कुखुराबाट विस्थापित बनेपछि डेढ करोड लागतमा बाख्रापालन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियामा तीन जनाले संयुक्त रुपमा बाख्रा पालन गरेका छन् ।
राजुप्रसाद अधिकारी, बद्रीनाथ ज्ञवाली र विवेक अधिकारीले ‘बीबीआर एग्रो प्रा.लि’ कम्पनि स्थापना गरी जमीन बाहेक एक करोड ४५ लाख रुपैंया लागतमा बाख्रा पालन व्यवसाय गरेका हुन् ।
कुखुरा व्यवसायबाट विस्थापित हुनु परेपछि थालनी गरेको बाख्रा व्यवसायबाट भने आफूहरुलाई आर्थिक रुपमा राम्रो भइरहेको लगानीकर्ताको भनाई छ । डेढ वर्षदेखि थालिएको फर्ममा अहिले तीस प्र्रतिशत बोयर र ७० प्रतिशत लोकल जातको बाख्रा छ । अहिले बाख्राको माग अत्यधिक रहेपनि दक्ष कामदार तथा तालिमको आवश्यकता भएको संचालकहरुको भनाई छ ।
वैदेशिक रोजगारीका अवसर छाडेर आफ्नै देशमा कृषि कर्ममा व्यवसायिक रुपमा सफल बन्ने सोच सहित थालनी गरिएको व्यवसाय विस्तार तथा व्यवस्थापनका लागि ऋण तथा अनुदान आवश्यक परेपनि सरकारका तर्फबाट त्यस्तो खालको सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । ‘दक्ष कामदारको अभाव भएकाले सरकारले उपयुक्त तालिम प्रदान गरोस् भन्ने हाम्रो चाहाना छ ।’ उनीहरुको माग छ,‘स्वदेशमै स्वरोजगारी सिर्जना गर्दैै अरुलाई समेत रोजगारीको अवसर प्रदान गर्ने हाम्रो व्यवसायिक कार्यलाई सरकारले अनुदान, ऋणको व्यवस्था गर्नुपर्यो ।सरकार वास्तविक किसानसम्म पुग्नुपर्यो ।’