मकवानपुरगढीको ५ र ६ नम्बर वडालाई प्राङगारिक पकेट क्षेत्र घोषणा लगायतका योजना
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ आमभन्ज्याङमा रहेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक सहकारी संस्थाको विहीबार(आज) एघारौं वार्षिक साधारणसभा भएको छ ।
सहकारीका अध्यक्ष टिकाप्रसाद दहालको अध्यक्षता एवम् प्रदेश ३ भूमी व्यवस्था्, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा सहकारीको साधारणसभा भएको हो । सभामा कृषि तथा सहकारी मन्त्रालयका डा.योगेन्द्रकुमार कार्की, मकवानपुरगढी गाउँ पालिका अध्यक्ष विदुर हुमागार्इं, उपाध्यक्ष हर्कमाया रुम्बा, मकवानपुरगढी गाउँपालिकाका प्रमुख कार्यकारी प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आईतसिं लो, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, वडा नम्बर ४ का राम प्रसाद तिमल्सिना, वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, कार्यपालिका सदस्य चिनिमायां लुङ्वा, गाउँपािलका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, पशुसेवा शाखाका प्रमुख सत्यनारायण शाह लगायतको आतिथ्यता रहेको थियो ।
सभामा आइपीएम कृषक सहकारीका अध्यक्ष दहालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं.२०५३ सालमा एकीकृत तरकारी उत्पादक कृषक समूहका नाममा स्थापना गरिएको एउटा समूह सहकारीका रुपमा विकास गर्न पाउँदा खुशी लागेको बताए । अध्यक्ष दाहालले साधारणसभामा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को प्रगति समीक्षा गर्दै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्ययोजना प्रस्तुत गरे ।
उनका अनुसार आगामी आर्थिक वर्षमा आइपीएमले विदेशबाट फर्किएका र विदेश जान लागेका युवालाई स्वरोजगार बनाउँन वडा, गाउँपालिका, प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी कृषि, पशुपन्छी, घरेलु तथा साना उद्योग संचालन गर्न नीजि फर्म वा समूहगत रुपमा सहयोग गरिनेछ । यस्तै, सहकारीको कार्यक्षेत्रभित्र रहेको कृषक, कृषि समूह, कृषि फर्मलाई आइपीएम कृषक पाठशाला संचालन गरी बाली विरुवामा प्रयोग भइरहेको रासायनिक मललाई न्यूनिकरण गर्दै रासायनिक बिषादीलाई दुई वर्षभित्रमा वडा नम्बर ५ र ६ लाई प्रांगारिक पकेट क्षेत्र घोषणा गरिने योजना सहकारीले बनाएको छ ।
यस्तै, उत्पादित कृषि बजारको व्यवस्था मिलाउने, सहकारीको कार्यक्षेत्र भित्र पायक पर्ने स्थानमा विभिन्न बाली परीक्षण प्लटको स्थापना गरी विज्ञको सहयोगमा समय सुहाउँदो बाली लगाउँन सिफारिस गर्ने, बहु उपयोगी नर्सरी स्थापनाका लागि गाउँपालिका र प्रदेश सरकारसंग आवश्यक पहल गर्ने, महिलाको आय आर्जनका लागि च्याउ खेती, टपरी बुन्ने, जाम, चिप्स, सस, सिलाई कटाई, पशसपंक्षी पालनमा सघाउ गर्ने, किसान पुस्तकाल प्रभावकारी बनाउँन इन्टरनेट मार्फत खेतीका लागि विभिन्न प्रविधीबारे जानकारी गराउँने, सहकारीको शेयर तथा बचत कार्य खुल्ला राखेर नयाँ सदस्यका लागि न्यूनतम शेयर शुल्कबाट थप गर्दै किस्ता बन्दी १० शेयर खरिद गर्ने व्यवस्था मिलाउँने लगायतका वार्षिक कार्ययोजना साधारणसभाबाट पारित गरिएको छ ।