प्रकाशकीय: दोस्रो वर्ष यात्राको संकल्प
गत वर्ष २०७५ साल माघ १६ गते अर्थात सहिद दिवसका अवसरमा मध्यस्थता मिडियाले प्रकाशन आरम्भ गरेको ‘लोकखबर डटकम’ आज पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको छ । यो एक वर्षका बिचमा लोकखबरले आफूलाई हुर्कदै अघि बढ्ने प्रयास गरेको छ । आम संचारको कार्य विशेषत : समाचार, विचार तथा मनोरन्जन प्रदान गर्ने हो । हामी यो कार्यमा कति सफल हुनसक्यौं, सकेनौं भन्ने पाटो हामीले पाठकलाई नै जाँन्च छाडेका छौं । एक वर्षे यात्राका क्रममा अनुभव गरेको कुरा के हो भने अनलाइन पत्रकारिताका नाममा ब्रेकिङ न्यूज दिएर पछि पुष्टाई दिने कार्य हामीले गरेनौं । पछिल्लो समय अनलाइनमा समाचार सम्प्रेषण गर्न हतारिएर पछि त्यो अपुष्ट हुने वा भ्रमपूर्ण सन्चार हुने काम भइरहेको भन्दै आलोचना भइरहेको बेला हामी त्यसो गर्ने छैनौं ।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै मनाइने सहिद दिवसका दिन हाम्रो यात्रा सुभारम्भ भएकाले पनि हामी समाज सुधारको काममा आफूलाई एउटा सानो सन्चारकर्ममा लागिपरेको ठान्छौं । यो कार्यमा हामी एक प्रकारले सफल पनि भएको महसुस गरेका छौं । समाजमा लुकेका र लुकाइएका ठूला ठूला इस्यु खोज्न हामीले ध्यान दिन सकेनौं, हाम्रो जनशक्तिले त्यस्ता सवालमा केन्द्रित हुन सकेनौं । तर समाजसुधार तथा सकारात्मक संचार कार्यमा हामीले आफ्नो पत्रकारिताको कर्मबाट बिचलित भएनौं । सकेसम्म आफैले तयार पारेका समाचार तथा विभिन्न विषयका अन्तरवार्ता प्रकाशित गर्न हामीले प्राथमिकता दियौं । अरु अनलाइनबाट साभार गर्ने तथा अन्त प्रकाशित भइसकेका जानकारी पाठकलाई दिएर अनलाइनपत्रकारिताबाट दिक्क बनाउँने सोच हामीमा आएन । यसैले पनि अनलाइनको भीडमा र्याङ्किङमा हामी अगाडी आउँन सकेनौं होला । तर, हामीले एक वर्षमा जे जति विषयवस्तु समेट्यौं । त्यो नै एक प्रकारले आफ्नो सफल कार्य भएको आफ्नो जन्मदिनमा हामीले अनुभूत गरेका छौं ।
यो बिचमा प्रदेश ३ को नाम राजधानी हेटौंडा र नाम बागमती कायम भयो । यस अर्थ, अब हामी बागमती प्रदेशको राजधानी हेटौंडाबाट संचालित अनलाइन पत्रिका हौं । प्रदेश राजधानीमा बसेर पत्रकारिता गर्नुपर्ने अवसर तथा चुनौती हामीसंग रहेका छन् । दोस्रो वर्ष प्रवेशका अवसरमा ठूला संकल्प अथवा योजना अघि सार्नुभन्दा ‘सकारात्मक सूचनाको संवाहक’का रुपमा आफ्नो यात्रालाई निरन्तरता दिने सोच हाम्रो टिमको छ । हाम्रो टिम पनि सानै छ । यस अर्थ ठूला इस्युमा हामी फड्को मार्छौ भनेर अपूरा वाचा गर्दैनौं । बरु सानो टिम सकेसम्म राम्रो गर्ने प्रयत्नमा केन्द्रित हुनेछौं । प्रदेश राजधानीका नागरिकका चाहाना, जिज्ञासाका सवालमा आवाज उठाउने तथा जनअभिरुचीका अन्य विविध विषयलाई समेट्ने कार्यमा हामी लाग्नेछौं । स्थानीय चासो, चिन्ता, विकास लगायत साझा सरोकारका सवालमा हामी सबैको साथमा रहनेछौं । हामीलाई माया गर्ने पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक सबैप्रति आभार व्यक्त गर्दछौं ।
अध्यक्ष तथा सम्पादक
शिवप्रसाद चौलागाईं
मध्यस्थता मिडिया प्रा.लि.