विप्लवको कार्यकर्ता भन्दै पक्राउ गरेको आरोप

लोकखबर
३ श्रावण २०७६, शुक्रबार २१:५२

मकवानपुर । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(नेकपा) को गतिविधिलाई प्रतिबन्ध लगाएपछि मकवानपुरबाट विप्लव कार्यकर्ता भन्दै पक्राउ गरिएको आरोप लगाइएको छ । पक्राउ परेकाको परिवार विप्लवको कुनै गतिविधीमा संलग्न नभएको भन्दै मिडियामा आएर रुवाबासी गर्नु परिरहेको अवस्था मकवानपुरमा छ । आफन्त विप्लव गतिविधीमा संलग्न नभएको भन्दै मिडियामा आउँने, प्रहरी धमाधम पक्रने यो दोहोरी मकवानपुरमा चलेको छ ।

विहीबार मात्र पनि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ का शम्सेर घिसिङका परिवारले मिडियामा आएर विनाकारण विप्लवको कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरी कारवाही प्रकृया अघि बढाएको आरोप लगाए । हेटौंडाको न्यूज क्लवमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका घिसिङका आफन्तले उनी विप्लव गतिविधिमा संलग्न नभएको बताए । गत असार ११ गते बकैया ४ बाट विप्लव नेतृत्वको युवा संघको अध्यक्ष भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तर घिसिङका श्रीमति सलिना स्याङ्तानले आफ्नो पति विप्लव गतिविधिमा नलागेको बताइन् । आफू गाउँमै व्यवसायमा गरेर बसेकाले श्रीमान नहुँदा घर सञ्चालनमा समस्या भएको सलिनाले बताइन् ।

‘श्रीमान वैदेशिक रोजगारमा जाने तयारी गरिरहेको अवस्थामा एक्कासी पक्राउ गरियो । ’ सलिनाले भनिन्, ‘विना कारण श्रीमान् पक्राउ पर्दा घरव्यवहार मिलाउँन अहिले धेरै गाह्रो भएको छ ।’ प्रहरीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रीमान्लाई पक्राउ गरेर आफूहरुलाई दुःख दिएको उनको गुनासो छ ।

पक्राउ परेका शमशेरका दाई रामबहादुले भाई नौ वर्ष विदेश बसेर आएको व्यक्तिलाई विप्लवको पाटीको कार्यकर्ताको आरोप लगाएर पक्राउ गरिएको बताए । ‘त्यति लामो समय विदेश बसेर आएर फेरी जाने तयारीमा रहेको मान्छे कसरी विप्लवको कार्यकर्ता हुन्छ ?’ उनले प्रश्न गरे ।
शमशेरका श्रीमती तथा दाईले काम गरी खाने मान्छेलाई प्रहरीले सुख नदिएको आरोप लगाए । निर्दोषलाई पक्राउ गरेकाले निवासर्त रिहाई गर्नुपर्ने माग परिवारको छ । मकवानपुरमा पनि यसअघि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भन्दै पक्राउ गरिएकाको आफन्त यसैगरी मिडियामा आएर प्रहरीले विना कारण पक्राउ गरेको आरोप लगाएका थिए ।

विप्लवको पार्टीमा लागेको भन्दै पक्राउ गरेको भन्दै आफन्तले पत्रकार सम्मेलन गरिरहने र अर्कोतर्फ प्रहरीले विभिन्न व्यक्ति समातेर ल्याउँने क्रम केही समय अघिदेखि चलिरहेको छ । खासमा प्रहरीबाट के भइरहेको छ भन्नेमा चासोको विषय बनेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*