क्याम्पस भित्र राजनीतिक ज्याकेट लगाउन दिन्नः अनन्त पौडेल, अध्यक्ष, मकवानपुर वहुमुखी क्याम्पस

देवराज पन्त, संवाददाता/न्यूज २४ टिभी
२६ भाद्र २०७६, बिहीबार १६:३२

मकवानपुर जिल्लाको सबैभन्दा जेठो मकवानपुर बहुमुखी क्याम्पसको १४ औं क्याम्पस सभा गत भदौ २३ गते सम्पन्न भएको छ । क्याम्पसमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेका थिए । मुख्यमन्त्री भएपछि पौडेलले कार्यवाहक अध्यक्षका रुपमा पूर्व सभासद अनन्त पौडेललाई कार्यवाहक अध्यक्षका रुपमा सुम्पेका थिए । सभाले क्याम्पसका बर्तमान कार्यबाहक अध्यक्ष अनन्त पौडेललाई निर्विरोध अध्यक्षका रुपमा चयन गरेको छ ।

क्याम्पस विधान अनुसार १७ सदस्यीय सञ्चालक समितिमा ९ जना बाहेक अन्य सदस्यहरु जिल्लाका संघसंस्थाका प्रमुख तथा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । अध्यक्ष बाहेक बाँकी ८ जनाका लागि १४ जनाको उम्मेदवारी परेकाले आगामी २८ गते निर्वाचन हुने जनाईएको छ ।

मकवानपुरका पत्रकार, न्यूज २४ टिभीका संवाददाता देवराज पन्तले अध्यक्ष पौडेलसंग गरेको कुराकानी हामीले न्यूज २४ नेपाल डट टिभीबाट साभार गरेका छौं । 

सर्वप्रथम तपाईलाई बधाई छ ।

हार्दिक धन्यवाद ।

तपाई भन्दा बाहेक अध्यक्षको दाबेदार कोही भएनन्, त्यही भएर निर्विरोध हुनु भयो । निर्विरोध भएर पदमा पुगेपछि तानाशाही, आफ्नो विचार मात्रै लाद्न खोज्ने हुन्छ भनिन्छ नि ?

म तेस्तो मान्दिन, म आफूलाई सबैको सहयोगबाट अध्यक्ष भएको ठानेको छु । कसैले नसकेर, कोही प्रतिष्र्पर्धी नभएर म निर्विरोध भएको होईन । सबैले मेरो नेतृत्वमा क्याम्पस सञ्चालन गरौं भन्ने सर्वसम्मत र सहयोगबाट भएको हुँ । जहाँसम्म तानाशाही वा आफूलाई मन परेको मात्रै गर्ने कुरोछ, त्यस्तो त कदापि हुने छैन ।

तपाई कार्यवाहक अध्यक्ष भैसकेको व्यक्ति हुनुहुन्छ । पक्कै पनि अध्यक्षको भूमिका, चुनौती र समाधानको बारेमा जानकार नै हुनुहुन्छ । अब त अध्यक्ष नै भईसक्नु भयो । क्याम्पस व्यवस्थापन, विकास, शैक्षिक गुणस्तर जस्ता कार्यका लागि के के योजनाहरु छन् ?

हेर्नुस््, हामीसँग अहिले बग्रेल्ती समस्याहरु छन् । सबैभन्दा पहिलो त हामी आधुनिक शिक्षण सिकाईलाई व्यवस्थापन गर्छौं । हाल क्याम्पसको शैक्षिक गुणस्तर अब्बल भएकोमा अन्तर्राष्ट्रिय गुणस्तरको मापनमा सफल भएको छ, यसलाई निरन्तरता दिनु र अझ परिष्कृत गर्नु मेरो कार्यसूचीमा राखेको छु । हाल यो क्याम्पसमा जिल्ला बाहिरका विद्यार्थीहरुको समेत आकर्षण विन्दु बनेको छ । त्यतिमात्र नभइ यो सामुदायिक संस्था हो, यसको व्यवस्थापन सबैको सामुहिक निर्णयबाट सञ्चालन हुन्छ ।

