राक्सिराङमा दुई करोड ५८ लाखमा विद्यालय भवन निर्माण

लोकखबर
३ मंसिर २०७६, मंगलवार १२:०७

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ दामराङस्थित दामराङ आधारभूत विद्यालयको भवनको पुनर्निर्माण सकिएपछि विद्यार्थीलाई अध्ययनमा सहज भएको छ ।
विसं। २०७२ को भूकम्पले विद्यालय भवन भत्केपछि नजिकैको विष्णुहरि चेपाङको पुरानो घर भाडामा लिएर पठनपाठनलाई निरन्तरता दिँदै आइएको थियो । राक्सिराङ गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय र दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय भवन पुनर्निर्माण गरेरका हुन् ।

२ करोड ५८ लाखको लागतमा निर्माण गरिएको नवनिर्मित भवन जर्मनीकी डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दिगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरेका थिए । नवनिर्मित भवनमा ८ वटा कक्षाकोठा छन् भने २ वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ । त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरी व्यवस्थित गएिको छ भने हरेक कक्षाकोठामा फर्निचर, ह्वाइटबोर्ड लगायतका सुविधा छन् । २ सय ६१ विद्यार्थी अध्ययनरत गर्ने विद्यालयमा ५ जना शिक्षक कार्यरत छन । तीनवटा दरबन्दीमध्ये २ जना मात्र शिक्षक कार्यरत छन । दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका लागि तीनटा शिक्षक राखिदिएको छ । ‘संस्थाले शिक्षकको व्यवस्था नगरिदिएको भए पढाउन कठिनाइ हुन्थ्यो,’ प्रअ ठाकुरले भने ।

शिशु कक्षादेखि ७ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ५ जनाबाहेक शतप्रतिशत चेपाङ समुदायका बालबालिका अध्ययन गर्छन् । उक्त गैरसरकारी संस्थाले राक्सिराङ गाउँपालिकाका ६,७ र ८ नम्वर वडामा चारवटा विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । एउटा निर्माणाधीन अवस्थामा छ । ‘राक्सिराङ गाउँपालिकाको ७ नम्बर वडाको टिकेढुंगा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अवस्था छ,’ कार्यक्रम संयोजक अञ्जनप्रसाद पौडेलले भने ।

निर्माण गरिएका विद्यालयका भवनहरू भूकम्परहित व्यवस्थित छन । चेपाङ बस्तीमा निर्माण गरिएका पाँचवटै भवनको लागत ६ करोड ७१ लाख रुपैयाँ रहेको छ । निर्माण सम्पन्न भइसकेका भवनहरू सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । संस्थाले राक्सिराङ गाउँपालिका–६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नम्बर ८ को जनज्योति आधारभूत विद्यालय, वडा नम्बर ६ को जनसेवा प्राथमिक विद्यालयको भूकम्परहित पक्की भवन निर्माण गरेर यसअघि नै हस्तान्तरण गरिसकेको गापा अध्यक्ष राजकुमार मल्लले बताए ।  कान्तिपुर दैनिकबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*