लोकखबर सम्पादकीय

 बाढी पहिरोको पीडा र मकवानपुर

लोकखबर
२९ असार २०७६, आईतवार ०१:०२

अविरल वर्षापछिको बाढी तथा पहिरोको कारण मकवानपुरको थाहानगर, इन्द्रसरोबर र कैलाश गाउँपालिकामा गरी ३ जनाको ज्यान गयो । निरन्तर पानी परेका कारण मकवानपुरका कति ठाउँका खोला बढे, कति ठाउँमा पहिरो गयो । शुक्रबार रातीसम्म परेको पानी शनिबार विहानबाट रोकिएपछि केही सहज भएको छ । मकवानपुरको हेटौंडा, थाहा नगरका साथै जिल्लाका विभिन्न गाउँपालिमा बाढी पहिरोका भएको क्षतिको पीडा छ । हेटौंडाको शान्तिनगरमा बस्ती डुब्यो, भीमफेदी गाउँपालिकाको बस्ती पहिरोको जोखिममा रहेका कारण मानिसलाई उद्दार गर्नुपर्‍यो । देशमा ठूलो मात्रामा क्षति भइरँहेको तुलनामा मकवानपुरमा ठूलो क्षति होइन तर पनि पीडा कम्ता छैन । कहिले रापती खोला उर्लेर पुल नै बगाउँने भयो भन्ने त्रास, कहिले खोलाले बगायो, कहिले पहिरोले पुरियो भन्ने त्रास यी विभिन्न त्रास भइरह्यो निरन्तर वर्षाका बेलामा । जनधनको क्षति हुन नदिनका लागि मकवानपुरमा जुन प्रकारको सक्रियता सम्बन्धित पक्षबाट अपनाइयो त्यसको भने पक्कै खुलेर प्रंशंसा गर्नुपर्छ । हेटौंडा उपमहानगरपालिका प्रहरीको सहायतामा हेटौंडामा उद्दारमा खटियो, भीमफेदी गाउँपालिका पनि पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न लागिपर्‍यो । जिल्लाका अन्य तहका जन प्रतिनिधी विपत्तिबाट नागरिकलाई सचेत,सुरक्षित राख्ने सवालमा जुन चिन्ताका साथ लागिपरे सराहनीय छ । विपत्तिमा एकले अर्कालाई साथ दिइन्छ र दिनुपर्छ भन्ने सन्देश सबैतिर प्रवाह भयो ।

बाढी पहिरोका कारण सडक अवरुद्घ हुँदा सर्वधारणलाई आवत जावतमा समस्या पर्‍यो । हेटौंडा-काठमाडौं जाने बाटो अवरुद्द हुँदा सर्वसाधारणको दैनिकीमा समस्या भयो । ग्रामीण क्षेत्रका सडक बाढी तथा पहिरोका कारण अवरुद्द हुँदा बजार आवत जावत गर्ने सर्वसाधरणको दैनिकीमा प्रभाव पार्‍यो । अवरुद्द बनेको बाटो खुलाउँनका लागि काम भइरहेको छ । केही दिन अझै लाग्नसक्छ, पहिरोले पुर्‍याएको क्षति सहजै निर्माण गर्न सकिने अवस्था पनि हुन्न । पूर्वि क्षेत्र राइगाउँमा बस खोलामा फसेको दृश्यले मन सिरिङ्ग भएको थियो । यस्तो अवस्थामा खोला पूर्ण रुपमा सुक्नुपर्‍यो, अवरुद्द सडक पूर्ण रुपमा सुचारु हुनुपर्‍यो । अनिमात्र नागरिक पूरानै दैनिकीमा फर्कनसक्ने अवस्थामा आइपुग्ने छन् । मकवानपुरमा डुबानको त्यस्तो खासै असर छैन । तर तराई-मधेशमा बाढी र डुबानका कारण कतिपय मानिस विस्थापित हुनुपरेको पीडा थोरै छैन । सवारी आवागमनमा बाधा पुगेकाले दैनिक जनजीवन प्रभावित हुन पुगेकाको लागि कस्तो सहयोग गर्न सकिन्छ आफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता छ ।

बाढी पहिरोबाट ज्यान गुमाउँनेका लागि राहत दिने निर्णय त प्रदेश ३ सरकारले गरेको छ । तर राहत दिँदैमा पीडितको पीडा साम्य हुने होइन । देशको वास्तविक पीडा तबसम्म रहन्छ, जबसम्म विपत्ति जोखिम कार्य हुदैन । बस्ती व्यवस्थापनमा ध्यान नदिइनु, सडक क्षेत्र, भौतिक विकास क्षेत्र आदि नतोकिएकाले जथाभावि बसोबास गर्ने गरिएको कारण पनि यो पीडायी विपत्ति हामीले सहनु परेको हो । प्राकृतिक विपत्तिका कारण नागरिकको दैनिकी कष्टकर हुँदा आगामी दिनमा यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा सम्बन्धित निकायले साँँच्चै आवश्यक कदम चाल्नेबारे बहस हुनुपर्दछ । कसैले चाहेर पनि पानी, बाढी, पहिरो रोक्न सकिन्न । प्राकृतिक प्रकोप कसैको चाहनामा चल्ने कुरा होइन । अनि विपत्ति बाजा बजाएर आउँदैन पनि भनिन्छ । यति कुरा सामान्य नागरिकलाई थाहा छ भने देश हाँक्नेलाई थाहा नहुने कुरै भएन । सरकारले यस्ता प्राकृतिक प्रकोपको जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नु आवश्यक भइसकेको छ । प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने विषय सरकारको प्राथमिकताको विषयमा पर्दछ । कार्यक्रम बनाएर राखेरमात्र पनि हुँदैन । त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न सकिदैन भने त्यस्ता कार्यक्रम बनाउँनुको अर्थ पनि हुदैन । सरकारले मात्र बुझेर पनि पनि आम सर्वसाधारणले पनि विपत्तिबाट बच्नका लागि सचेतना अपनाउँने देखि आवश्यक सबै तयारीबारे जानकार हुनुपर्छ ।

      

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*