यात्रा संस्मरण : सिक्किमको महँगो तरकारी!
गान्तोक (सिक्किम)- भारतको २२औं राज्यको दर्जा पाएको सिक्किम पुग्न हतार थियो। सात जना पत्रकारहरू सिक्किम हेर्न लालायित थियौं । भारतमा विलय भएको ४३ वर्षमा सिक्किममा भएको विकास हेर्ने कौतुहल हामीलाई थियो।
जनकपुरबाट ७ भदौ बिहानै हाम्रो यात्रा शुरु भयो । र, साँझ इलामको लोकप्रियस्थल फिक्कल पुग्यौं । राति फिक्कल बास बसेका हामीलाई नजिकै रहेको दार्जिलिङभन्दा बढी सिक्किमकै बारेमा उत्सुकता थियो । र, कुराकानी शुरु भयो फिक्कलका बास बसेको होटेल भिन्तुनामा काम गर्ने केही भाइहरूसँग ।
उनीहरूले सिक्किमबारे धेरै कुरा सुनाए । र, भने, ‘तपाईंहरूले सिक्किम प्रवेश गर्न सरकारी परिचयपत्र बोकेकै हुनुपर्छ । परिचयपत्र हेरेर मात्रै प्रवेश दिइन्छ ।’ शायद उनीहरूलाई हामी त्यस विषयमा जानकार नभएजस्तो लाग्यो । त्यसअघि नै त्यसबारे जानकारी भएकाले यात्रा शुरु गर्नुअघि नै आ–आफ्ना नागरिकता झोलामा हालिसकेका थियौं ।
८ भदौ बिहानै उठेर आफ्नो गन्तव्य सिक्किमतर्फ सोझियौं । इलामको भारत सीमावर्ती पशुपतिनगरतर्फ बढ्दै गर्दा बाटोमा हुस्सु र बादलले हामीलाई चुनौती दिइरहेका थिए । जनकपुरको ४१ डिग्री सेल्सियसको गर्मी छाडेर सुन्दर हिलस्टेसनमा पुगेका हामीमा पहाडी यात्रा तथा हुस्सुले रोमाञ्चक अनुभूति दिलाइरहेका थिए । अनि, हामीबीच बहस शुरु भयो, आफ्नै मुलुकको भूगोलबारे । केही किलोमिटर तल झापाको चारआलीमा प्रचण्ड गर्मी तर यहाँ पशुपतिनगर पुग्न हुस्सु र कुहिरो ! ‘गज्जबको देश हाम्रो,’ एक साथीले रोमाञ्चक अनुभूति सुनाए ।
तराईमा भदौ महिना चर्को गर्मीको मौसम हो । तर, केही किलोमिटर माथिको पशुपतिनगरमा त्यसको छनकसम्म थिएन।
पशुपतिनगरबाट एक भारतीय नम्बरप्लेटको गाडी भाडा लिइसकेपछि शुरु भयो, हाम्रो सिक्किम यात्रा । र, साथ दिए गाडी चालक भाइ प्रवीण राईले । हेर्दा ठिटो देखिने प्रवीणसँग सिक्किमबारे राम्रो अनुभव रहेछ । यात्राका क्रममा उनले आफूसँग भएका धेरै जानकारी हामीलाई दिए । करिब डेढ घण्टाको यात्रापछि हामी ‘पहाडकी रानी’ उपनाम पाएको दार्जिलिङमा थियौं ।
केही साथीले दार्जिलिङमै बास बसेर भोलिपल्ट मात्र सिक्किम जाने विचार राखे । तर, अधिकांश साथी सिक्किम पुग्ने पक्षमा देखिए । टोलीको बहुमत सिक्किमकै पक्षमा जुट्यो ।
