सर्भ परियोजनाको सहयोगमा सहकारीको व्यवसायिक योजना

लोकखबर
२८ माघ २०७५, सोमबार २०:३६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका विभिन्न पाँच वटा सहकारीले पञ्चवर्षिय व्यवसायिक योजना तयार पारेका छन् ।
बकैया २, धियालस्थित सबल महिला कृषि सहकारी संस्था, बकैया ३, हात्तिसुडेस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था, बकैया ८,शिखरपुरस्थित हरियाली स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था, बकैया १० मन्थलीस्थित सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्था र बकैया १२,ठिङ्गनस्थित आदर्श महिला बचत तथा ऋण सहकारी संस्थाले योजना बनाएका हुन् ।

बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा बकैया गाउँपालिकामा सञ्चालन गरिरहेको सङ्कटासन्न घरधुरीका लागि भूकम्पीय पुनर्लाभ परियोजना  (सर्भ प्रोजेक्ट) अन्तर्गत सहकारीका लागि आवश्यक पञ्चवर्षिय व्यवसायिक योजना निर्माण गरिएको हो ।

बकैया २, धियाल स्थित सबल महिला कृषि सहकारीले हाल एक सय ३८ जना सदस्य रहेकोमा आगामी पाँच वर्षभित्र ६ सय ५८ जना सदस्य पुर्याउने लक्ष्य लिएको छ । सहकारीले हाल ३ लाख ३२ हजार ८ सय ४२ रुपिया कारोबार गरिरहेकोमा आगामी पाँच वर्षमा ५१ लाख २४ हजार ४ सय रुपिया पुर्याउने लक्ष्य छ । शेयरपुजी एक लाख रहेकोमा दशगुणा वृद्दि गर्दै दश लाख पुर्याउने योजना सहकारीले बनाएको छ । सहकारीले हाल ६ लाख ३६ हजार रुपिया ऋण लगानी गरिरहेकोमा आगामी पाँच वर्षमा ८६ लाख ५५ हजार एक सय ८० रुपिया पुर्याउने आफूहरुको योजना रहेको अध्यक्ष विष्णुकुमारी थिङले जानकारी दिइन् । हाल एउटा नियमित बचत मात्र रहेकोमा आगामी पाँच वर्षमा ऐच्छिक, पेन्सन, बाल, रेमिटेन्स, खुत्रुके, दैनिक, आवधिक र हितकोष बचत सञ्चालनमा ल्याउने आफूहरुको पञ्ववर्षिय योजना रहेको अध्यक्ष थिङले जानकारी दिइन् । सहकारीसंग हाल बचत तथा ऋण नीतिमात्र रहेकोमा पाँच वर्षभित्र कर्मचारी व्यवस्थापन नीति, आर्थिक प्रशासन नीति, सदस्यता तथा शेयर नीति, सञ्चालक समिति कार्यविधी, समूह व्यवस्थापन कार्यविधी, सदस्य राहत वितरण कार्यविधी,निर्वाचन सम्बन्धि कार्यविधी, सुशासन नीति, तालिम सञ्चालन कार्यविधी, धितो मूल्याङ्कन कार्यविधी, रेमिटेन्स नीति, भवन निर्माण सुधार नीति, वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धि नीति तथा कार्य विधी तयार गरिएको हो ।

बकैया ३, हात्तिसुडेस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थासंग हाल ६ सय २९ जना सदस्य रहेकोमा आगामी पाँच वर्षमा १ हजार २ सय ६८ जना सदस्य पुर्याउने , हाल बचत रकम ५३ लाख ९४ हजार एक सय ६८ रुपिया रहेकोमा ३ करोड ४५ लाख २६ हजार ५ सय ७१ रुपिया पुर्याउने , हाल शेयरपुजी १९ लाख ५२ हजार रहेकोमा २८ लाख रुपिया पुर्याउने योजना तयार पारिएको छ । सहकारीका अध्यक्ष सिताराम दहालका अनुसार हाल ८२ लाख ३९ हजार ९ सय ४ रुपिया ऋण लगानी रहेकोमा ४ करोड ५५ लाख ३८ हजार ६ सय ४२ रुपिया ऋण लगानी पुर्याउने सहकारीले पञ्च वर्षिय व्यवसायिक योजना बनाएको हो । सहकारीले हाल एक करोड एक लाख ५१ हजार ६ सय ९८ कारोबार गरिरहेकोमा ५ करोड ४० लाख ६८ हजार ९ सय ६ रुपिया कारोबार गर्ने लक्ष्य पनि अघि सारेको अध्यक्ष दहालले जानकारी दिए । सहकारीसंग बचत तथा ऋण, सदस्यता, सुशासन नीति रहेकोमा सहकारी सञ्चालनका लागि आवश्यक सबै प्रकारका नीति आगामी पाँच वर्षमा तयार पारी अघि बढ्ने योजना बनाएर कार्यान्वयन गरिएको उनले बताए । सर्भ परियोजनाको सहयोगमा प्राप्त विभिन्न तालिम तथा आर्थिक सहयोगका कारण सहकारीलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न सघाउ पुगेको अध्यक्ष दहाल बताउँछन् । ‘संस्थाबाट सुशासन, ऋण व्यवस्थापन, लेखा व्यवस्थापन, व्यवसायिक योजना निर्माण सम्बन्धि लगायत आवश्यक विभिन्न तालिम पाइयो ।’ दहाल भन्छन्,‘तालिमका साथै सहकारी व्यवस्थापनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, फर्निचर, काउन्टर लगायतका सामग्री सहयोग पाइएकाले सहकारीलाई योजनाबद्द रुपमा अघि बढाइएको छ ।’

