पुनर्निर्माण

राक्सिराङ र कैलाशमा एकीकृत बस्ती निर्माण प्रकृया सुरु

प्राधिकरणद्वारा चार हजार ६ सय ४४ पुनःनिर्माण लाभग्राही थप
लोकखबर
१७ मंसिर २०७६, मंगलवार ०८:३२

मकवानपुर । मकवानपुरको दुई वटा गाउँपालिकामा एकीकृत बस्ती निर्माणका लागि प्रकृया अघि बढेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा बन्ने एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले मकवानपुरको यी दुई गाउँपालिकाका दश-दश भूकम्प प्रभावितलाई एकीकृत बस्तीमा राख्ने निर्णय गरेको हो ।

राक्सिराङ-५, चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरी गाउँपालिका- ६, जोगीतालमा एकीकृत बस्ती बसाल्दैछन् । कैशाल–१० को न्याम्सेढुंगाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ ।

यस्तै, प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुन : जाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको जनाएको छ । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ ।

यस्तै, ३५ हजार ७९ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । बाँकी गुनासोको शीघ्र विश्लेषण गरी नजिता निकाल्ने तयारीमा आफू रहेको पनि प्राधिकरणको भनाई छ । छुट तथा पुन:जाँच सर्वेक्षण अन्तर्गत दर्ता भएका बाँकी गुनासोको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका करीब ५० इञ्जिनीयरले विश्लेषण गरिरहेका छन् । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत ५० हजार प्राप्त गर्नेछन् ।

प्राधिकरणका अनुसार मकवानपुरमा जस्तै रसुवामा पनि एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*