बालबालिकाप्रति सकारात्मक अभिभावकको दायित्व
स्वभावैले बालबालिकाहरु चन्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरुले उनीहरुलाई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् । तर कतिपय अभिभावकहरु बालबालिकाको उक्त जिज्ञासालाई तनाव सम्झने र चर्को स्वरमा उनीहरुलाई हप्काउने पनि गरेको पाईन्छ । बालमस्तिष्क नयाँ कुरा जान्ने र बुझ्ने कृयामा लागेको हुन्छ । यस परिवेशमा के के कुराहरु गर्न हुन्छ र के के कुरा गर्न हुदैन भन्ने उसलाई ज्ञान हुदैन । यस बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको हैन र ? तर यो बिषम परिस्थीतिको बारेमा सम्झाउदै नसम्झाई बालबालिकाप्रति झर्कनु, चिच्याउनु कत्तिको कुशल अभिभावकको दायित्व हो अभिभावक आफैले स्वमूल्याङ्कन गर्ने बेला आएको छ । अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मष्तिस्कलाई नियन्त्रणमा राख्नहुदैन । यदि यसो गर्न खोजियो भने बालबालिकाको मष्तिस्कले अभिभावक र सिंगो परिवारप्रति नै नकारात्मक धारणा राख्न सक्दछ ।
उमेर अनुसारका अबोध बालबालिकाले अभिभावकलाई आफ्नो सर्वस्व, सर्वशक्तिमान, सर्वज्ञाताको रुपमा विश्वास र अनुभूती गरिरहेको अवस्थामा अभिभावकको बेचैनि, रिस आवेग र बालबालिकाप्रति दर्शाइएको दुव्र्यवहारले बालबालिकाहरु कुण्ठित र दिग्भ्रमित हुन पुग्दछन् । स्वभावैले बालबालिकाहरु घुम्न मनपराउने, रमाईला कुराहरु गर्न मनपराउने, नया साथीहरु बनाउने, परिवारमा घुलमिल गरि रमाउने चाहनाको अपेक्षा गरिरहेका हुन्छन् । विधालय बन्द भएको कारणले घरमा बस्न बाध्य बालबालिकाहरुलाई सिर्जनशील बनाउने वा कुण्ठामा बाँच्न सिकाउने अथवा झर्केर उनीहरुलाई मनोसामाजिक समस्यामा पार्ने अभिभावक बन्ने रोजाई तमाम अभिभावकको हो । कसरी सकारात्मक अभिभाक बन्न सकिन्छ भन्ने थाहा नभएको अवस्थामा अधिकांस अभिभावकहरु नचाँहदा नचाँहदै,नजान्दा नजान्दै आफ्ना बालबालिकालाई पीडा पुराईरहेका हुन्छन् ।
यस्तो बिषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरु कहाँ के गर्दै छन् भन्ने बारेमाचनाखो हुनु पर्दछ । उनीहरु हिंसा, दुव्र्यबहार, हेला, यौनहिंसाका साथै कसैसंग अबैध सम्बन्ध राखिराखेका छन् कि ?, उमेरगत रुपमा एक्लै बसी सुर्तिजन्य पदार्थ वा लागुपदार्थ सेवन पो गरिरहेका छन् भन्ने सुक्ष्म रुपमा नियाल्नुपर्ने समेत हुनसक्छ ।
कोरोनाले मानव जीवनमा पारेको नकारात्मक असरको समाचार सुनि बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरु प्रयोग गर्ने , ओहो अब त खत्तम हुने भो जस्ता निराशाजनक शब्दहरु बालबालिकाको सामु प्रयोग गरी चिन्ता व्यक्त गरेमा उनीहरुमा समेत चिन्ता र डर उत्पन्न भई मनोसामाजिक समस्या पैदा हुन सक्छ । अभिभावकले बालबालिकालाई चिन्ता र मनोसामाजिक समस्या नहोस् भन्नाका लागि कोरोनाबाट बच्न उनीहरुले के गर्न सक्छन् ?, उनीहरुको भूमिका स्पष्ट हुने गरी बताउने र सकारात्मक कुराहरु कोरोनाको उपचारबाट बाँचेका व्यक्तिहरुको संख्या, विश्व र नेपाल सरकारको प्रयासको बारेमा बताउने गर्नुपर्दछ ।
समाजमा कोरोनाको संक्रमण फैलनबाट जोगाउन घरमा नै बस्नुपर्ने यस घडीमा जिम्मेवार अभिभावकले आफ्ना बालबालिकालाई निम्न व्यवहार गरेर रमाईलो वातावरण सृजना गरेर सकारात्मक बनाउन सक्दछन् ।
