वडा अध्यक्ष राजेश बानियासंग अन्तरवार्ता : वडामा आवश्यक सबै ठाउँमा सडक पुर्‍याउँन लागिपर्नेछु ।

‘बर्षाका बेलामा हुने डुबानको समस्या समाधान गरिनेछ ।’
लोकखबर
२५ श्रावण २०७६, शनिबार १६:०६

राजेश बानिया, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हुन् । वि.सं.२०४९ सालमा काङ्ग्रेसको सदस्यता लिएका बानिया जन प्रतिनिधी भएको दुई वर्षको अवधिमा वडामा विकास निर्माणका कार्य साथै नागरिकलाई सेवा प्रवाह गर्ने कार्यमा लागिपरेको बताउँछन् । आफ्नो वडामा सडक, शिक्षा, स्वास्थ्यका लागि विशेष प्राथमिकता दिएको उनी दाबी गर्छन् । बानियाले व्यक्तिगत रुपमा पिप्लेस्थित बालज्योति माविमा १७ लाख रुपिया लागतमा तीन कोठे विद्यालय भवन निर्माण गरिदिएर होस् वा राइटोलका ६८ परिवारको स्वास्थ्य बीमा गरिदिएर स्थानीयको मन जितेका छन् । आर्थिक अभावकै कारण विद्यालय जानबाट बञ्चित हुन परेका बालबालिकालाई व्यक्तिगत सहयोगमा विद्यालयमा अध्ययनको व्यवस्था समेत मिलाएका बानिया एक सफल व्यवसायी पनि हुन् । वडा अध्यक्ष बानियासंग वडाको विकास निर्माण, जन प्रतिनिधीका रुपमा भूमिका निर्वाह गरिरहँदाको असजिला, आगामी योजना लगायत विषयमा मध्यस्थता साप्ताहिक तथा लोकखबर डटकमका लागि शिव चौलागाईंले कुराकानी गरेका छन् ।

वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरु के के हुन् ?
वडा अध्यक्ष भइकन आफूले गरेको मुख्य काममा बाटोलाई सम्झन चाहान्छु । बाटो राजमार्ग, बजारसंग जोडिए पनि भित्री अधिकांश बाटोहरु हिलाम्मे, बर्षायाममा हिड्डुल गर्न पनि साह्रै गाह्रो हुने अवस्था छ । गाउँको गोरेटो जस्तो बाटो छ । यसलाई चरणबद्द हिसाबमा, हामीसंग भएका बजेट अनुकुल मिलाएर काम गर्दै आइरहेका छौं । स्वास्थ्य र शिक्षालाई हामी संगसंगै लगिरहेका छौँ । अर्को कुरा भनेको हिजो चुनावका बेलामा मैले जनताका घरदैलोमा जाँदा जुन खालका प्रतिबद्घताहरु व्यक्त गरेको थिए । मैले पाएको सेवा सुविधाबाट राइटोलका ६८ परिवारको स्वास्थ्य बीमा पनि गराएको छु ।

विशेषगरी जन प्रतिनिधीले सडक निर्माणलाई प्राथमिकतामा राखेको पाइन्छ । तपाईंले पनि आफ्नो वडामा सडक निर्माणलाई प्राथमिकता राखेको छु भन्नुभयो । वडामा कुन कुन सडक निर्माणका लागि प्राथमिकता दिनुभएको छ ?
हेटौंडाको वडा नम्बर ४ र ५ को बोर्डर जहाँ छ, हुप्रचौरको तलको बाटो आधा स्ल्याब ढलान भएको छ भने आधा बाटो कच्ची नै छ । मैले सडकका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर साबसंग पनि कुरा गर्दा उहाँले हरेक वडाको बोर्डर बाटोलाई नगरस्तरिय योजनाबाट सम्पन्न गराउँने भनिए अनुसार काम हुदैछ । अर्को शान्तिनगरको बाटो पनि निर्माण गर्ने योजना छ । कान्तिलोकपथ भएर मक्रान्चुली जाने बाटो जुन छ, यसलाई चौडा गराएर लैजादैछौं । वडाका अन्य दुई सय, तीन सय मिटरका भित्री बाटोहरु पनि छन् । त्यस्ता बाटोहरु चाँही टोल हेरेर प्राथमिकतामा राखेर निर्माण कार्य गर्दैछौं ।

