आन्दोलित विद्यार्थीले गरे कोणसभा, शुल्क वृद्दि खारेज र अनावश्यक खर्च कटौती गर्न क्याम्पसलाई सुझाव

दोस्रो दिन पनि अनसन जारी
लोकखबर
२३ पुष २०७६, बुधबार ०९:२५

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा आन्दोलित विद्यार्थीहरुले आज क्याम्सपसमा कोणसभा गरेका छन् ।

विद्यार्थीहरुका माझ आयोजित सभामा बोल्दै आन्दोलित विद्यार्थी नेताहरुले क्याम्पसले मासिक शुल्कमा बढाएको ६५ प्रतिशत र भर्ना शुल्कमा बढाएको सय प्रतिशत शुल्क खारेज गर्न माग गरे ।

आन्दोलनमा रहेको स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसका उप सभापति शिशिर पराजुलीले क्याम्समा घाटामा गएको भन्दै विद्यार्थीको ढाड सेक्ने गरी शुल्क वृद्दि गर्नु न्यायोचित नहुने बताए । उनले शुल्क वृद्दि गरेर विद्यार्थीलाई भार थोपर्नुभन्दा क्याम्पसमा भइरहेको अनावश्यक खर्च रोक्न क्याम्पस प्रशासनलाई आग्रह गरे ।

यस्तै, स्ववियु सचिव आकाश अधिकारीले क्याम्पस संचालक समितिले गरेको निर्णय फिर्ता नलिए विद्यार्थीहरु सहेर नबस्ने चेतावनी दिए । गरीब विद्यार्थीसंग क्याम्पसको घाटा असुल्ने भन्दा अनियमित खर्च कटौती गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे ।

कोणसभामा अनेरास्ववियु मकवानपुरका नेता गिरिजा अधिकारीले क्याम्पस आफ्नै अक्षमताका कारण घाटामा गएको हुनसक्ने भन्दै विद्यार्थीसंग छलफल नगरी बढाइएको शुल्क अवैज्ञानिक भएको बताए ।

दोस्रो दिन पनि अनसन जारी
मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्दिलगायतका निर्णय फिर्ताको माग गर्दै मंगलबार हिजोबाट सुरु विद्यार्थीको अनसन आज बुधबार दोस्रो दिन पनि जारी छ ।

शुल्क वृद्दि फिर्ता तथा गुणस्तरिय शिक्षाको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । क्याम्पसमा स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशन बसेका छन् ।

आन्दोलित विद्यार्थी संगठनले क्याम्पसको प्रशासन शाखा, क्याम्पस संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र कर्मचारी कक्षमा ताला लगाइदिएका छन् ।

विद्यार्थीको हित विपरित संचालक समिति लागेको भन्दै निर्णय फिर्ता लिन दबाब दिन आन्दोलनमा उत्रिएका आफूहरुको मागबारे क्याम्पस प्रशासनका तर्फबाट कुनै ध्यान नदिइएको उनीहरुले गुनासो गरेका छन् ।

अनसनमा रहेका क्याम्पस स्ववियु सभापति कुमार केशीले आफूहरुको मागका विषयमा क्याम्पसका तर्फबाट कुनै चासो नलिइनु दुःखद भएको बताए । ‘हालसम्म क्याम्पस प्रशासनका तर्फबाट हाम्रो मागबारे कुनै ध्यान दिइएको छैन । ’ केसीले भने, ‘ विद्यार्थीको मागबारे क्याम्पस प्रशासनले ध्यान दिनैपर्छ ।’

विद्यार्थी आन्दोलनमा प्राध्यापक संघको समर्थन
क्याम्पस सञ्चालक समितिको बैठकले गरेको निर्णयमा क्याम्पस स्थित पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइले समर्थन जनाएको छ । प्राध्यापक संघले हिजो (मंगलबार) विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन आग्रह गरिसकेको छ । संघका अध्यक्ष भोजराज ढकालले क्याम्पस संचालक समितिको निर्णयले प्राध्यापकहरुको आत्मसम्मान माथि नै प्रहार गरेको जनाएका छन् ।
गतसाउन महिनादेखि रोकिएको अतिरिक्त पारिश्रमिकका सम्वन्धमा सञ्चालक समितिले गरेको निर्णय, विज्ञान संकायमा सैद्धान्तिक र प्रयोगात्मक कार्य गरे बापत प्रदान गरिने सुविधामा भएको निर्णय विभेदकारी रहेको ढकालले विज्ञप्तीमार्फत भनेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*