१. सरसफाईमा विशेष ध्यान दिन सिकाउने : बालबालिकालाई सरसफाईको महत्वको बारेमा र सरसफाई नगरेमा हुने असरका बारेमा बोध गराउनु अभिभावकको कर्तव्य हो । बालबालिकालाई व्यक्तिगत र पारिवारिक सरसफाई किन र कसरी गर्न सकिन्छ भन्ने बारेमा राम्रोसंग बताउन सक्नु पर्दछ । साबुनपानीले राम्रो संग हातधुने, सेनिटाईजर, डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङ काट्ने, ब्रस गर्ने, नुहाउने, आदि कुराहरुको सिकाई हुनु पर्दछ । व्यक्तिगत र पारिवारिक सरसफाईले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोना लगायतको भाईरस, किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो । स्वास्थ्य जीवन सरसफाई गर्नु अपरिहार्य हो भन्ने कुरा बालबालिकाकाले बुझ्नुपर्दछ र यो बुझाउने जिम्मेवारी अभिभावकको हो । बालबालिकाले यस्ता कुरा भित्री मनबाट बुझेमा उनीहरुलाई यो कोरोनाको बेलामा पटक पटक साबुनपानीले हात धोयौ ?, सेनिटाईजरको प्रयोग गर्यौ भन्ने प्रश्न गरिराख्नु पर्दैन । बालबालिकाले यस्ता व्यवहार स्वःस्फुर्त गरिरहन्छन् ।
२. मित्रवत व्यवहार गरी रमाईलो ढंगबाट बालबालिकासंग खेल्ने : अभिभावकले आफ्ना बालबालिका संग उनीहरुले मन पराएका शारीरिक विकास, मानसिक विकास, बौद्दिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरु मित्रवत् व्यवहार गरी रमाईलो ढंगले खेल्नुपर्दछ । यसरी साथी – साथी भई रमाईलो पाराले संगै खेल्दा आफ्ना बालबालिकाका धेरै कुराहरु रुची, जिज्ञासा, मनोभावना बुझ्न सकिन्छ र नजिक पनि भईन्छ । संगै खेल खेल्दा उनीहरुका मन भित्रका कुरा बुझ्न सकिने र उनीहरुलाई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ । यही मौकामा उनीहरुसंगै बसेर दैनिकी बनाउन सघाउन पनि सकिन्छ । कुशल अभिभावकले आफ्ना बालबालिकाहरु संगै बसि कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरुसंग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलाप – (नाँच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा ) बनाउने लगायतका कुराहरु समावेश गरी उनीहरुकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न सक्नुपर्छ । यो तब सम्भव छ जब हामीले बालबालिकासंग मित्रवत् व्यवहार गर्दै उनीहरुलाई प्रशस्त समय दिएर रमाईलो वातावरणमा संगसंगै खेल्ने गरेको अवस्थामा गर्न सकिन्छ । अभिभावक नै बालबालिकाको पहिलो साथी हुन् भन्ने बालबालिकालाई बोध गराउनु पर्दछ ।
३. प्रशस्त पानी र पोषणयुक्त खानेकुरा खुबाउने : पोषणयुक्त खानेकुरा भनेको के के खाने कुरा हो ?, जंक फुड भनेको के के हो ? यसको प्रयोगले मानव जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालाई बोध गराउन सक्नुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोशिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदान हुने बारे बालबालिकालाई बुझाउनु पर्दछ । बालबालिकालाई हरियो तरकारी, साग, दुध र घरायसी खाजाको महत्व बुझाई उक्त खानेकुरा समय समयमा खान उपलब्ध र उत्प्रेरित गर्न अभिभावक जिम्मेवार बन्नुपर्दछ । बालबालिकालाई शरीरको आवश्यकताको आधारमा प्रशस्त सफा पानी खान उत्प्रेरित समेत गर्नुपर्दछ ।
