स्थानीय अखबार : सहिद दिवस मनाइएको खबरदेखि मुख्यमन्त्री डोरमणि पौडेलले अभिव्यक्तिसम्म

लोकखबर
१७ माघ २०७५, बिहीबार ०९:५६

मकवानपुर । आज मिति २०७५ साल माघ १७ गते विहीबार । सन् २०१९ जनवरी ३१ तारिख । मकवानपुरबाट आज प्रकाशित दैनिक पत्रिकाले हिजो मनाइएको सहिद दिवस, राष्ट्रिय योजना आयोगको प्रादेशिक परामर्श बैठक, कांग्रेस नेता प्रकाशमान सिंहको भनाई सम्बन्धि समाचार प्रकाशन गरेका छन् ।
हेटौंडा सन्देश दैनिकमा प्रदेश ३ सरकारले सहिद दिवस मनाएको खबर छापिएको छ । ‘प्रदेश ३ सरकारले सम्झियो सहिदहरु’ शिर्षकमा छापिएको समाचारमा सहिदहरुको नाममा २५ गते वर्षअघि हेटौंडा ११ मा स्थापना गरिएको स्मारकमा विशेष समारोहको आयोजना गरेर प्रदेश सरकारले सहिद दिवस मनाएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सहिद स्मारक गेटबाट र्याली सहित सहिद स्मारकमा एउटै ढुंगामा कुँदिएको १२ सहिदको प्रतिमामा माल्यार्पण गरेर सहिद दिवस मनाइएको हो ।
सन्देशमा मुख्यमन्त्री डोरमणि पौडेलले ‘मुख्यमन्त्री पद छाड्नसक्छु, सहिद स्मारकको अध्यक्ष छाड्दिन’ भनेको खबर छ । सहिद दिवस समारोहमा बोल्दै उनले सहिद स्मारकबाट टाढा हुन नसक्ने बताएका थिए ।
सन्देशमै नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पार्टी केन्द्रीय सदस्य प्रकाशमान सिंहले कांग्रेसभित्र छाडापन बढेको आरोप लगाएको समाचार छ । प्याब्सनको सप्ताह हेटौंडामा सुरु भएको, मकवानपुरका ठकुरी एक भएको, साहित्यकार तुल्सी थापा अभिनन्दित भएको लगायतका खबर छन् ।
‘१५ वर्षमा प्रतिव्यक्ति आय १२ हजार डलर हुने प्रक्षेपण’ शिर्षकको समाचार साझाकुरा दैनिकले प्राथमिकताका साथ प्रकाशन गरेको छ । साझामै बसामाडी जेसीज अध्यक्षमा सरोज अधिकारी पदस्थापित भएको, प्रदेश सरकारले दिएको बिदा वेवास्ता गरिएको, हेटौंडाको सार्वजनिक जग्गा संरक्षणमा हेटौंडा उपमहानगरपालिकाले चासो देखाएको लगायतका खबर छापिएका छन् ।
समृद्द समाज दैनिकमा तीन वटा सरकार तीन तिर भए भनेर प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिजो हेटौंडामा आयोजित राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजना आधारपत्र अन्तरक्रिया एवम् राय संकलनका लागि प्रदेशस्तरिय परामर्श बैठकमा बताएको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । जिल्ला स्तरिय तेक्वान्दोको तयारी पूरा, भेट्रान्स कपको उपाधि एफसी रत्नलाई, प्रतिव्यक्ति आय १२,५०० डलर शिर्षक लगायतका समाचारलाई समृद्द समाजले छापेको छ ।
आज प्रकाशित प्रदेश दैनिकमा किसान कल्याण बहुउदेश्यीय सहकारी संस्थाले घरदैलो गरेको, नारायणीको अन्तरक्रिया लगायतका खबर छापेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*