अर्को कुरा हाम्रोमा आउने विद्यार्थीहरुमध्ये गरीब, पिछडिएका समुदाय, द्वन्दबाट पीडित परिवार, अपाङ्ग, दलित, किसानका सन्तानलाई सहुलियत रुपमा अध्ययन गराउनु सामुदायिक क्याम्पसको दायित्व भित्र पर्छ । क्याम्पसको आम्दानी विश्वविद्यालय अनुदान आयोगबाट आउने रकम बाहेक विद्यार्थी शुल्क मात्रै हो । जिल्लाका करीब ३० वटा क्याम्पसको विद्यार्थी शुल्क भन्दा हामी सस्तोमा अध्यापन गराईरहेका छौं । यो सबै व्यवस्थापन आफैमा चुनौती हो । म यसलाई व्यवस्थापन गर्छु । यसका साथै व्यवस्थापन मात्रै होईन यसपटक क्याम्पस प्रशासनको नेतृत्व पनि परिवर्तन हुँदैछ । अब क्याम्पसमा एउटा सक्षम र जागरुक टिम बन्दैछ । यसबाट पनि म आशावादी छु । क्याम्पसको व्यवस्थापनमा सकारात्मक परिवर्तन आउँछ ।

क्याम्पसको प्रशासन प्रमुख परिवर्तन हुने कुरो गर्नु भो, नयाँ अनुहार आउने हो कि ?

हो, नयाँ अनुहार नै आउने हो । अहिलेसम्म क्याम्पस भित्रैबाट सक्षम व्यक्ति आउने सम्मको छलफल भएको छ । बाहिरबाट ल्याउँदा उहाँलाई क्याम्पसको बारेमा बुझन पनि केही समय लाग्ने, फेरि त्यो क्याम्पसले आर्थिक रुपले धान्न सक्ने अवस्था पनि बनिसकेको छैन । क्याम्पस भित्रैबाट प्रशासन प्रमुख ल्याईएपनि नयाँ अनुहार आएपनि उहाँको कार्यशैलीलाई विचार गरेर मात्रै भोलि स्थायित्व गरी अघि बढ्ने सोचाई छ । काम गर्ने सन्दर्भमा म स्ट्रिक्ली छु ।

केही समय अघि मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने योजना भन्ने सुनिएको थियो । नयाँ व्यवस्थापनले के सोचेको छ ?

हामीले यो विषयमा त्रिविविलाई प्रतिवेदन पनि दिईसकेका छौं । एमबिए कक्षाको पाठ्यक्रम निर्माण गरेर डिनलाई बुझाएका छौं । त्यसै गरी बिई, एलएलबीको पाठ्यक्रमको तयारीमा छौं । एमएड, पाठ्यक्रम त प्रक्रियामै गैसकेको छ, सम्भवत आउँदो शैक्षिक सत्रबाट त्यो लागू हुन्छ । एमएस्सीको पनि तयारीमा छौं । यसरी पाँचसातबटा विषयको स्नातकोत्तर अध्यापन हुन लागे सकेपछि विश्वविद्यालयको आधार तयार हुन्छ । तर चुनौती कहाँ हो भने, त्यसको लागि दक्ष जनशक्तिको व्यवस्थापन चुनौती हो ।

विश्वविद्यालयको प्रमाणपत्र राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा बिकाऊ हुनु पर्छ । हुनत हामी दोश्रोपटक क्यूएई सर्टिफिकेट प्राप्त गरिसकेकाले प्राविधिक रुपमा हामी सक्षम छौं । तर हाम्रा प्रज्ञिकहरु, प्रोफेसरहरुले लेखेका जर्नलहरु, अनुसन्धानहरु विश्वमा कत्तिको भ्यालुएवल छन् त त्यो पनि हेर्नु पर्छ । हुनत यसका लागि हामीले अहिलेका प्राध्यापकलाई अध्ययन विदा सहित एमफिल, पिएचडी गर्न सुविधा दिएका पनि छौं । यो हाम्रो विश्वविद्यालयको अवधारणबाट नै आएको हो । अहिले त्रिविविले उपत्यका बाहिर बिबिएम र बिबिए अध्यापन गराउने सीमित क्याम्पसमा मकवानपुर क्याम्पस परेको छ । विविएम उत्तीर्ण विद्यार्थी त कोही पनि बेरोजगार छैनन् । यसरी उपत्यका बाहिर पनि राम्रो पढाई हुन्छ भन्ने मान्यतालाई बजबुत गराउन सक्यौं भो हामीले ठूलो सफलता प्राप्त गर्न सक्छौं ।

