चार दिन पनि टिकेन नेकपाको संविधान संशोधन कार्यदल
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधनका लागि बनाएको कार्यदल खारेज गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो।
उक्त कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए।
नेता नेपालको कोटेश्वरस्थित घरमा कार्यदलको अनौपचारिक बैठक एकपटक मात्रै बसेको थियो। उक्त बैठकमा नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने गरी बनाइएको कार्यदलमा आफूहरू नबस्ने बताएका थिए।
नेकपाले गोप्य ढंगले उक्त कार्यदलले काम गर्ने बताए पनि सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर अमुक व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै विरोध भएको थियो।
बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दै संविधान संशोधनका लागि बनाएको कार्यदल निष्क्रिय बनाएको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिए।
‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘यसअघि बसेको सचिवालयले त्यसप्रकारको कार्यदल बनाएर अगाडि जानु उपर्युक्त हुने र छलफल गरी समझदारी बनेको तर संविधान संशोधन आवश्यकता अनुसार हुँदै जान सक्ने मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ। अहिले नै संविधान संशोधनको गृहकार्य गर्न कार्यदल अगाडि बढाउने औचित्य सचिवालयले देखेन।’सेतोपाटी डटकमबाट