वडामा शिक्षा, पर्यटन, स्वास्थ्यको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि चाँही तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
कान्तिलोकपथमा पर्ने माछा पोखरी एउटा पर्यटकीय स्थलका रुपमा विकास हुदै गइरहेको छ । अधिकांश मानिसहरु बेलुकाको समयमा त्यहाँ बजारबाट पनि जान्छन् । त्यसलाई अहिले लेकसाइड पनि भन्न थालिएको छ । यहाँ शुक्रबार र शनिबार भीडभाड हुने गर्दछ । धार्मिक पर्यटकीय हिसाबमा हेर्दा रुद्रेश्वर मन्दिर, दक्षिणकाली मन्दिर तथा गुम्बा पनि रहेका छन् । यसलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्दैै लैजानका लागि हामीले थुप्रै कामहरु पनि गरेका छौं । शिक्षाको सवालमा कुरा गर्नुपर्दा पिप्लेस्थित बालज्योति माविमा मेरो व्यक्तिगत प्रयासमा सत्र लाख रुपिया लागतमा एउटा विद्यालय भवन बनाइरहेको छु । म यसरी आफ्नो रुपमा विकास निर्माण, अन्य सहयोगात्मक रुपमा लागिपरेको छु । केही गरौं भनेर अरुलाई भन्छु तर जो लागिपर्नुं पर्ने हो उहाँहरु आफैं सक्रिय भइदिनु हुन्न । पार्टीगत राजनीतिका कारण पनि आशा अपेक्षा अनुसारका काम गर्न नसकिने रहेछ ।

भनेपछि, तपाईंलाई भित्री मनदेखि शिक्षा, स्वास्थ्य यस्ता क्षेत्रमा सहयोग गर्न मन लाग्दा पनि जसका लागि सहयोग चाहिएको हो उहाँहरु आफैं चाँही सक्रिय भइरहनुभएको छैन ?
अहँ छैन । व्यक्ति व्यक्तिमा स्वार्थको भावना भयो । यो स्वार्थको भावनाले त समाज विकास हुदैन । देशमा समृद्दिआउँदैन । समुदायमा गएर केही गरौं भन्दा हाम्रो मान्छे पर्दैन, यसमा नगरौं भन्ने खालका सोच पाइन्छ । यस्तो संस्कृति रह्यो भने हामीले सोचेको सिंहदरबार घरघरमा त आयो तर कागजी रुपम मात्र आउँछ ।

वडामा काम गर्न समस्या चाँही के के छन् ?
वडा कार्यालयमा आउँने सेवाग्राहीलाई कानून बमोजिमको सेवा दिने गर्छौं । वडा कार्यालयभित्र काम गर्नलाई चाँही केही पनि समस्या छैन । तर जब हामी टोलमा पुग्छौं समस्याहरु आउँछन् । केही योजना बोकेर गयो भने त्यही बढी राजनीति हुने गरेको छ । राम्रोसंग काम गर्न नदिने अवस्था छ । बाढीले ग्रसित बनाएको शान्तिनगर डुबान क्षेत्र हो । वर्षायाममा सिंचाईटोल देखि नडुबेको घरै हुँदैन । हिजो पो खेतीयोग्य जमीन थियो, आज वडा नम्बर ५ आवासीय क्षेत्र हब बनेको छ । बजार नजिक, शिक्षा, स्वास्थ्य सबै रुपमा विकास भइरहेकाले मानिसहरु बसोबासका लागि रुचाइरहेका छन् । तर बर्षाका बेलामा डुबानको समस्याबाट निकासका लागि केही काम गरौं भन्दा मतभेद आइरहेका छन् ।