बकैया ८,शिखरपुरस्थित हरियाली स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले पनि आगामी पाँच वर्षमा सहकारीलाई अघि बढाउन मार्गचित्र तयार गरेको छ । हाल ३ सय २३ जना सदस्य सङ्ख्या रहेकोमा आगामी पाँच वर्षमा एक हजार ९० जना पुर्याउने , हाल एक करोड ३९ हजार १० रुपिया बचत रहेकोमा ३ करोड ४५ लाख ४८ हजार ९ सय ३६ रुपिया पुर्याउने सहकारीको लक्ष्य रहेको अध्यक्ष होमनाथ घिमीरे बताउँछन् । उनका अनुसार हाल ११ लाख ३९ हजार ५ सय ५० रुपिया शेयरपुजी रहेकोमा २८ लाख पुर्याउने , हाल एक करोड ६१ लाख ५४ हजार ४ सय ७२ रुपिया ऋण लगानी रहेकोमा लगानी ऋण वृद्दि गर्दै ४ करोड ७९ लाख २७ हजार एक सय ४१ रुपिया पुर्याउने सहकारीको पञ्चवर्षिय व्यवसायिक योजनामा समेटिएको छ । हाल सहकारीको कारोबार एक करोड ७४ लाख ४२ हजार ९ सय ५६ रहेकोमा ५ करोड ८१ लाख ११ हजार ७ सय ९३ रुपिया पुर्याउने लक्ष्य लिइएको अध्यक्ष घिमीरेले जानकारी दिए । सहकारीसंग हाल बचत तथा ऋण नीतिमात्र रहेकोमा आगामी पाँच वर्षमा सहकारी सञ्चालनका लागि आवश्यक सबै नीति निर्माण गरिसक्ने योजना तयार पारेर कार्यान्वयनमा सहकारी अघि बढिरहेको पाइएको छ ।

बकैया १० मन्थलीस्थित सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थामा हाल एक सय ८५ जना सदस्य रहेकोमा ६ सय ६२ जना पुर्याउने, हाल बचत ६ लाख ६८ हजार ९ सय ६० रुपिया रहेकोमा ६२ लाख ७ हजार ४ सय ९३ रुपिया पुर्याउने पञ्चवर्षिय योजनामा समेटिएको छ । सहकारीमा हाल शेयरपुजी एक लाख पाँच सय रहेकोमा १६ लाख ४५ हजार रुपिया पुर्याउने, हाल ७ लाख ५० हजार रुपिया ऋण लगानी रहेकोमा ८० लाख २७ हजार ३ सय ३८ रुपिया पुर्याउने, हाल ९ लाख ८६ हजार ८ सय ९० रुपिया कारोबार रहेकोमा ९४ लाख ९९ हजार ६९ रुपिया पुर्याउने आफूहरुको लक्ष्य रहेको सहकारीका अध्यक्ष रुक्मिणी खड्काले जानकारी दिइन्।

