भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी
मकवानपुर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।
यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ । ‘उहाँहरु घीनलाग्दो तरिकाले ममाथि जाइलाग्नुभयो,’ साम्राज्ञीले कान्तिपुरसित भनिन् ।
साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँ ९भुवन०ले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’ साम्राज्ञीले कान्तिपुरसँग भनिन् ।
असार दोस्रो साता साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीन फिल्ममा दुर्व्यवहारमा परेको उनको भनाई थियो । कसैको नाम भने लिएकी थिइनन् तर लगत्तै भुवन केसीले फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याट्स लेखेका थिए ।
‘अहिले पनि उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ,’ साम्राज्ञी भन्छिन्, ‘केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।’
‘ड्रिम्स’को छायांकनमा पोखरामा रहँदा आफूमाथि कसैले यौन दुर्व्यवहार गर्न खोजेको घटनाउपर भुवन केसीले मजाक गरेको साम्राज्ञीको भनाई छ । ‘जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ,’ साम्राज्ञीले त्यो घटना सम्झदै भनिन्, ‘उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र ?’ सेटको नमिठो भोगाईबारे बोलेपछि आफूलाई फिल्मबाट निकाल्न र अरु फिल्ममेकरलाई भड्काउन भुवनसहित अन्य व्यक्तिहरु लागिपरेको साम्राज्ञीको आरोप छ । ‘यस्तो आक्रमणले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हत्तोसाहित हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’
साम्राज्ञीलाई फिल्मक्षेत्र भित्रैबाट भने असाध्यै कम साथ मिलिरहेको छ ।इकान्तिपुर डटकमबाट