किन यस्तो भने मुख्यमन्त्री पौडेलले ?
मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल काठमाडौंमा आयोजित एक छलफलमा आफूले सोचे अनुसार काम गर्न नसकेको बताए ।
प्रदेश ३ को नीति तथा योजना आयोगले आयोजना गरेको छलफलमा उनले यत्तिबेलासम्म रकेट उडाई सक्नुपर्ने बेलामा भूईंमै थचारिनुपरेको दुःखेसो गरे ।
आफ्ना कारण भन्दा पनि अन्य कारणले आफूलाई काम गर्न समस्या परिरहेको उनको दाबी थियो । मुख्यमन्त्री पौडेलले व्यवस्था फेरिए पनि काम गर्ने शैली र प्रवृत्ति उस्तै रहेको आरोप लगाए । आफूले लक्ष्य अनुसार काम गर्न नसक्नुका पछाडी विभिन्न कानुनी र व्यावहारिक कठिनाइका रहेको बताए । ‘तीन सरकारका बिचमा आपसमा समन्वय नभएका कारण सोचे अनुसार काम हुन सकेन ।’
मुख्यमन्त्री पौडेलले संविधान कार्यान्वयनमा आएका समस्याका कारण पनि लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकिएको बताए । उनका अनुसार तीन तहका सरकारबीच समन्वयको अभावका कारण योजनामा डुप्लिकेशन हुँदा समस्या सिर्जना भएको छ । छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारले विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको पनि जानकारी दिए । उनका अनुसार २५ सय मिटर धावनमार्ग बन्नेगरी ४ सय ५२ विगाहा जग्गामा विमानस्थल निर्माणको अध्ययन भइरहेको हो । यस्तै, हेटौँडा – काठमाडौं सडक अन्तर्गत मकवानपुरको कुलेखानीमा सुरुङमार्ग निर्माण गर्नेप्रदेश सरकारको योजना रहेको बताए ।
मुख्यमन्त्री पौडेल विभिन्न कारण देखाएर काम गर्न नसकेको गुनासो गर्दै हिड्न थालेपछि कतिपयले काम गर्न नसक्दाको बेला सहानुभूती बटुल्न यसो गर्दै छन् भन्ने विश्लेषण गर्छन् । मकवानपुरको हेटौंडा निवासी मुख्यमन्त्री पौडेल हेटौंडालाई स्थायी राजधानी कायम गर्ने सवालमा जुन रुपमा लाग्नुपर्ने हो, सो बमोजिम नभइरहेको पनि विभिन्न गुनासो आइरहेका छन् । विकासका जानकारका रुपमा परिचय बनाएका पौडेलमाथि अनावश्यक कार्यमा समय दिएको भन्ने आलोचना आउने गरेको छ । महत्वपूर्ण कार्यका लागि समय दिनुपर्नेमा टोल, सहकारीका कार्यक्रममा सहभागी भएर रिबन काट्दै हिड्नु उपयुक्त नहुने सरोकारवाला बताउँछन् ।