भ्रष्टाचार विरुद्दको अन्तराष्ट्रिय दिवस

अख्तियार आतंकका कारण विकास निर्माणमा बाधा : मुख्यमन्त्री पौडेल

लोकखबर
२३ मंसिर २०७६, सोमबार १६:५१

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका कार्यमा अख्तियारले पत्र काट्नाले बाधा पुगेको बताएका छन् ।

आज (सोमबार) मकवानपुरको हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले भ्रष्टाचार विरुद्दको अन्तराष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले विकासमा भ्रष्टाचार भयो भन्दै पर्ने बेनामे उजुरीपछि अख्तियारले छानविनका लागि पत्र काट्दैमा काम गर्ने मान्छे डराउँनु नपर्ने बताए । अख्तियारमा उजुरी पर्दैमा गरिराखेको विकास निर्माणका काम छाड्नु नहुने पनि सुझाव दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरूण नेपाल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल,प्रदेश ३ का प्रमुख सचिव तोयम राय लगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।

अन्तरक्रियामा मकवानपुर जिल्लामा यस आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडामा भ्रष्टाचार सम्बन्धि एक सय ३३ वटा उजुरी परेको जानकारी दिइयो । यी उजुरी मध्ये ९८ वटा फर्छयौट हुन बाँकी रहेको पनि जनाइएको छ ।
आयोगको हेटौंडा कार्यालय अनुसार ११ जिल्ला मध्ये सबैभन्दा बढी बारा जिल्लाबाट २ सय ५५ वटा, दोश्रोमा पर्सा जिल्लाबाट १ सय ६५ र तेश्रोमा मकवानपुरबाट १ सय ३६ वटा उजुरी परेको छ । कार्तिक मसान्तसम्ममा प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्बन्धि सबैभन्दा बढी ४२ वटा उजुरी परेका छन् । संघीय मामिलातर्फ स्थानीय तहमा दुई सय ८४ वटा र स्थानीय तहकै शिक्षा क्षेत्रमा एक सय २४ वटा उजुरी परेको कार्यालयले जानकारी दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा भने सबैभन्दा कम अर्थात एउटा मात्र उजुरी परेको कार्यक्रममा कार्यालयले तथ्यांक प्रस्तुत गरेको छ ।

भ्रष्टाचार विरुद्दको दिवस अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीको अध्यक्षतामा मनाइएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*