वडाध्यक्ष खड्काले क्षमायाचना नगर्नु चिन्ताको विषय : समाजवादी प्रेस संगठन

लोकखबर
४ जेष्ठ २०८१, शुक्रबार १४:५८

मकवानपुर । समाजवादी प्रेस संगठन मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष दीपक खड्कालाई पत्रकारमाथि गरेको दुव्र्यबहारमा गल्ती सच्याउँदै क्षमायाचना गर्न आग्रह गरेको छ । प्रेस संगठन अध्यक्ष शिव चौलागाईँले एक प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरका पत्रकारहरु छवि अनित्य र मञ्जु मैनालीमाथि वडाध्यक्ष खड्काले गरेको दुव्र्यबहारप्रति क्षमायाचना गर्न आग्रह गरेका हुन् । प्रेस विज्ञप्तीमा वडाध्यक्ष खड्काले अहिलेसम्म गल्ती महसुस गरी क्षमायाचना नगर्नु समग्र सञ्चारक्षेत्रका लागि अत्यन्त दुःखद् विषय भएको उल्लेख छ ।

‘वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाईबारे समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीमाथि गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनु पदीय हैसियत र मर्यादा विपरितको कार्य पनि हो ।’ विज्ञप्तीमा भनिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर लगायत पत्रकारसम्बद्ध संघसंस्थाले पत्रकारमाथि भएको घटनाको विरोध गर्दै माफी माग्नका लागि ध्यानाकर्षण गराउँदा समेत पूरै वेवास्ता गरिनुले समग्र सञ्चारसंस्था र सञ्चारकर्मीमाथि वडाध्यक्ष खड्काको धारणा के हो भन्ने प्रश्न खडा भएको पनि समाजवादी प्रेस संगठनको विज्ञप्तीमा छ ।

रिर्पोटिङका लागि आफ्नै कार्यालयमा आएका सञ्चारकर्मीहरुलाई अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गर्ने कार्यले पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरणमा डर सिर्जना भएको संगठनको भनाई छ । यस घटनाले आफ्नो कर्तव्यप्रति इमान्दार अन्य जनप्रतिनिधिलाई लज्जित बनाएको पनि विज्ञप्तीमा उल्लेख छ । यस घटनापछि पनि वडाध्यक्ष खड्कालाई पश्चाताप नहुनु प्रेस स्वतन्त्रताका पक्षधरहरुलाई आश्चर्य, निन्दनीय र चिन्ताको विषय भएको विज्ञप्तीमा छ । ‘हामीलाई लागेको थियो, की यस घटनापश्चात् वडाध्यक्ष खड्काले आफ्नो गल्ती सच्याउँदै आम प्रेसप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता कार्य आफूबाट नहुने प्रतिबद्घता गर्नेछन् । तर यतिका दिनसम्म पनि वडाध्यक्ष खड्कालाई आफूले गरेको दुव्र्यबहारप्रति कुनै पश्चाचाप नहुनु प्रेस स्वतन्त्रताका पक्षधरहरुलाई आश्चर्य, निन्दनीय र चिन्ताको विषय हो ।’ विज्ञप्तीमा भनिएको छ ।

वडाध्यक्ष खड्कालाई अझै पनि गल्ती सच्याउन, क्षमायाचना गर्न र प्रेसप्रति जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गर्न प्रेस संगठनले आग्रह गरेको छ भने पत्रकारहरुलाई सहज वातावरणमा काम गर्ने अवस्था निर्माण गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध समेत गरेको छ । हेर्नुहोस् विज्ञप्ति-

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु