स्वास्थ्यचौकीको एम्बुलेन्समा गाँजा तस्करी
मकवानपुर । बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ । मकवानपुर प्रहरीले हिजो साँझ एम्बुलेन्स सहित गाँजा र चालक र गाँजा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गाँजा तस्करी हुँदैछ भन्ने सूचना पाएको प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय बसामाडी, नेवारपानी अगाडी पूर्व पश्चिम लोकमार्गमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा. २ झ १७४९ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
एम्बुलेन्सबाट प्रहरीले ३ वटा झोला भित्र ६ वटा पोकाहरूमा ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार नेपाली रुपैयाँ र दुई हजार २ सय भारतीय रुपैंया सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्स चालक रौतहट डुमरीया नगरपालिका वडा नम्बर ९ का ३९ वर्षिय महमद खलिद, एम्बुलेन्समा सवार रौतहट डुमरीया नगरपालिका वडा नम्बर ४ का १९ वर्षिय अशोक कुमार, भारत विहार मोतिहारी, बसन्तपुरका २२ वर्षिय विनोद सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, नेवारपानीबाट प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको नेतृत्वको टोलीले मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको जाँदै गरेको एम्बुलेन्सलाई चेकजाँच गर्दा गाँजा तथा नगद फेला पारेपछि तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिए ।
एम्बुलेन्स सहित पक्राउ परेकालाई आज (आइतबार) पत्रकार सम्मेलन मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो ।
लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार अवैध लागूऔषध ओसार पसारमा संलग्न भएकोमा २ वर्ष देखि १० वर्ष सम्म कैद र १५हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुनसक्ने कानूनी प्रावधान रहेको छ ।