–सात हजार ऋण गरेर चर्पी बनाउनुको सट्टा चामल किन्छन् नि । तिनको घरमा चर्पी नबनेको पीडा, तिनलाई विहान बेलुकाको चामल उपलब्ध गराएपछि चर्पीको प्रयोग सिकाउँदा प्रभावकारी हुन्छ भनेर बुझ्ने कसले ?
खुल्ला दिशामुक्त घोषणा पछि अरु अरु पनि घोषणाको लहर आइरहेको छ । स्थानीय, प्रदेश, केन्द्र सरकारका आफ्नै आफ्नै घोषणाका कामहरु हुनसक्छन् । बाल विवाहमुक्त, महिला हिंसा मुक्त, बहु विवाह मुक्त, निरक्षता मुक्त अनि अरु यस्तै यस्तै मुक्तीको अभियान अब आउँलान । जुन रुपमा यस्ता अभियानको चर्चा परिचर्चा सहित तामधामले घोषणा गरिन्छ । तर घोषणापछि यसलाई यति वेवास्ता गरिन्छ कि घोषणा गर्नेहरुलाई टाउको लुकाउनु पर्ने दिन आउँछ कसैले कुनै प्रश्न सोधेको अवस्थामा । घोषणाका लागि घोषणा गरिदिँदा यस्तो अवस्था आउँने गर्दछ । अरुलाई काम देखाउन, कुनै दातृ निकाय सामु काम समयमै सक्नका लागि पनि अचेल घोषणा अभियान बग्रेल्ती भइरहेका छन् । यस्तो लाग्छ कि यो घोषणा गर्न पाएपछि सबै चिज प्राप्त हुन्छ कि क्या हो ? मानिसको मनमनमा परिवर्तन नगरी घोषणामात्र गरिदिँदा त्यो कति प्रभावकारी हुन्छ भन्ने कुरा खुल्ला दिशामुक्त अभियानबाट पनि बुझ्न सकिन्छ । विगतमा जे जे नाटकहरु भए, तिनलाई सुधारौं । अब नाटक होइन, साँच्चै परिवर्तन गरौं । घोषणा गरिदिए जस्तो नगरौं, अरुका लागि घोषणा नगरौं ।