भूकम्पले क्षति पुगेका मकवानपुरका ३४ हजारमध्ये पाँच हजार घर पुनर्निर्माण
मकवानपुर । भूकम्पले पूर्ण क्षति पुगेका हेटौंका ३४ हजार ३१९ घरमध्ये चार हजार ८१४ परिवारले घर निर्माण गरेका छन्।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका प्रमुख विमलकिशोर केपीका अनुसार कुल लाभग्राहीमध्ये २९ हजार ५०५ परिवारले प्रथम किस्ता बापतको रकम पाएका छन्। २३ हजार ४६६ परिवारले दोस्रो किस्ताको रकम पाएका छन्। त्यस्तै, १८ हजार ६०० परिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन्।
मकवानपुरमा लालपुर्जा नभएका भूकम्प पीडितहरु तीन हजार ६४३ रहेका छन्। जसमध्ये सबैभन्दा बढी एक हजार ८१९ घर बकैया गाउँपालिकामा रहेका छन्। सबैभन्दा कम दुई घर कैलाश गाउँपालिकामा रहेका छन्। भूमिमहीन लाभग्राहीहरु हेटौंडा उपमहानगरपालिकामा ४६६, थाहा नगरपालिकामा चार, इन्द्रसरोवरमा तीन, बागमतीमा २६२, भीमफेदीमा ६७, मकवानपुरगढीमा १८८, मनहरीमा ८०७ र राक्सिराङमा गाउँपालिकामा २५ जना रहेका छन्। भूमिहीन लाभग्राहीका लागि जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको सिफारिसमा साबिक कै स्थानमा घर बनाउने पाउने निर्णय गरेको छ। लालपुर्जा भएको जग्गा खरिद गर्न चाहनेले नेपाल सरकारबाट थप दुई लाख पाउने छन्। मकवानपुरमा भूकम्पपछि प्राविधिक पुग्नुअघि नै निर्माण भएका घरहरुको संख्या २३३ रहेको छ। जसमध्ये ५५ जनाले यस्तै भुक्तानी पाइसकेका छन्।
शैक्षिक क्षेत्रको भौतिक निर्माण अवसर
मकवानपुरका ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो। क्षति पुगेका कक्षा कोठाहरुको तीन वर्षदेखि तीनवटा मोडालिटीमा पुनर्निर्माणको कार्य अगाडि बढाइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका कार्यालय प्रमुख बद्री पाठकले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरी हालसम्म २५२ विद्यालयका ७९३ कक्षाकोठा निर्माणको अन्तिम चरणमा पुगेको पाठकले बताए।
यस्तै, जापान सरकारको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत ठेक्का सम्झौता भई ४१ विद्यालयका ४७२ कक्षाकोठा निर्माण कार्य भैरहेको उनले जानकारी दिए। पाठकका अनुसार यसरी निर्माण भएका विद्यालयमध्ये १८ वटा विद्यालय हस्तान्तरण भइसकेका छन्। त्यस्तै, गरी संघसंस्थाको तर्फबाट ३२ विद्यालयमा पुनर्निर्माण भइरहेका छन्।
मकवानपुर २०७२ बैशाखमा गएको भूकम्पबाट क्षत पुगेको १८ जिल्लामध्ये अति प्रभावित जिल्ला हो। उक्त भूकम्पमा परी मकवानपुरमा ३३ जनाले ज्यान गुमाएका थिए भने ७७१ जना घाइते भएका थिए। साथै, ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठ मन्दिरहरुमा क्षति पुगेको थियो। थाहाखबरबाट