मकवानपुरगढीमा प्रभावकारी बन्दै टोल विकास संस्था

‘जन प्रतिनिधी र जनताबीचको सम्बन्ध विस्तारको माध्यम टोल विकास’
लोकखबर
१४ कार्तिक २०७६, बिहीबार १४:५७

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका टोल विकास संस्था समाज विकास तथा जागरणका लागि प्रभावकारी बनेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडामै गठन भएका विभिन्न टोल विकास संस्था स्थानीय विकास तथा सामाजिक जागरणको कार्यमा प्रभावकारी बनेका हुन् ।
मकवानपुरगढी वडा नम्बर ६, आमभञ्ज्याङ, घोप्टेबेशीमा रहेको नवदुर्गा टोल विकास संस्थाले समुदायमा विकास, सुशासनका लागि प्रभावकारी भूमिकामा सक्रिय छ । नवदुर्गा टोल विकासको प्रसंशनीय कार्यप्रति मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले खुशी व्यक्त गर्छन् । संस्थाको पहिलो वार्षिकोत्सवका अवससरमा कार्यक्रमका प्रमुख अतिथी रहेका अध्यक्ष हुमागाईंले स्थानीय विकास तथा जनसरोकारका कार्य गर्न टोल विकास संस्थाले आपसमा समन्वयको कार्य गरेको बताउँछन् । ‘टोल टोलका जनताका चाहना तथा आवश्यकता टोल विकासमा नेतृत्व गर्नेले बुझ्छन् र जनप्रतिनिधीसमक्ष आइपुग्छ ।’ अध्यक्ष हुमागाईंले भन्छन्, ‘सबै टोलमा जन प्रतिनिधी पुग्न नसकिरहेको

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं टोल विकास संस्थाको साधारणसभामा मन्तव्य व्यक्त गर्दै

अवस्थामा टोलका नागरिकसंग सम्बन्ध विस्तारका लागि टोल विकास संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । गाउँपालिकाले तय गरेको ‘मकवानपुरगढीको आधार ः शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ नारालाई सार्थकता दिनका लागि गाउँमा रहेका टोल विकास संस्थाले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् । विगतमा गाउँमा दुःखका बेला संघर्षले जीवन गुजारेकाहरु अहिले गाउँमा विकासको लहर आउँदा गाउँ छाड्न थालेको पाइएकाले यसतर्फ टोल विकास संस्था गाउँ बनाउँने अभियानमा लाग्नुपर्ने हुमागाईंको जोड छ । ‘हिजो बाटो, खानेपानी, बिजुलीको अभावमा दुःखदायी दैनिकी गुजारेकाहरु आज विकास भएको गाउँबाट शहरतिर बसाई सर्दैछन् । ’ हुमागाईं भन्छन्,‘आफ्नो गाउँमा आएको विकासको लहर हेरेर खुशी हुनुपर्ने बेलामा धमाधम गाउँ छाड्नेलाई गाउँमै अवसरको सम्भावना देखाउँने कार्यमा टोल विकास संस्थाले आफूलाई क्रियाशील राख्नुपर्छ ।’

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिका दहाल टोल विकास संस्थाको साधारणसभामा मन्तव्य राख्दै

गाउँपालिकामा कृषि, पर्यटन लगायतको राम्रो सम्भावना रहेकाले आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनी बताउँछन् ।
गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिका दहाल पनि स्थानीय सवालमा टोल विकास संस्थाको भूमिका उदाहरणीय भइरहेको बताउँछन् । ‘टोल टोलबाट माग भई आएका विभिन्न योजनामा हामीले बजेट विनियोजन गरी कार्यान्वयनमा लाग्ने गर्छौ । ’ वडा अध्यक्ष दहाल भन्छन्, ‘समग्रमा टोलको विकासका लागि आवश्यक कार्यमा टोल विकास संस्था हुनुपर्नेमा नवदुर्गा टोल विकास संस्थाले आफ्नो कार्य गरिरहेको छ ।’
टोल विकासको सिफरिसमा वडा कार्यालय तथा गाउँपालिकाका तर्फबाट स्थानीय नागरिकलाई स्वास्थ्य, शिक्षा, कृषि लगायत क्षेत्रमा आवश्यक सहयोग गर्ने गरिएको दहाल बताउँछन् । उनले वडामा अब खानेपानी र बिजुलीबत्ती अभाव नहुने बताउँछन् । नागरिकका दैनिक जन जीवन सहजताको बाटोमा लैजानका लागि टोल विकास संस्थाहरु प्रभावकारी माध्यम बनेको उनको भनाई छ ।
वार्षिक साधारणसभामा टोल विकास संस्थाका अध्यक्ष नकुलप्रसाद चौलागाईंले वार्षिक प्रगति तथा आयव्यय विवरण प्रस्तुत गर्दै संस्था स्थानीय विकास, सुशासन, पारदर्शीताका लागि क्रियाशील भइरहेको बताए । टोलका विभिन्न ५८ घरधुरीमध्ये टोल विकास संस्थामा ४४ घरधुरी आबद् रहेको बताउँदै अध्यक्ष चौलागाईले अरु घरपरिवारलाई पनि टोल विकासको सदस्य बनाउँने कार्यमा आफूहरु लागिपरेको जानकारी दिए । टोल विकासको पहलमा सिंचाईको आवश्यकता परिपूूर्तिका लागि दुई सय मिटर खानेपानी पाइप व्यवस्थापन, बिरामीलाई उपचारका लागि आर्थिक सहयोग संकलन तथा हस्तान्तरण, सदस्यलाई ऋण लगानी लगायतका कार्य टोल विकासले गरेको चौलागाईले बताए । आगामी दिनमा टोल विकासको आफ्नै भवन निर्माणको कार्य गर्नुपर्ने योजना सुनाउँदै उनले वडा तथा गाउँपालिकामा आवश्यक सहयोग गर्न आग्रह गरे । अहिले आमभञ्ज्याङको डुम्रेकुनामा गाउँघर क्लिनिक संचालन हुदै आएकाले स्थानीय रुपमै संचालन गर्न सकिए टोलबासीलाई टाढा जानुपर्ने बाध्यता टर्ने उनले बताए । संस्थामा आबद्द उत्कृष्ट कृषक, पशुपालक, घर आँगन सफा राख्ने, असल ऋणी, बालबालिकालाई नियमित विद्यालय पठाउने अभिभावक लगायत समाजमा उदाहरणीय कार्य गर्नेलाई सम्मान गर्ने योजना रहेको समेत उनले सुनाए ।
साधारणसभाका अवसरमा नियमित बचत गर्ने ज्येष्ठ सदस्य शेरबहादुर मुक्तान, कृष्णप्रसाद दाहाल र चन्द्रीमाया विकलाई प्रतिव्यक्ति नगद दुई सय रुपियाका दरले पुरस्कृत गरियो भने वडामा स्वास्थ्य क्षेत्रमा इमान्दारीपूवर्क कार्य गरेको भन्दै वडाकी स्वास्थ्य सहजकर्ता गंगा हुमागाईंलाई पनि सम्मान गरियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*