दार्जिलिङबाट केही पर पुगेपछि चालक भाइ प्रवीणले टिस्टा हुँदै सिक्किम पुग्नुपर्ने बताए । उनको भनाइ भुईंमा खस्न नपाउँदै हामी हुरुक्कै भयौं । र, सम्झियौं पूर्वमा टिष्टा अनि पश्चिममा काँगडा हाम्रा पुर्खाले चढाइ गरेको विशाल नेपाल । सुगौली सन्धि नहुँदो हो त हामी पुग्दै गरेको टिष्टा नदीसम्म अहिले पनि नेपाल नै हुँदो हो । अनि, हाम्रा लागि अर्को मुलुकको यात्रा गरिरहेको अनुभूति नहुँदो हो ।
चारैतिर पहाड, टिस्टा नदीको छेवैमा अवस्थित टिस्टा बजार पुग्दा नेपालकै भूमिमा पुगेसरी अनुभव भयो, हामीलाई । केहीबेर टिस्टा नदीको पुलमा उभिएर चारैतर्फ नियालिसकेपछि हामी पुनः बढ्यौं, सिक्किमतर्फ ।
टिष्टाबाट करिब अढाइ घण्टा मोटर गुडेपछि ठूलो फलामे पुलले हामीलाई स्वागत गर्यो । त्यहाँ हरियो रंगको बोर्डमा ‘वेलकम टु सिक्किम’ लेखिएको संकेत टाँगिएको थियो । र, हामीले थाहा पायौं, अब पश्चिमबंगाल सकेर सिक्किम शुरु हुँदैछ । त्यो ठाउँ थियो सिक्किमको रङ्पु ।
पुल कटेर चालक प्रवीणले गाडी रोके । र, भने, ‘दाइ अब हामीले यहाँ पास बनाउनुपर्छ।’ भारतको अन्य कुनै राज्य पुग्दा यस्तो व्यवस्था भएको पाएका थिएनौं । सिक्किममा भने सिक्किम अझै छुट्टै मुलुक त होइन भन्ने भान हुने गरी पास बनाउनुपर्ने रहेछ ।
सुरक्षा व्यवस्था कडा थियो, त्यहाँ । पुल कटेर सिक्किम प्रवेश गर्ने हरेक गाडीलाई सघनताका साथ जाँच गरिरहेका थिए, त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले ।
हामीलाई सिक्किम प्रवेशद्वारको तस्बिर खिच्ने इच्छा जाग्यो । तर, सुरक्षा संवेदनशीलताका कारण मनाही त गरिएको छैन भन्ने प्रश्न मनमा जाग्यो । हामीले एक जना सुरक्षाकर्मीलाई नेपाली भाषामै सोध्यौं, ‘दाइ फोटो खिच्न पाइन्छर?’ उनको जवाफ थियो, ‘मज्जाले जति खिचे पनि हुन्छ ।’
ती सुरक्षाकर्मीले नेपाली भाषामै जवाफ फर्काएपछि हामीलाई सहज महशुस भयो। किनभने, दुवैले बोल्ने भाषा एकै थियो, नेपाली । पुलछेउमा झुण्ड्याइएको एक बोर्डमा उल्लेख भएअनुसार हामी नेपाली नागरिकलाई सिक्किम प्रवेश गर्न जति सहज छ, चीन, म्यानमार, पाकिस्तान र नाइजेरियाका नागरिकलाई त्यति सजिलो रहेनछ ।
बोर्डमा लेखिएको थियो, ‘यी चार देशका नागरिकलाई भारत सरकारको स्वीकृतिबिना सिक्किम प्रवेशमा रोक लगाइएको छ ।’ अर्थात् ती मुलुकका नागरिकले सिक्किम प्रवेश गर्न केन्द्र सरकारको अनुमति लिनुपर्ने रहेछ । त्यसको कारण भने खुलाइएको थिएन, बोर्डमा । विदेशी नागरिकले प्रवेश अनुमति लिनुपर्ने रङ्पुस्थित कार्यालयमा नागरिकता देखाउँदै हामीले पायौं, सिक्किम प्रवेशको अनुमति ।
के भन्छन् सिक्किमका नागरिक ?
