आगामी सातादेखि मलेसियामा रोजगारी

लोकखबर
२६ भाद्र २०७६, बिहीबार १६:०५

मकवानपुर । बैदेशिक रोजगारीमा मलेसिया जान चाहानेका लागि खुशीको खबर छ । विगत १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आगामी साताबाट खुल्ला हुने भएको हो । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा सहमती भएको हो ।

गत वर्षको जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी र नेपालकातर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बैठक बसेको थियो । अब नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौता अनुसार नयाँ श्रम स्वीकृति जारी गरिने भएको छ ।

आगामी नोभेम्बरदेखि ८६ वटा स्वास्थ्य संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण गराउने दुई पक्षबीच सहमति भएको जनाइएको छ ।
गत वर्ष कात्तिकमा भएको समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनोटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १ सय २२ वटा संस्था छनोट गरी नामावली मलेसिया पठाएको थियो । तर, मलेसियाले यसअघि कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३८ वटा संस्थाबाटै स्वास्थ्य परीक्षण गराउन अडान राख्दै आएको थियो । यो सिन्डिकेट पनि तोडिएको छ ।

गत वर्ष कात्र्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौतामा कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको थियो । सोही अनुसार नेपालले कामदार पठाउन सहमति भएको छ ।
२०७५ सालको जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले गरेसँगै त्यहाँ श्रमिक जाने प्रक्रिया बन्द भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*