यस्तै, बकैया १२, ठिङ्गनमा रहेको आदर्श महिला बचत तथा ऋण सहकारी संस्थाले आगामी पाँच वर्षमा सहकारीलाई अघि बढाउन आवश्यक व्यवसायिक योजना बनाएको छ । हाल सहकारीमा ६ सय २३ जना सदस्य रहेकोमा आगामी पाँच वर्षमा एक हजार ६ सय २५ जना पुर्याउने, हाल ५७ लाख ६२ हजार ४ सय ३ रुपिया बचत रकम रहेकोमा २ करोड ६७ लाख ८९ हजार ९ सय ५९ रुपिया पुर्याउने, हाल शेयरपुजी १० लाख ४७ हजार ३ सय रुपिया रहेकोमा २५ लाख रुपिया पुर्याउने, हाल ऋण लगानी ५७ लाख ३१ हजार ९ सय ५९ हजार रुपिया रहेकोमा ३ करोड ३० लाख ५७ हजार ४० रुपिया पुर्याउने, हाल ९७ लाख ११ हजार ३ सय २९ रुपिया कारोबार गरिरहेकोमा ३ करोड ९० लाख ४७ हजार २ सय ७९ रुपिया कारोबार गर्ने सहकारीको योजना छ । हाल बचत तथा ऋण, धितो मूल्याङ्कन, कर्मचारी नीति र पञ्चवर्षिय योजना रहेकोमा सहकारी व्यवस्थित तथा पारदर्शी रुपमा सञ्चालनका लागि आवश्यक सबै प्रकारका नीति आगामी पाँच वर्षभित्र निर्माण गरी कार्यान्वयनमा ल्याउने सहकारीको योजना छ । सहकारीका अध्यक्ष सीता घले सहकारी व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक विभिन्न नीति तथा योजना बनाएर कार्यान्वयन गर्दा सहकारीको लक्ष्य अनुसार अघि बढ्न सहज हुने बताउँछिन् ।

सहकारीलाई विभिन्न तालिम प्रदान, नीति निर्माण गर्न सहजीकरण गर्दै पञ्चवर्षिय व्यवसायिक योजना निर्माण गरिएको मर्सिकोर नेपालका वरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले बताए । सहकारीलाई विभिन्न आवश्यक सहजीकरण गर्दै व्यवसायिक रुपमा अघि बढ्नका लागि सघाउ पुर्याउने मकवानपुरको बकैया गाउँपालिकामा सर्भ परियोजना सञ्चालन भइरहेको उनले जानकारी दिए ।

परियोजना सञ्चालन गरिरहेको बाल कल्याण समाज मकवानपुरका सर्भ परियोजना संयोजक रामप्रसाद दहालका अनुसार सहकारीको पञ्चवर्षिय व्यवसायिक योजना निर्माणका लागि सहकारी सञ्चालक तथा व्यवस्थापकका लागि चार दिनको तालिमसमेत प्रदान गरिएको थियो । ‘आफ्नै हिसाबमा सञ्चालन भइरहेका सहकारीलाई आवश्यक नीति निर्माण गर्दै योजनाबद्द रुपमा अघि बढ्नका लागि सघाउ पुर्याउन परियोजना सञ्चालन भइरहेको छ ।’ संयोजक दहाल भन्छन्,‘विगत लामो समयदेखि सञ्चालन भइरहेका सहकारीसंग आवश्यक नीति तथा योजना नहुँदा कुहिरोको काग जस्तै भइरहेका सहकारी अब व्यवस्थित रुपमा अघि बढ्ने अभ्यासमा लाग्दा हामीलाई पनि खुशी लागेको छ ।’
व्यवसायिक योजना निर्माण गर्न सहयोग गरिएका सहकारीमार्फत बकैयाको गाउँगाउँमा वित्तिय साक्षरता, पाँच वटा विद्यालयमा अध्ययनरत युवाहरुका लागि वित्तिय साक्षरता कक्षा पनि सञ्चालन भइरहेको छ । साक्षरता कार्यक्रममा सहभागी भएकाहरु सहकारीमा आबद्द हुदै व्यवसायिक योजना बनाउने, आर्थिक आम्दानी गर्ने, बचत गर्ने कार्यमा लागिपरिरहेका छन् ।

सहकारीसंग सहकार्य गर्दै सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षाका साथै सहकारीलाई आवश्यक सहयोग, भूकम्पको जोखिम वर्गमा परेका ४० घरधुरीलाई घर निर्माणका लागि ५० हजार रुपिया नगद सहयोग, विभिन्न कृषक समूहमा आबद्द कृषकका लागि जीविकोपार्जन सहयोग, विपद व्यवस्थापनका लागि तटबन्ध, कृषि उपज सङ्कलन केन्द्र निर्माण लगायतका कार्यक्रम परियोजना मार्फत गाउँपालिकामा सञ्चालन भइरहेको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*