नेकपाका १६, राजपाको २ उम्मेद्वार विजयी, कांग्रेस ‘निल’
मकवानपुर । आज (विहीबार) भएको रिक्त राष्ट्रियसभाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि सम्पन्न निर्वाचनमा नेकपाका १६, राजपाका दुई उम्मेदवार विजयी भएका छन् भने कांग्रेसको उम्मेदवार विजयी हुन सकेनन् । यसअघि जितेको सात वटा सिट पनि कांग्रेसले गुमाएको छ ।
प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी निर्वाचित भएका छन् ।
प्रदेश–२ बाट नेकपाकी तुलसा दाहाल, राधेश्याम पासवान तथा राजपा नेपालका शेखर सिंह र मृगेन्द्र सिंह यादव निर्वाचित भएका छन् ।
बाग्मती प्रदेशबाट नेकपाका वेदुराम भुसाल र गंगा बेलबासे विजयी भएका छन् ।
गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् ।
प्रदेश नम्बर–५ बाट नेकपाकी विमला घिमिरे, नेकपाकै जगप्रसाद शर्मा र गोपाल भट्टराई निर्वाचत भएका छन् ।
कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट नेकपाकी शारदा भट्ट र तारामान स्वार निर्वा्चित भएका छन् ।
यस निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन ।
यसअघि जितेका सातओटा सिट पनि कांग्रेसले गुमाएको छ ।
निर्वाचन आयोगका अनुसार विहान १० बजेदेखि बेलुका ४ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो । जसमा सातओटै प्रदेश गरी करिब ९८ प्रतिशत मत खसेको जनाइएको छ ।
चुनावमा प्रदेशसभा सदस्यतर्फ ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाताले भोट हालेका थिए । प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको थियो ।