रङ्पुबाट केहीबेरको यात्रापछि सिक्किमको राजधानी गान्तोकभन्दा केही वरै ‘मरतम’ भन्ने ठाउँमा चिया खान हाम्रो गाडी रोकियो । सडकछेउमै जस्ताको सानो छाप्रो बनाएर चिया पसल खोलेर बसेकी रहिछन्, सन्तु विश्वकर्मा । पहिलो पटक सिक्किम पुगेका हामीलाई त्यहाँको विकास, नागरिकको सन्तुष्टि, असन्तुष्टिलगायत विषयमा जान्ने कौतुहलता थियो ।
हामीले सन्तुलाई सोध्यौं, ‘भारतमा विलय भइसकेपछि यहाँका नागरिकहरू अहिले के सोच्दैछन् ?’ उनले फर्काएको जवाफले हामीलाई आश्चर्यचकित बनायो । उनले भनिन्, ‘भारतमा विलय भएको ४२-४३ वर्ष भइसकेको छ । अहिले हामीलाई यहाँ केही समस्या छैन । सिक्किमको पवन चाम्लिङ सरकारले आफ्ना नागरिकको अधिकतम ख्याल राखेका छन् ।’
१५ वर्षदेखि लगातार सिक्किम डेमोक्रेटिक फ्रन्टबाट निर्वाचित भएर मुख्यमन्त्री रहेका चाम्लिङले यहाँको विकास र आर्थिक उन्नतिका लागि राम्रै काम गरेको उनको भनाइ थियो ।
‘विद्यालय तहदेखि उच्च शिक्षा अध्ययन गर्न सरकारले व्यवस्था गरिदिएको छ,’ सन्तुले थपिन्, ‘सिक्किमका नागरिकले उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति नपाए निजी विश्वविद्यालयले २५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था सरकारले गरिदिएको छ । औषधि उपचार करिब–करिब निःशुल्क नै छ । सरकारी विद्यालयको पढाइ पनि राम्रो छ ।’
गान्तोक पुगिसकेपछि त्यहाँका ट्याक्सी ड्राइभर, पसलेदेखि होटेल सञ्चालक सबैसँग हाम्रो उस्तै जिज्ञासा थियो । र, चियापसले सन्तुजस्तै उनीहरूको जवाफ पनि ।
सुनिन्छन् विरोधका स्वरहरू पनि
विकास र आर्थिक समृद्धि हासिल गर्न सिक्किममा पवन चाम्लिङ नेतृत्वको सरकारले राम्रै फड्को मारेको छ । रोजगारीको ज्यादै समस्या छैन, त्यहाँ । झन् केन्द्र सरकारको वार्षिक १२ सय करोड अनुदानले राज्य सरकारलाई धेरै हदसम्म सहुलियत प्रदान गरेको रहेछ ।
करिब आठ लाख जनसंख्या रहेको सिक्किमको आफ्नै विश्वविद्यालय छ भने ३०÷३५ ठुला उद्योगहरू छन् । चाउचाउदेखि बियर र मदिरा सिक्किमले आफैं उत्पादन गर्छ । पर्यटन मुख्य व्यवसाय छँदैछ । मोटरसाइकलभन्दा बढी चारपांग्रे गाडी गुड्ने सिक्किममा सरकारले करमा भारी छुट दिएको छ ।
गान्तोकमा भारतकै अन्य राज्यका भाडाका सवारी साधन सञ्चालनमा रोक लगाइएको रहेछ । गान्तोकलगायत त्यस क्षेत्रका अन्य पर्यटकीयस्थल पुग्न सिक्किमकै गाडी प्रयोग गर्नुपर्ने बाध्यता रहेछ । स्थानीय ट्याक्सी चालकहरूलाई रोजगारी र आय आर्जनका लागि राज्य सरकारले यस्तो व्यवस्था गरेको रहेछ ।
चर्चित अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका अनुसार सिक्किम सन् २००४ यता भारतको सबैभन्दा तीव्र गतिमा विकसित भइरहेको राज्य हो । हिमालयको काखमा बसेको सिक्किमले वार्षिक १२.६ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ ।
अधिकांश आफ्नै उत्पादनमा जोड दिने सिक्किम सरकारका लागि अहिले तरकारीको सकस देखिन्छ । दैनिक उपभोग्य अन्य सामग्रीको तुलनामा तरकारी चार गुणासम्म महँगो छ, त्यहाँ । यसअघि अन्य राज्यबाट आयात गरिने तरकारीलाई सिक्किम सरकारले गत जनवरीदेखि प्रतिबन्ध लगाएको छ ।
