मुख्यमन्त्री पौडेलले गरे भीमफेदी-इपा सडक अनुगमन
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको भीमफेदेखि इपासम्मको सडक आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकलन गरेका छन् । मुख्यमन्त्री पौडेलले सडक अवलोकन गर्दै समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्न आग्रह पनि गरेका छन् ।
काठमाण्डौ जाने विकल्प बाटोका रुपमा यो सडकको विकास गरिने मुख्यमन्त्री पौडेलको भनाई छ । यो सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराए ।
सडक निर्माणका लागि २५ करोड ९९ लाख रुपैयाँको लागत लाग्ने अनुमान छ । सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । सडक निमार्ण भएपछि भीमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने तथा काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुन सक्नेछन् ।
सडक अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख विमलकिशोर केपी लगायतको सहभागिता थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८, इपामा पुगेका मुख्यमन्त्री पौडेलले वडा अध्यक्ष लगायत स्थानीयले स्वागत गरेका थिए । वडा अध्यक्ष नवराज अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख केपी, यातायात विकास निर्देशनालयका प्रमुख सहदेव भण्डारी, भीमफेदी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, भीमफेदी वडा नम्बर ५ का अध्यक्ष जहारसिंह लामा, वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, पंचकन्या विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारी, देउराली प्राविका प्रधानाध्यापक कुसुमकुमार दानी लगायतको आतिथ्यता थियो ।