यति कुरा गरिरहँदा विश्वविद्यालयका लागि चाहिने प्रोफेसर, डाक्टर जनशक्ति जिल्लामा छन् त ? यसका लागि त पक्कै पनि जिल्ला बाहिरबाट ल्याउनु पर्ला नि ?

हो, त्यसका लागि आर्थिक श्रोत आवश्यक रहन्छ । त्यतिमात्रै कहाँ होर, थप भौतिक पूर्वाधार, जमीन, मानवसंशाधन सबैको आवश्यकता पर्छ । अहिलेको भौतिक पूर्वाधारले यसलाई थेग्न सक्दैन । यसका लागि हामीले प्रदेश सरकारलाई अनुरोध पनि गरिसकेका छौं । अबको सञ्चालक समितिले प्रदेश विश्वविद्यालयका लागि प्रस्तावना पेश गर्दैछ । प्रदेश विश्वविद्यालयको अवधारणालाई प्रदेश सरकारले नीतिगत निर्णय त गरेको छैन ।

केही समय अघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय त गरिसकेको पनि छ । २०३७ साल देखिको पुरानो यस बहुमुखी क्याम्पसलाई प्रदेश विश्वद्यिालयका रुपमा अघि बढाउन सके ज्यादै उपर्युक्त पनि हुन्थ्यो । प्रदेश सरकारले यति गर्न सके मानव श्रोत जुटाउन हामीलाई सजिलो हुने थियो । भारत मै पनि कतिपय प्रान्तहरुमा ४ हजार विद्यार्थी भएको क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने गरेको छ । उनीहरु आफै पाठ्यक्रम बनाएर अध्यापन गराउँछन् । बजारमा त्यहाँबाट उत्पादित जनशक्ति बजारमा बिक्री पनि भर्यरहेका छन् ।

तपाईको अबको ४ बर्षे कार्यकालमा क्याम्पसले कस्तो सकारात्मक विकास पाउँछ ?

हेर्नुस्, यो बहुमुखी क्याम्पस मूलत व्यवस्थापन क्याम्पस हो । त्यो भएता पनि हामीले मानविकी, विज्ञान जस्ता विषयमा पनि अध्यापन गराईरहेका छौं । मूलत व्यवस्थापन क्याम्पस भएकाले हामी सोही विषयका दक्ष जनशक्ति उत्पादनमा जोड दिन्छौं । उपत्यका बाहिरको क्याम्पसमा व्यवस्थापनका राम्रा विद्यार्थी उत्पादन हुने क्याम्पसमा दर्ज हुन चाहन्छौं । हुन त, अन्य विषयमा ध्यान नदिने भन्न खोजेको होईन, तर लक्ष्य किटान गर्नु पर्ने सन्दर्भमा व्यवस्थापन विषयलाई बढी ध्यान दिने छौं । यसैकुरालाई दृष्टिगत गरी एमबिएको पाठ्यक्रमको प्रस्तावना पेश पनि गरिसकेका छौं । हाम्रो चाहना व्यवस्थापन विषयको हब बनोस् भन्ने नै हो ।

केही समय अघि केही सञ्चारमाध्यममा क्याम्पस व्यवस्थापन, प्राध्यापकहरुको विषयमा विभिन्न टिकाटिप्पणी आएका थिए । यसलाई कसरी निराकरण गर्नुहुन्छ ?

