भीमफेदी गाउँपालिकाको नमूनालायक कार्य, १०८ परिवार चेपाङको स्वास्थ्य बीमा

अध्यक्ष हिदम लामा भन्छन्,‘बिरामी परे अब ढ्याङ्ग्रो ठोक्ने होइन, अस्पताल जाने ।’
लोकखबर
२० असार २०७६, शुक्रबार १७:३६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले चेपाङ् समुदायका नागरिको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
गाउँपालिकामा रहेका १०८ घरधुरीका ५०५ जना जनाको स्वास्थ्य बीमा गरिएको हो । आज भीमफेदी २, भैसेमा आयोजित कार्यक्रममा चेपाङलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गरियो ।

गाउँपालिका अध्यक्ष हिदम लामा ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले आर्थिक रुपमा अति विपन्न चेपाङ अब पैसा नभएर उपचार नपाई मर्नु नपर्ने बताए । ‘चेपाङ समुदाय आर्थिक विपन्नतामा बाँचिरहेका छन्, पैसा नभएकै कारण औषधी उपचार पनि नगरेक कारण उनीहरुले अकालमै ज्यान गुमाउनु परेको पीडा हामीबिच छ । ’ अध्यक्ष लामाले भने,‘चेपाङको पीडालाई हामीले साथ दिएका हौं ।’ गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य बीमाबाट अब बिरामी परेमा निःशुल्क उपचार पाउँने भएकाले यो सुविधा लिनका लागि उनले चेपाङ्लाई आग्रह गरे । ‘हामीले उपलब्ध गराएको बीमा सहयोगका कारण राज्यबाट उपचारका लागि प्राप्त हुने आर्थिक सहायताको अब तपाईहरुले भरपुर उपयोग गर्नुहोला ।’ अध्यक्ष लामाले स्वास्थ्य बीमा परिचयपत्र बुझ्न भेला भएका चेपाङ समुदायलाई सम्बोधन गरे । उनले अब चेपाङ पछाडी नपरी शिक्षा, स्वास्थ्य, रोजगारीमा अग्रसर हुनुपर्नेमा जोड दिए । ‘हामीले स्वास्थ्य बीमा गर्नु भनेको स्वास्थ्य सुविधामार्फत आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् भन्ने एउटा सन्देश दिन पनि खाजेको हौं ।’ लामाले भने,‘अब चेपाङ समुदाय अघि बढ्यो, हरेक क्षेत्रमा अघि बढ्दै आफ्नो जीवनशैली सुधार गर्नपर्‍यो ।’ अहिले पनि अविश्वास तथा अन्धविश्वासका कारण चेपाङ पछाडी परिरहेको अध्यक्ष लामाले बताए । ‘बिरामी परेमा अब ढ्याङ्ग्रो ठोक्ने होइन, अस्पताल लैजानुपर्‍यो, उपचार गर्नुपर्‍यो ।’ अध्यक्ष लामाले भने,‘ आफ्ना बालबालिकालाई विद्यालय पठाउँनुपर्‍यो, गिठ्ठा भ्याकुर खाएर बस्ने होइन, जिवीकोपार्जनमा सुधार आउँनुपर्‍यो ।’

गाउँपालिका उपाध्यक्ष पार्वती रानाले स्वास्थ्य सुविधाबाट चेपाङ समुदाय पछाडी परिरहेकाले आफूहरु कसरी उनीहरुलाई स्वास्थ्य सेवा दिन सकिएला भन्ने छलफल गरी स्वास्थ्य बीमा गराउँने निर्णयमा पुगेको बताइन् । गाउँपालिकाको लक्षित वर्गमा गर्नुपर्ने कार्यक्रम अन्तर्गत चेपाङ समुदायका नागरिकका लागि निशुल्क स्वास्थ्य बीमाको सुविधा ल्याइएको बताइन् । ‘ चेपाङ समुदाय सामाजिक, आर्थिक, राजनीतिक रुपमा पछाडी परेको छ । ’ उनले भनिन्, ‘ अब हरेक रुपमा यो समुदायको पहुँच पुग्नुपर्‍यो । ’ गाउँपालिकाले अहिले सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिएकाले यस्ता विभिन्न कार्य गरिएको उपाध्यक्ष रानाले बताइन् ।‘अब चेपाङ समुदायका नागरिकलाई हात धुन, ट्वाइलेट प्रयोग गर्नुस् भन्नु नपरोश । ’ उनले भनिन्, ‘उहाँहरुमा सचेतना आउँनुपर्‍यो । यसका लागि गाउँपालिकाले निर्वाह गर्नुपर्ने भूमिकामा हामी लागिपर्नेछौं ।’