तपाईं हिजो चुनावताका जनताको घरदैलोमा पुगेर भोट माग्दा गरेका वाचाहरु के-के पूरा गर्नुभयो ?
मेरो कार्यकालभरी काम गर्छु भनेर हिजोका दिनमा गरेको प्रतिबद्दताको करिब तीस प्रतिशत काम मैले गरिसकेको छु । हिजो चुनावी नाराका क्रममा बनाइएका केही योजना आवश्यकतै रहेनछ । वडामा केही योजनाहरु छन्, माछा प्लानमा तटबन्धन बाँध्ने, मिनी स्टेडियमका रुपमा विकास गर्ने, पूर्वी भेगका बसहरुका लागि पार्किङ् व्यवस्था गर्ने, प्रदेश सरकारले मन्त्रालय बनाउँने कुरा गरेको छ त्यसलाई पनि हामीले स्वागत गरेका छौं।

जन प्रतिनिधी भएर काम गर्दाका चुनौती, अप्ठ्यारा चाँही के के छन् ?
पहिला सबै मानिसका विषयमा जानकारी हुन्थ्यो । मानिसको जनसङ्ख्या पनि कमी थियो । अहिले अन्य जिल्लाबाट पनि बसाई सरी गरेर ५ नम्बर वडामा मानिहरु आइरहेका छन् । एउटै डर के भने हामीले सिफारिस गर्दा कतै गलत त हुदैन भन्ने लाग्छ । को मान्छे कस्तो छ भन्ने कुरा थाहा हुने पनि भएन । हामी डराउँनुपर्ने भनेको एउटा नागरिकताको सवालमा छ । अर्को नाता प्रमाणितको सवालमा छ । यी दुई वटा विषयमा चाँही कानूनमा नै व्यक्तिलाई मुद्दा लाग्ने व्यवस्था छ । अरुमा चाँही केही कमिकमजोरी भयो भने वडा अध्यक्ष पदलाई मुद्दा लाग्ने रहेछ । आज कसैले निवेदन दिएर आफ्नो लागि आवश्यक कागजी सिफारिस लगायत कार्य आजै हुनुपर्छ भन्ने छैन । स्थलगत सर्जिमिन बुझेर मात्र हामी सिफारिस गर्छौ । कसैले आएर कागजी रुपमा फसाउला कि भन्ने डर लाग्छ । काम गर्दा यी कुरामा हामी सचेत हुनुपर्ने देखिन्छ । अन्य चुनौती त्यस्तो केही छैन ।

कुराकानीको अन्त्यमा, तपाईं नेतृत्वको पाँच नम्बर वडालाई तपाईंंको कार्यकालमा कस्तो बनाउँने भिजन छ ?
वडा अध्यक्ष भएर वडालाई ठ्याक्कै यस्तै बनाउँने भन्ने त छैन । तर पाँच नम्बर वडालाई डुबानको समस्याबाट मुक्ति दिलाउँने गरी काम गर्दैछौं। डुबानको समस्याबाट कसरी उन्मुक्ति पाउँने भन्नेमा हामी लागिपरेका पनि छौं । सार्वजनिक ठाउँका कुलोहरु मिचिएको अवस्था पनि छ । यसलाई पर्खाल लगाएर व्यवस्थित गर्ने सोचमा छौं । समग्रमा वडामा मानिसलाई बसोबासका लागि उपयुक्त बनाउँने, बस्ती संरक्षण गराउँने, वडामा डुबानको समस्या समाधान गर्ने, वडामा शिक्षा, स्वास्थ्यमा विकास गर्ने योजना छ । हिजोका दिनमा नागरिकका बिचमा गरिएका प्रतिबद्दता आवश्यकता अनुसार योजनाबद्द रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने सोच छ । सबैको साथ सहयोग एवम् हौसला पनि भएमा जनताको अपेक्षा, मेरो सोच अनुसारका कार्य पूरा गर्न अवस्य पनि सकिन्छ भन्नेमा म विश्वस्त छु । आशा वडाको विकास, वडाका नागरिकको समृद्घिका लागि सरोकारवाला, वडाका नागरिक लगायत सबैबाट साथ सहयोग पाउँनेछु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*