हो, मलाई सबै थाहा छ । क्याम्पसको विषयमा सञ्चार माध्यममा आएका विषयले साच्चै नै म गम्भीर छु । आउनु हुदैनथ्यो । प्राध्यापक, कर्मचारीहरुले पनि क्याम्पसको विषयमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेको पनि देखेको छु । हामी अब यसलाई नियमन गर्छौं, अनुशासनको नीति नै बनाउँदै छौं ।

कोड अफ कण्डक्टमा बस्ने वातावरण मिलाउँछौं । शिक्षक, प्राध्यापकको नियुक्तिमा अपारदर्शी भयो, गलत ढङ्गले नियुक्ति गरियो, राजनीतिक चलखेल भयो भन्ने आरोप सहितको विषयमा पनि समाचार आएको छ । हेर्दै जानुस्, अब हामी यो टिप्पणी पूर्णरुपमा नआउने गराउँछौं । मेरो कुनै स्वार्थ छैन । सामाजिक सेवाको रुपमा लिएको छु यो जिम्मेवारीलाई मैले । आफैले पढेको क्याम्पस पनि हो । यसलाई राम्रो गर्नु मेरो पनि दायित्व हो नि । अर्को कुरो, सामुदायिकको मुख्य समस्या ३ वटा हुँदा रैछन् । पहिलो विद्यार्थीहरुले विश्वविद्यालयका आंगिक क्याम्पस सरह शुल्क तिर्न पाए हुन्थ्यो भन्ने हुँदो रैछ । दोश्रो, शिक्षक प्राध्यापकहरुको त्रिभुवन विश्वविद्यालले आफ्ना कर्मचारी, प्राध्यापकलाई दिने सबै सुविधा पाए हुन्थ्यो भन्ने चाहना हुँदो रैछ ।

अनि तेश्रो चाही अभिभावकको चाहना चाही नाम कहलिएका निजी क्याम्पसको सरहको रिजल्ट होस् भन्ने हुँदो रैछ । अब यो विषय आफैमा विरोधाभास् हुन्छन् । विद्यार्थी शुल्क बढाउन चाहदैन, शुल्क वृद्धि हुनासाथ आन्दोलन व्यहोर्नु पर्छ । क्याम्पसको आयश्रोत कमजोर भएकाले प्राध्यापकको इच्छा चाहेर पनि पूरा गर्न सकेका छैनौं, अभिभावकको चाहना बमोजिमको रिजल्ट दिन पनि चुनौती छ । सामुदायिक क्याम्पस भएकाले यहाँ विद्यार्थी संगठनले राजनैतिक गतिविधि गर्न पनि पाउँछ, विभिन्न राजनैतिक दलको भातृ संगठनले पनि आफ्नो राजनैतिक गतिविधि गरेका हुन्छन् । जुन कुरा निजी क्याम्पसमा गर्न छुट छैन । तर सामुदायिक क्याम्पसले सबै भोग्नु पर्छ, एक्लो निर्णय गर्नै सकिन्न । सबैको साथ समर्थन जुटाउनु आफैमा चुनौतीपूर्ण छ । तर, हामी मिलाएर लैजान्छौं ।

पछिल्लो समयमा सरकारले सामुदायिक शैक्षिक संस्थामा अध्यापन गराउनेको सन्तान पनि सामुदायिक संस्थामा नै अध्यापन गराउने नीति ल्याएको छ । क्याम्पसमा अध्यापन गराउने प्राध्यापक, कर्मचारीको छोराछोरीलाई पनि सोही क्याम्पसमा पढाउनु पर्छ भन्ने नीति नै ल्याउँदै छ, भन्ने सुनिन्छ नि ?

मैले अघि अनुशासनको विषयमा थोरै चर्चा पनि गरेको छु । हामी प्राध्यापक, कर्मचारीलाई नैतिक रुपमा पनि जिम्मेवार बनाउदै छौं । आफूले पढाउने शैक्षिक संस्थामा नपढाउनु भनेको सो संस्था प्रतिको अविश्वास भन्ने बुझिन्छ । त्यसैले, यसलाई हामी कोड अफ कण्डक्ट भित्र यो विषय राख्ने योजनामा छौं ।

सामुदायिक संस्थाको व्यवस्थापन पक्षमा विभिन्न राजनीतिक आस्था बोकेका व्यक्तिहरु हुन्छन् । सबैको आफ्नै सिद्धान्त, चाहना होलान् । मिलाएर लैजानु चुनौतीपूर्ण होला नि ?