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पार्वती राना

मिडियामार्फत चेपाङ् समुदायका विभिन्न पाटा उजागर गरेका पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले विगतका तुलनामा विकास भइरहेको चेपाङ समुदायका लागि गाउँपालिकाले चालेको कदमको प्रशंसा गरे । भने, ‘पहिले ओडारमा बस्ने चेपाङको जीवनशैली अहिले धेरै परिवर्तन भएको छ । तर जुन रुपमा विकास भएको हुनुपर्ने हो,त्यति हुन भने अझै सकेको छैन ।’ कलिलै उमेरमा विवाह गरी बच्चा जन्माइहाल्ने, युवा अवस्थामा विभिन्न रोगको शिकार हुनुपर्ने यथार्थता चेपाङमा भएको पत्रकार विष्टले बताए । ‘बाह्र-तेह्र वर्षको उमेरमा विवाह गर्‍यो, बाइस-तेइस बर्षको उमेरमा वृद्घाजस्तो भइसक्छन् । अनि विभिन्न रोगले छोइ अकालमै ज्यान गुमाउनुपरेको घटना छन् । ’ पत्रकार विष्टले भने, ‘आर्थिक अभावकै कारण उपचार नपाएर मर्नु नपरोश भनेर गाउँपालिकाले ल्याएको चेपाङको स्वास्थ बीमा कार्यक्रम अरु कसैले नगरेको काम हो ।’ चेपाङ रहेका मकवानपुरको मनहरी, काँकडा, हाडीखोला, राक्सिराङ लगायतमा यस्ता खालका कार्यक्रम गर्नु प्रभावकारी हुने पत्रकार विष्टले बताए । गाउँपालिकाले लोपोन्मुख जातिको संरक्षणका लागि गरेको कार्य उदाहरणीय रहेको भन्दै यसलाई निरन्तरता दिन विष्टले आग्रह गरे । उनले चेपाङमाथि श्रमशोषण समेत भइरहेकाले भीमफेदी गाउँपालिकाको पहलमा समान कामका लागि समान ज्याला दिलाउँन पनि सुझाव दिए ।

भीमफेदी ९ का अध्यक्ष प्रकाश पुडासैनीले चेपाङ समुदायका हकहितका पक्षमा आफूहरु लागिपर्न विभिन्न योजना बनाइरहेको बताए । ‘विभिन्न चरणको छलफलबाट अहिले स्वास्थ्य बीमा कार्यक्रम ल्याइयो, अब चेपाङ सङ्ग्राहलय बनाउँने योजनामा हामी छौं ।’ अध्यक्ष पुडासैनीले आफ्नो योजना सुनाए ।

यस्तै, भीमफेदी ९ का विजय चेपाङले गाउँपालिकाका जनप्रतिनिधीको पहलमा आफूहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम आउँदा खुशी लागेको बताए । ‘गाउँपालिकाले हामीलाई भात व्यवस्था गरेको छ, अब कसरी खाने भन्ने जान्नुपर्ने हामीले हो ।’ उनले खुशी व्यक्त गरे,‘ हाम्रा जनप्रतिनिधी हाम्रो हितका पक्षमा लाग्दा खुशी छौं ।’

चेपाङ् ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा परिचयपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामा

गाउँपालिकाले चेपाङको अवस्थाबारे तथ्याङ्क सङ्कलन समेत गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

आगामी भदौबाट लागू हुने गरी गरिएको बीमाका लागि गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गरेको हो । बीमा परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काशीराम बज्यु, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पालिकाका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछाने लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*