बाहिरबाट आयात गरिने तरकारीहरू विषादीयुक्त हुने गरेकाले अर्गानिक खेतीलाई प्रोत्साहित गर्ने उद्देश्यले त्यहाँको सरकारले यस्तो निर्णय गरेको छ । तर, तरकारीको मूल्यवृद्धिका कारण मुख्यमन्त्री चाम्लिङलाई पनि समस्या पर्ने सक्ने त्यहाँका नागरिकहरू बताउँछन् ।
अन्य सबै कुरा चाम्लिङ सरकारले राम्रै गरे पनि तरकारीको सम्बन्धमा गरेको निर्णय नागरिकहित विपरित रहेको गान्तोकका बासिन्दाको ठम्याइ छ । शायद यही कारण यसअघि विपक्षी दल नदेखिने सिक्किममा विस्तारै अन्य दलहरूको प्रभाव बढ्दो छ ।
विशेष छ एमजी रोड
गान्तोक पुगेर महात्मा गान्धी (एमजी रोड) नपुग्नु सिक्किम नपुगेझैं मानिन्छ । एमजी रोडमा सवारी साधनको प्रवेश पूर्ण रूपले प्रतिबन्धित छ । सडकको दुईतर्फ पसल र बजार तथा बीचमा त्यहाँ पुगेकाहरूलाई विश्राम गर्न निर्माण गरिएका बेन्चहरूले युरोपेली शैलीको आभाष दिन्छ ।
बजारमा जडान गरिएका हरेक बिजुलीका पोलमा झुण्ड्याइएको स्पिकरमा मधुरो स्वरमा बज्ने पुराना हिन्दी गीतहरूले आनन्दको माहोल बनाएको हुन्छ, त्यहाँ ।
यस्तो छ इतिहास
६ अप्रिल १९७५ राजा चोग्याल आफ्नो दरबारमा बसिरहेका बेला करिब पाँच हजारको संख्यामा पुगेका भारतीय सैनिकले घेरा हालेका थिए । राजदरबारमा खटिएका दुई सय ४३ सुरक्षाकर्मीलाई भारतीय सेनाले आधा घण्टाभित्रै नियन्त्रणमा लिएको थियो । त्यसदिन १२ बजेर ४५ मिनट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भयो । चोग्यालले रेडियोमार्फत् यसको सूचना विश्वलाई दिएका थिए । त्यसपछि उनलाई दरबारभित्रै नजरबन्दमा राखियो ।
दिल्ली नगरका तत्कालीन आयुक्त बीएस दासलाई भारतको विदेश मन्त्रालयले सिक्किम सरकारको जिम्मेवारी सम्हाल्न गान्तोक पठायो । सिलीगुडीबाट हेलिकोप्टर चढेर गान्तोक पुगेका दासलाई स्वागत गर्न चोग्यालका विरोधी काजी लेन्डुज दोर्जी, सिक्किमका मुख्यसचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि पुगेका थिए ।
दाससँगको भेटमा चोग्यालले भनेका थिए, ‘सिक्किम तपाईंहरूले कब्जा गर्नुभएको गोवाजस्तै हो भन्ने भ्रममा नरहनुहोला । हामी एक स्वतन्त्र, सम्प्रभुसत्तासम्पन्न देश हौं, तपाईंले हाम्रो संविधान अनुसार काम गर्नुपर्छ ।’
सिक्किमलाई भारतमा विलय गराउन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र दासको मुख्य भूमिका थियो । दासले चोग्याललाई एउटा पत्र दिएका थिए, जसमा भनिएको थियो, ‘तपाईंको राजवंशले निरन्तरता पाउनेछ, तपाईंका छोरा उत्तराधिकारी बन्नेछन् तर त्यसका लागि तपाईंले आफू संरक्षित रहेको स्वीकार गर्नुपर्नेछ ।’
तर, चोग्यालको जवाफ थियो, ‘मेरो देश स्वतन्त्र देश हो र यसलाई म छाड्दिनँ ।’ ३० जुन १९७४ मा चोग्यालले गान्धीलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरेका थिए । उनी सिक्किमको पृथक पहिचानसँग कहिल्यै सम्झौता गर्न तयार भएनन् । अहिले पनि त्यहाँका धेरैजसो नागरिक आफूलाई भारतीयभन्दा बढी सिक्किमेली भनाउन रुचाउँछन् ।
एक दिनको सिक्किम बसाइपछि फर्किने क्रममा हामी पत्रकार साथीहरूबीच गाडीमै छलफल शुरु भयो, सिक्किमको विकास सम्बन्धमा । पछिल्लो १०÷१५ वर्षभित्र विकासको क्षेत्रमा सिक्किमले फड्को मार्न सक्छ भने हाम्रो देश र यहाँका प्रदेशहरूले किन सक्दैनन् भन्ने संवादमा जुट्यौं, हामी । र, निष्कर्ष एउटा मात्र थियो, राज्यले इच्छाशक्ति देखाउनुपर्छ, विकास र समृद्धि आफैं आउन सक्छ ।