४. शारीरिक ब्यायाम, जुम्बा र योग गर्ने : रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेश भन्ने उक्तिझैं शारीरिक व्यायाम, जुम्बा र योग गर्ने गर्नाले बालबालिकाको शारीरिक सुसंगठन राम्रो हुनुको साथै उनीहरु स्वच्छ, फुर्तिलो र स्वस्थ्य हुन्छन् । शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरुलाई बोध गराउदै दैनिकी बनाउँदा यसलाई समेत अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । टिभी र मोबाईलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम, जुम्बा र योग गर्ने गर्नाले उनीहरुमा स्फुर्ति पैदा भई संयम, शालिन र आटिलो व्यक्तित्व बन्न सक्छन् । साथै बालबालिकासंग नजिकमा रहेर अनलाईन र ईन्टरनेटबाट हुने सम्भावित जोखिमको बारेमा समेत बताई जोगाउन सकिन्छ । बौद्दिक विकासको लागि अनलाईनको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा समेत अभिभावकले यही बेलामा बालबालिकालाई सिकाउन सकिन्छ ।
५. बालबालकालाई मन पर्ने शिप सिकाउने : बालबालिकालाई उचित रुपमा सामाजिकिकरण गर्नु अभिभावकको दायित्व हो । बालबालिकालाई स्वाबलम्बी बनाउन अभिभावकले प्रयास गर्नुपर्दछ । उनीहरुलाई नैतिकवान र व्यवहारिक बनाउनका लागि आफू संगसंगै घरका सामान्य कामहरु – लुगा धुने, चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, बारीको काम, करेसाबाीरको काममा लगाउन सकिन्छ । तर यसरी काममा लगाउँदा उनीहरुको शारीरिक, मानसिक, बौद्दिक र संवेगात्ममक विकासमा नकारात्मक असर भने पर्न हुदैन । यसरी घरायसी शिप सिकाउँदा बालबालिकालाई भविष्यमा थप जिम्मेवार बनाउन मद्दत पुग्दछ ।
६. बालबालिकालाई सही सूचना र जानकारी दिने : बालबालिकाहरु जिज्ञासु हुन्छन् । नयाँ कुरा जान्न चाहन्छन् । कोरोना भाईरसका बारेमा लगायत अन्य धेरै कुराहरु जान्न र सिक्न ईच्छुक हुन्छन् । उनीहरुलाई कोरोनाको बारेमा सही सूचना दिनुपर्दछ । कोरोनाको बारेमा जानकारी, सचेतना र अवस्थाका बारेमा अवगत गराउनुपर्दछ । तर उनीहरुलाई कोरोनाको कारणले मरेको कुरा सुनाएर हतोत्साहित भने गर्नुहुदैन । उनीहरुको बालमष्तिस्कमा डर,त्रास, तनाव उत्पन्न हुन दिनुहुदैन । आवश्यक परेमा अभिभावकले आफ्ना बालबालिकाको विद्यालयको साथीहरुसंग ईन्टरनेटमा वा मोबाईलमा राम्रा कुराहरु गराई सकारात्मक सोचको विकास गराउँनुपर्दछ । यसो गर्दा उनीहरुको निरासा र एक्लोपन हराई नयाँपन र नवीन्तम सोच पैदा हुन सक्दछ ।
यदि अभिभावकले बालबालिकालाई पर्याप्त समय नदिएको अवस्थामा उनीहरुको समस्या र चासो बुझ्न सकिदैन र उनीहरुले आफूलाई परिरहेको समस्या पनि बताउदैनन् । उनीहरुको वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामी अभिभावक उनीहरुबाट भावनात्मक रुपमा टाढा हुन पुग्छौं । फलस्वरुप समस्याहरु लुकाउन खोज्दछन् । बालबालिकामा पर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासंग भावनात्मक रुपमा नजीक हुनैपर्दछ ।
बालबालिकाले गरेका कामहरुमा हौसला दिने, क्या बात भन्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउदै जानु सकारात्मक अभिभावकको भूमिका हो । बालबालिकासंग बढी घुलमिल भई उनीहरुको विचार, ईच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ । बाल मनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकाले झै व्यबहार गर्नुपर्दछ । उस्तै बालबालिका बन्न सक्नुपर्दछ , बालबालिकासंग भावनात्मक रुपमा नजिक हुनुपर्दछ भन्ने कुरा उल्लेख गरेको छ । तसर्थ अभिभावकले बालबालिकासंग रिसाउने र क्रुर हुने भुल र मुर्खता गर्नु हुदैन । उनीहरुलाई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्नसक्नु सकारात्मक अभिभावकत्व हो ।
धन्यवाद ।
लेखक खतिवडा, बाल सहभागिताका लागि कार्यरत सस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) का केन्द्रिय सदस्य हुन् भने बाल कल्याण समाज मकवानपुरका अध्यक्ष हुन् ।