पक्कै पनि हो । यस विषयमा म के भन्छु भने, क्याम्पस बाहिर आफ्नो आस्था अनुसारको कार्य गर्नुस् । त्यो पनि सामाजिक कार्य नै हो भन्ने मेरो बुझाई छ । तर क्याम्पस प्रवेश गर्दा राजनीतिक आस्थाको ज्याकेट बाहिरै फुकालेर प्रवेश गरौं । क्याम्पस भित्र प्राध्यापकको वृत्ति विकासमा, विद्यार्थीहरुको शैक्षिक उन्नतिको सवालमा राजनैतिक आस्थाको कारण कही कतै पक्षपात हुने छैन ।
यदि यसलाई हामी सबैले ध्यान नदिने हो भने, क्याम्पसमा गुट, उपगुट बन्न थाल्ने छन् । यसलाई निराकरण गर्न म पहिलो बैठकबाटै यस विषयलाई छलफलमा लैजाने योजनामा छु । विगतमा म हेटौंडा वडा नम्बर ९ को तत्कालिन प्रगति निमाविको व्यवस्थापनको अध्यक्ष भएको २३ बर्षे अनुभव छ र उच्च मावि भएपछि मैले समय दिन नसक्ने भउपछि आफैले छोडेको हुँ ।

मैले त्यहाँ पनि विद्यालयलाई राजनीति गर्ने थलो नबनाऊँ, राजनीति गर्ने थलो बाहिर प्रशस्तै छ भन्ने गरेको थिएँ । त्यसैले म भन्छु, हामी क्याम्पसमा विशुद्ध स्वयम् सेवकको रुपमा आएका हौं । क्याम्पस भित्र आईसकेपछि, हाम्रो आस्थाको केन्द्रबिन्दु क्याम्पस हो भन्ने हामी सबैले मनन् गर्नुपर्छ । यति गर्न मेरो नेतृत्वमा भरमग्दुर प्रयत्न गर्छु ।

अन्तमा क्याम्पस अध्यक्षको रुपमा मकवानपुरवासीलाई के सन्देश दिनु हुन्छ ?

हामी अहिले निजी क्याम्पसभन्दा ३ गुणा सस्तो शुल्कमा अध्यापन गराईरहेका छौं । अर्को कुरा हाम्रा प्रध्यापकहरु दक्ष छन् । क्याम्पसमा आईसकेपछि प्राध्यापकले दिएको मार्गनिर्देशनलाई क्याम्पस भित्र पालना गराउने हाम्रो अभिभारा हो । क्याम्पस बाहिर आफ्ना छोराछोरीको संगत कस्तो छ, के गरिरहेका छन् भन्ने ख्याल गरिदिने, बेलाबेलामा आफ्ना छोराछोरीको पढाईको सन्दर्भमा क्याम्पस आईदिन अनुरोध गर्दछु ।

म भन्छु, आर्थिक कारणले कुनै पनि विद्यार्थी अध्ययन गर्नबाट बञ्चित हुन नपरोस् । हामी त्यो हुन दिदैनौं । मकवानपुरवासीले योे क्याम्पसलाई शैक्षिक धरोहरका रुपमा अघि बढाउन पहल गरौं । क्याम्पस भित्रको शैक्षिक वातावरण मिलाउने हाम्रो जिम्मेवारी हो, बाहिरी वातावरण मिलाई दिने मकवानपुरबासीको हातमा छ । आफ्ना सन्ततिलाई सामुदायिक शैक्षिक संस्थामा पढाउन पहल गरौं । सबैको साथ र सहयोग भयो भने पक्कै पनि यसले राम्रो परिणाम ल्याउँछ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*