कोगटे-धार्के-महभीर सडक निर्माणपछि स्थानीय खुशी
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा कागटे महभीर धार्के सडक निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ भीमफेदी गाउँपालिकाको ५० लाख रुपैया लागत तथा स्थानीयको जनश्रममा सात किलो मिटर मोटरबाटो निर्माण गरिएको हो ।
तीन किलो मिटर नयाँ ट्रयाक खोल्दै गाउँपालिकाको विकट भीमफेदी गाउँपालिका वडा नम्बर ८, महभिरको टोड्केचौरसम्म मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अधयक्ष विकास स्याङतानले जानकारी दिए ।
बाटो निर्माण भएपछि एक सय ३० घरधुरी लाभान्वित भएका छन् । लामो समयदेखि मोटरबाटो नहुँदा सास्ती झेल्न बाध्य बनिरहेकाहरु मोटरबाटो निर्माण गरेर गाउँमा गाडी चल्न थालेपछि खुशी भएका छन् । सडक निर्माण कार्यमा स्थानीयले सक्रियता पूर्वक सहभागिता पनि जनाए । बाटो निर्माण कार्यलाई निरन्तरता दिनका लागि स्थानीयले खोलादेखि पानी बोकेर बाटोमै टेन्ट टाँगेर बसेका समेत थिए ।
बाटो निर्माणका लागि स्थानीय कोदालो, साबेल, घन, पिक सहित उपस्थित भएर श्रमदान गरेका थिए ।
निर्माण गरिएको मोटरबाटो प्रदेश तथा गाउँपालिकाका तर्फबाट अनुगमन गरिएको छ । अनुगमन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले कोगटे–धार्के महभीर सडक भीमफेदी गाउँपालिकाकै नमूना बाटोका रुपमा निर्माण भएको बताए । मुख्यमन्त्री पौडेलले मोटरबाटोलाई धार्केचौकी भन्ज्याङ हुदै फास्टट्रयाक सम्म विस्तार गर्न प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षमा बजेट छुट्याउने प्रतिबद्दता समेत व्यक्त गरे ।
अनुगमनका क्रममा बाटो सम्पन्न हुदै गर्दा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, सूचना अधिकारी बद्री सापकोटा, इन्जिनियरहरु नवीन यादव र जयराम चौलागाईं लगायतको टोलीले बाटोको अनुगमन गरेको छ।
गाडी नहुँदा बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको थियो भने स्थानीयले उत्पादन गरेको तरकारी समेत बजार सवारी साधनको अभावमा गाउँमै खेर जाने अवस्था रहेको थियो ।
साविक इपापन्चकन्याको वडा नम्बर ४ र ५ मा बत्ति बाल्नका लागि अघिल्लो आर्थिक वर्षमा गएको ट्रान्समिटर इपागाउँमै राख्नुपरेकोमा अब सडक निर्माण पछि गाडीमार्फत लगेर चाँडै बत्ती बाल्ने तयारी गरिएको स्थानीयले बताए ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष लामाले चुनावका बेलामा जनताका बिचमा गरिएको वाचा पुरा गरेरै छाड्ने बताउँदै धार्के चौकी भन्ज्याङ हुदै फास्टट्रयाकसम्म जोड्ने सडकलाई क्रमैसंग निर्माण कार्य पूरा गर्ने प्रतिबद्दता जनाए ।
बाटो निर्माण गर्ने क्रममा भीमफेदीको छुरेधारमा मोटर बाटो पुग्दा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरका स्थानीयले बस्ती जोखिममा परेको भन्दै केही दिन अवरुद्द गरेका थिए । दुवै गाउँपालिकाका जनप्रतिनिधीको छलफलपछि स्थानीयलाई समस्या नपर्ने गरी सडक निर्माण गर्ने सहमति बनेपछि निर्माण कार्य अगाडी बढाउन सफल भइएको स्थानीय समाजसेवी किरण घलानले जानकारी दिए ।